मालिकार्जुनमा ५ सय ९३ जना श्रमिकलाई राहत, स्वाथ्यकर्मीहरुलाई जोखिम भत्ता

0
1536

दार्चुला, चैत्र २७ गते ।

मालिकार्जुन गाउँपालिकाभरी असंगठित श्रमिकको संख्या ५ सय ९३ जना रहेको पाइएको छ । वडा कार्यालयहरुले संकलन गरेको असंगठित श्रमिकहरुको संख्या ५ सय ९३ जना रहेको गाउँपालिकाले जनाएको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनका क्रममा दैनिक ज्यालामजदुरी गर्ने श्रमिक तथा असाहाय वर्गलाई राहात वितरण गर्न सरकारले निर्देशन गरेको छ । सोही अनुसार दार्चुलाका स्थानीय सरकारले तथ्यांक संकलन गरिरहेका छन् ।

कतै तथ्यांक संकलन बिना नै धमाधम राहात वितरणका समाचारहरु पनि आइरहेका छन् । कतिपय स्थानीय तहमा कार्यविधि र मापदण्ड निर्माण नगरी राहात वितरण गरेको पाइएको छ ।
तर मालिकार्जुन गाउँपालिकाले भने आठ ओटै वडाहरुबाट असंगठित श्रमिकहरुको तथ्यांक संकलन गरि सोही अनुसार राहात वितरण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र सिँह धामीले बताउनु भयो । तथ्यांक संकलनका लागि गाउँपालिकाले प्रत्येक वडा कार्यालयलाई निर्देशन गरेको थियो ।
वडा कार्यालयहरुले संकलन गरेको तथ्यांक अनुसार वडा नम्बर १ मा ४९ जना, वडा नम्बर २ मा ४३ जना, वडा नम्बर ३ मा ६३ जना श्रमिक रहेका छन् ।
यस्तै वडा नम्बर ४ मा ४७ जना, वडा नम्बर ५ मा १ सय २८ जना, वडा नम्बर ६ मा १ सय ३९ जना श्रमिक रहेको तथ्यांक वडाध्यक्षहरुले गाउँपालिकालाई दिएका छन् । यस्तै वडा नम्बरमा ७ मा ६५ जना र वडा नम्बर ८ मा ७५ जना असंगठित श्रमिकहरु रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका आठ ओटै वडामा गरि जम्मा ५ सय ९३ जना असंगठितको तथ्यांक गाउँपालिका पुगेकाले गाउँकार्यपालिकाको बैठकले वडा कार्यालयको लगत पारित गर्ने निर्णय गरेको छ ।
राहात वितरणको जिम्मेवारी वडा कार्यालयलाई दिने निर्णय गरेको छ भने खाद्यान्न खरिदका लागि समेत वडा कार्यालय अर्थात् वडाध्यक्षहरुलाई नै जिम्मेवारी दिने निर्णय गरेको छ । तथ्यांक संकलन गरिएकाले एकद्वार प्रणालीबाट राहात वितरण गरिने गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो ।

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

मालिकार्जुन गाउँपालिकामा स्वास्थ्यकर्मीहरुलाई तलबको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने भएको छ । गाउँकार्यपालिकाको ५७ औँ बैेठकले स्वास्थ्यकर्मीहरुले खाइपाई आएको तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्र सिँह धामीको अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले गाउँपालिकाको राहात कोषमा कार्यपालिका पदाधिकारीहरुले ६ ओटा बैठकको भत्ता बराबरको रकम जम्मा गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवको जिम्मेवारी गाउँपालिकाका रोजगार संयोजकलाई दिइएको छ ।
गाउँकार्यपालिकाको बैठकले स्वास्थ्यकर्मीहरुलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उपचार कोष सञ्चालन सम्बन्धि कार्यविधि २०७६ पारित गरेको छ भने असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई राहात वितरण गर्ने र वडाबाट आएको लगतलाई पारित गर्ने निर्णय समेत गरेको छ ।