एमालेमा ‘सर्वसम्मत’ जिल्ला नेतृत्व चयन

0
226

दार्चुला, पुष २० गते ।
नेकपा एमालेको नयाँ जिल्ला नेतृत्व ‘सर्वसम्मत’ रुपमा शुक्रवार दिउसो घोषणा गरिएको छ । नवौं जिल्ला अधिवेशनको अध्यक्षमण्डलले बन्दसत्रका प्रतिनिधिहरुमाझ नयाँ नेतृत्व चयनको घोषणा गरेको हो ।
पुष १८ गते सुरु भएको जिल्ला अधिवेशनले विहिवारभित्र नेतृत्व चयन गरिसक्ने तालिका थियो । तर पदाधिकारीका आकांक्षीहरुबीच सहमति नजुट्दा जिल्ला अधिवेशन एक दिन लम्बिएको हो । एमालेको नयाँ जिल्ला कमिटी अध्यक्षमा ज्ञानेन्द्रवहादुर घर्ती ‘बन्दी’ चयन भएका छन् । अध्यक्षमण्डलले पार्टीको आवश्यकता र नेतृत्व क्षमताका आधारमा नयाँ नेतृत्व चयनको घोषणा गरेको हो ।
बुधवार साँझ, विहिवार दिनभरी र शुक्रवार दिउसोसम्म नेतृत्व चयनका लागि छलफल गरिएको थियो । पदाधिकारीका आकांक्षीहरुबीच सहमति जुट्न नसक्दा अध्यक्षमण्डललाई नेतृत्व चयनको अधिकार दिइएको एक प्रतिनिधिले बताउनुभयो । ‘अध्यक्षमण्डलले विवेक प्रयोगगरी नेतृत्व चयन गर्ने छनक हिजै (विहिवारनै) मिलेको थियो, आज त्यहिअनुसारको घोषणा भयो’ ती प्रतिनिधिले भन्नुभयो ।
जिल्ला अध्यक्षका अर्का दाबेदार परमानन्द जोशीलाई उपाध्यक्ष बनाइएको छ । सचिवमा युवा उम्मेदवार उमेशराज जोशीलाई चयन गरिएको छ । सचिवमा पाँचजनाको उम्मेदवारी भए पनि आठौं अधिवेशनमा उपसचिव पदमा झिनो मतान्तरले पछाडि परेका जोशीलाई यसपटक सचिव बनाइएको छ ।
अध्यक्षका अर्का प्रत्यासी उदय सिंह बडालले सचिवमा बस्न अस्वीकार गरेपछि जोशीलाई सचिव बनाइएको अध्यक्षमण्डलका एक सदस्यले बताउनुभयो । ‘हाम्रो प्रस्ताव त बडालजीलाई नै सचिव बनाउने हो, तर उहाँले अस्वीकार गरेपछि उमेशजीलाई सचिवमा चयन गरिएको हो’ उहाँले भन्नुभयो ।
उपसचिवमा कर्णवहादुर खडायत र कमला पन्त `अनुजा´ चयन भएका छन् । खडायत शैल्यशिखर नगरपालिकाका वासिन्दा हुन् भने पन्त मार्मा गाउँपालिकाका वासिन्दा हुन् । पदाधिकारी चयनमा `भेगिय सन्तुलन मिलाउने प्रयास गरिएको´ अध्यक्षमण्डलका अर्का सदस्यले बताउनुभयो ।
जिल्ला कमिटीका सबै सदस्यहरु पनि सर्वसम्मतिमा चयन गरिएका छन् । स्थानीय तहअनुसार पदसंख्या विभाजन गरी जिल्ला कमिटी सदस्यहरुको चयन गरिएको अध्यक्षमण्डलका अर्का सदस्यले बताउनुभयो । नेतृत्व चयनमा केही पदाधिकारीका आकांक्षीहरुको असन्तुष्टि भए पनि अध्यक्षमण्डलको घोषणाविरुद्ध सार्वजनिक हुने अवस्था भने नरहेको एक आकांक्षीले बताउनुभयो । ‘मिशन–८४ लाई सफल पार्न सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न जोड दिइएको छ, केही साथीहरुको असन्तुष्टि रहे पनि पार्टी घोषणाविरुद्ध उभिने अवस्था भने छैन’ पदाधिकारीका ती आकांक्षीले भन्नुभयो ।