राष्ट्रियताको मुद्दा आत्मसात गर्नु नै प्रेम सिंह धामीप्रतिको सम्मान हो

0
1197

शंकर सिंह धामी
टनकपुर सन्धी, महाकाली सन्धी र कालापानीको भूअतिक्रमणबारे अग्रपंक्तिमा उभिएर राष्ट्रियताको आवाज बुलन्द गर्ने नेता प्रेम सिंह धामी भौतिक रुपमा हामीमाझ हुनुहुन्न । जननेता मदन भण्डारीको प्रेरणा र संगतले देशभक्तिपूर्ण विचार र आन्दोलनलाई प्रेम सिंह धामीले उचाई दिनुभएको थियो । मदन भण्डारी हत्याको चार वर्षपछि उहाँको पनि जीप दुर्घटनामा मृत्यु भयो । मदन–आश्रितकोे पनि जीप दुर्घटनामै रहस्यमय मृत्यु भएको थियो । देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गरिरहेका पात्रहरु अकल्पनिय र अस्वाभाविक घटनाबाट गुमाउनुको पीडा मात्रै छैन, नेपाली जनताले ठूलो मूल्य पनि चुकाउनुपरेको छ ।
देशभक्ति र जनजीविकाको सवालमा जसरी मदन भण्डारीले आफ्नो विचार, दृष्टिकोण र राजनीतिक योजना अघि सारे त्यसको प्रसार र प्रभाव देशव्यापी फैलिएको थियो । सुदूरपूर्वको ताप्लेजुङमा जन्मिएका मदनको प्रभाव र संगत सुदूरपश्चिमको दार्चुलाका प्रेम सिंह धामीसम्म पुग्नुले मदनको व्यक्तित्व र नेतृत्व झल्किन्छ । मदनको देहावसानपछि पनि प्रेम सिंह धामीले देशभक्तिको मुद्दा र जनजीविकाको एजेण्डालाई उठाइरहनुले मदनको विचार र व्यक्तित्वको प्रभाव कति महत्वपूर्ण र असरदार थियो भन्ने देखिन्छ । प्रेम सिंह धामीले निरन्तर देशभक्ति र जनजीविकाको मुद्दा उठाइरहनुको प्रमुख कारण आफ्नो लोकप्रिय नेता मदन भण्डारीको विचार र एजेण्डालाई जीवन्त बनाइराख्नु नै थियो ।
टनकपुर सन्धीका विरुद्ध सडक र सदनमा संघर्ष हुँदा त्यसको नेतृत्व मदन भण्डारीले गर्नुभएको थियो । टनकपुर सन्धीले प्रभावित हुने क्षेत्र र भूगोलको प्रत्यक्ष नेतृत्वकर्ता भने प्रेम सिंह धामी हुनुहुन्थ्यो । प्रेम सिंह धामीको फिल्डको नेतृत्व र रिपोर्टिङका आधारमा मदनले टनकपुर सन्धीको मुद्दा एकसाथ सडक र सदनमा उठाएका थिए । मदन भण्डारी, मनमोहन अधिकारीलगायतका नेताहरुले टनकपुर क्षेत्रको स्थलगत भ्रमण गर्दा फिल्डमा प्रेम सिंह धामीको खटनपटन र नेतृत्व क्षमता देख्नुभयो । सायद यही कारणले हुनसक्छ– २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट पराजित प्रेम सिंह धामीलाई एमालेले २०४९ सालमा राष्ट्रियसभामा निर्वाचित गरायो । २०४९ सालमै सम्पन्न नेकपा एमालेको पाँचौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य बन्न पुगेका प्रेम सिंह धामीले महाकाली अञ्चल इन्चार्जको महत्वपूर्ण जिम्मेवारी पनि पाए ।
२०५१ सालमा मध्यावधि निर्वाचन हुँदा वहालवाला राष्ट्रियसभा सदस्य पदबाट राजिनामा ठोकेर दार्चुलाको भूगोलमा चुनावी मैदानमा उहाँ होमिनुभयो । मध्यावधि निर्वाचनको मैदानमा होमिदा प्रेम सिंह धामीमा चुनाव जित्ने आत्मविश्वास मात्रै थिएन, चुनाव जितिसकेर जनजीविकाका लागि के गर्नुपर्छ भन्ने प्रष्ट भिजन पनि थियो । फलतः मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा आवाश तथा भौतिक योजना राज्यमन्त्रीको जिम्मेवारी पाउनुभयो । नौ महिने सरकारकै पालामा दार्चुला–बैतडीको सीमावर्ती बजार गोकुलेश्वरमा पुगेको सडकलाई एकैपटक सदरमुकाम खलंगासम्म पुर्याउने गृहकार्य गरियो । दार्चुला सदरमुकाम जोड्ने सडकमा आफु सम्मिलित सरकारले पर्याप्त बजेट विनियोजन नगरेको भन्दै मन्त्री पदबाट राजिनामा दिने कामसमेत नेता प्रेम सिंह धामीले गर्नुभएको अभिलेख छ ।
महाकाली सन्धी गरिदा देशहितमा सन्धी गरिनुपर्ने र महाकाली नदीको मुहान टुंगो लगाउनुपर्ने प्रष्ट र दृढ अडानमा प्रेम सिंह धामी उभिनुभयो । त्यतिबेला सिंगो एमालेले प्रेम सिंह धामीको जायज अडानलाई स्वीकार गरेको भए सम्भवतः कालापानीको भूमिअतिक्रमणको मुद्दा अहिलेसम्म रहने थिएन । महाकाली नदीको मुहान टुंगो लगाएर मात्रै सन्धी गरिनुपर्ने सान्दर्भिक र प्रष्ट अडानलाई सिंगो एमालेले स्वीकार्न सकेन । त्यतिबेलाको प्रमुख प्रतिपक्षी दल एमालेले नै यो अडानलाई महत्व नदिएपछि महाकाली सन्धी गर्न आतुर शेरवहादुर देउवा नेतृत्वको सरकारले सुन्ने र सम्बोधन गर्ने कुरै भएन । प्रेम सिंह धामीको प्रयास र मिहिनेतले महाकाली सन्धी अनुमोदन गर्ने विषयले एमालेमा दुई धार निर्माण भयो । यद्यपि बहुमतिय खेलको नाटक गरिदा एक मतले महाकाली सन्धी पारित गर्ने एमालेहरु विजयी भए, प्रेम सिंह धामीसहितका १६ जना केन्द्रीय सदस्य अल्पमतमा परे ।
प्रेम सिंह धामीको निधन भएको २३ वर्ष पुगेको छ । यसबीचमा नेपालको राजनीतिमा धेरै परिवर्तन भएको छ । मित्रता र परस्पर लाभका नाममा महाकाली सन्धी गर्न धेरै मिहिनेत गर्ने तत्कालिन एमाले नेताहरु अहिले सत्ताको बागडोर सम्हालिरहेका छन् । संगसंगै महाकाली सन्धी गर्नु त्यतिबेला भुल भएको आत्मबोध पनि गरिरहेका छन् । महाकाली सन्धीमा प्रष्ट अडान नराख्दा अहिले महाकालीको मुहानमा छिमेकीको सैन्य अतिक्रमण तिनै एमाले नेताहरुलाई दुखिरहेको छ । आफु सांसदको भूमिकामा भइरहदा पनि सडक र सदनका साथै मिडियाक्षेत्रबाट समेत देशभक्तिको मुद्दालाई उठाइरहने प्रेम सिंह धामीको आवाज अहिले सिंगो देशले सुनिरहेको छ ।
पछिल्लो समय सिंगो देश र संघीय संसदले सर्वसम्मतिका साथ अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रलाई चिनेको छ । ‘काठमाण्डौलाई कालापानी किन दुख्दैन ?’ भन्ने प्रेम सिंह धामीको प्रश्न र उद्घोष २३ वर्षपछि नेपाल र तिन करोड नेपालीलाई बिझेको छ । आज सिंगो देश र देशवासीले कालापानी क्षेत्रको भूगोल नेपालको हो भनिरहेका छन् । प्रेम सिंह धामीले ‘कालापानी नेपालको मुटु हो’, यो सबैलाई दुख्नुपर्छ, बिझ्नुपर्छ भन्दा महत्व नदिएको नेपालको राष्ट्रिय जीवनले आज कालापानीको मुद्दालाई आत्मसात गरेको छ । आज महाकालीको मुहान हराएको बोध सबै नेपालीले गरेका छन् । सरकारको नेतृत्व गरिरहेका कम्युनिष्ट नेताहरुले आफ्ना सहकर्मी प्रेम सिंह धामीले उठाएको मुद्दा २३ वर्षपछि बल्ल आत्मसात गरेका छन् ।
प्रेम सिंह धामी हामीमाझ जीवित नभए पनि उहाँले उठान गर्नुभएको देशभक्तिको मुद्दा जीवन्त बनेर हाम्रासामु उभिएको छ । सायद, अहिलेको पुस्ताले यसलाई सम्बोधन वा समाधान गर्न सकेन भने पनि भावी पुस्ताले यसलाई निरन्तरता दिनेछ । कालापानीको मुद्दा जीवन्त भइरहदा प्रेम सिंह धामी स्वतः अमर भइरहनेछन् । नेपाल र भारतबीचको सहमतिमा कालापानीको मुद्दा समाधान हुनसकेमा प्रेम सिंह धामीको सपना साकार हुनेछ । मातृभूमिका लागि प्रेम सिंह धामीले उठाएको आवाज र कदमले सार्थकता पाउनेछ ।
आज कालापानीको मुद्दा राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित छ । तर वर्तमान सरकार र कम्युनिष्ट नेताहरुले प्रेम सिंह धामीलाई उपेक्षा गरिरहेका छन् । कालापानी क्षेत्रको नेपाली भूमि अतिक्रमण भएको र महाकाली नदीको मुहान मिचिएकोबारे आवाज बुलन्द गर्ने प्रेम सिंह धामी धेरै समकालिन नेताको स्मृतिबाट हराइसकेका छन् । तर वास्तविकता यो छ कि कालापानीको नाम वा मुद्दा आउने वित्तिनै प्रेम सिंह धामीको प्रतिविम्ब संगसंगै हुन्छ । किनकी कालापानीको भूअतिक्रमण, महाकाली सन्धी, टनकपुर सन्धी जस्ता देशभक्तिका मुद्दामै प्रेम सिंह धामीको भौतिक जीवन सकिएको छ । भौतिक जीवन सकिए पनि उहाँको विचार, आस्था र माटोप्रतिको समर्पणले देशभक्तिको आन्दोलनबाट कहिल्यै प्रेम सिंह धामी टाढा हुन नसक्ने अवस्था छ । कसैले चाहेर वा नचाहेर पनि कालापानीको मुद्दा आत्मसात गर्नु नै प्रेम सिंह धामीको सम्मान हो, उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हो र देशभक्तिलाई आत्मसात गर्नु हो ।