महाकालीमा जेष्ठ नागरिक भत्ता पाउने ३ सय बढे

0
227

दार्चुला, माघ २१ गते ।
चालु आर्थिक वर्षमा नेपाल सरकारले जेष्ठ नागरिक भत्ता पाउने उमेरसीमा घटाएर ६८ वर्ष कायम गरेपछि महाकाली नगरपालिकामा भत्ता पाउने जेष्ठ नागरिकको संख्या ३ सय थपिएको छ । चालु वर्षको दोस्रो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिकको संख्या ११ सय ३१ पुगेको नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाइले जनाएको छ ।
गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिमा नगरपालिकाभरीका ८ सय ३१ जेष्ठ नागरिकले भत्ता पाएको सुचना व्यवस्थापन प्रणाली अपरेटर धनराज भट्टले बताउनुभयो । सरकारले यसवर्षको बजेटमार्फत भत्ता पाउने जेष्ठ नागरिकको उमेर सीमा ७० बाट घटाएर ६८ वर्ष कायम गरेको थियो ।
सामाजिक सुरक्षा भत्ता पाउने दलित समुदायका जेष्ठ नागरिक संख्या भने यो वर्ष घटेको छ । गतवर्षको अन्तिम त्रैमासिकमा नगरपालिकाभरीका १ सय ३८ जना दलित जेष्ठ नागरिकले भत्ता पाएको पञ्जिकरण इकाइको तथ्यांक छ । चालु वर्षको दोस्रो त्रैमासिक अवधिमा भने भत्ता पाउने दलित जेष्ठ नागरिकहरु ९६ जना छन् ।
जेष्ठ नागरिकको उमेर हद ६८ बनाइएपछि दलित समुदायका जेष्ठ नागरिक संख्या घटेको अपरेटर भट्टले बताउनुभयो । ‘६८ वर्ष उमेर पूरा भएका दलित समुदायका जेष्ठ नागरिकले पनि अन्य जेष्ठ नागरिकसरह मासिक ४ हजार रुपैयाँ भत्ता पाउछन्’ उहाँले भन्नुभयो । ६० देखि ६८ वर्षसम्मका दलित जेष्ठ नागरिकले मासिक २ हजार ६ सय ६० रुपैयाँ भत्ता पाउने छुट्टै व्यवस्था छ ।
महाकाली नगरपालिकामा जेष्ठ नागरिक एकल महिलाको संख्या पनि घटेको छ । यो संख्या गत आर्थिक वर्षमा २ सय २० रहेकोमा चालु वर्षको दोस्रो त्रैमासिकमा १ सय ३९ छ । ६० वर्षमाथिका जेष्ठ नागरिक एकल महिलालाई सरकारले मासिक २ हजार ६ सय ६० रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । ‘६८ वर्ष उमेर पुगेका एकल महिला जेष्ठ नागरिकको अभिलेख परिवर्तन भएर मासिक ४ हजार रुपैयाँ पाउने अन्य जेष्ठ नागरिकको वर्गमा परिवर्तन भएको छ’ सुचना व्यवस्थापन प्रणाली अपरेटर धनराज भट्टले भन्नुभयो ।
६० वर्षमुनिका विधवा महिलाहरुलाई सरकारले आर्थिक सहायताको नाममा मासिक २ हजार ६ सय ६० रुपैयाँ भत्ता दिदैआएको छ । यो सुविधा पाउने विधवा महिलाहरुको संख्या गतवर्ष २ सय ९० रहेकोमा यो वर्ष २ सय ९७ रहेको छ ।
क वर्गको अपांगता परिचयपत्र भएका ५२ जना र ख वर्गको अपांगता परिचयपत्र भएका ९२ जनालाई चालु वर्षमा सामाजिक सुरक्षा भत्ता वितरण गरिन लागेको नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाइले जनाएको छ । गतवर्षको अन्तिम त्रैमासिकमा भत्ता पाउने क वर्गको अपांगता भएकाहरुको संख्या ४९ थियो भने ख वर्गको अपांगता भएकाहरुको संख्या ७६ थियो ।
सरकारले क वर्गका अपांगता भएका व्यक्तिलाई मासिक ३ हजार ९ सय ९० रुपैयाँ र ख वर्गका अपांगता भएका व्यक्तिलाई मासिक २ हजार १ सय २८ रुपैयाँ भत्ता दिदैआएको छ ।
दलित समुदायका ५ मुनिका वालवालिकालाई मासिक ५ सय ३२ रुपैयाँका दरले भत्ता दिइदैआएको छ । एउटा आमाबाट जन्मिएका बढीमा दुइटा दलित समुदायका वालवालिकालाई यस्तो भत्ता दिइदैआएको महाकाली नगरपालिकाका सुचना अधिकारी युवराज जोशीले बताउनुभयो । नगरपालिकाभरीका २ सय १३ जना दलित वालवालिकाले यस्तो सुविधा पाएका छन् । गतवर्ष भत्ता पाउने दलित वालवालिकाको संख्या २ सय ८ थियो ।
नगरपालिकाभरीमा सामाजिक सुरक्षा कार्यक्रमबाट २ हजार २० जना लाभान्वित भइरहेको सुचना अधिकारी युवराज जोशीले बताउनुभयो । सरकारले जारी गरेको निर्देशिकाको प्रक्रिया र मापदण्डअनुसार सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन भइरहेको उहाँले बताउनुभयो । ‘सरकारको यो कार्यक्रम घर–घरसम्म मात्रै होइन, व्यक्ति–व्यक्तिसम्म पुगेको छ’ नगरपालिकाका योजना अनुगमन अधिकृतसमेत रहनुभएका सुचना अधिकारी जोशीले भन्नुभयो । निर्धारित प्रक्रिया र मापदण्ड पुगेका सबैलाई सामाजिक सुरक्षा भत्ता दिइएको उहाँले बताउनुभयो ।
दोस्रो त्रैमासिकको भत्ता १ करोड ९२ लाख
महाकाली नगरपालिकाले दोस्रो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता रकम लाभग्राहीहरुको बैंक खातामार्फत भुक्तानी गरेको छ । शुक्रवार सबै लाभग्राहीहरुको बैंकखातामार्फत भत्ता रकम भुक्तानी गरिएको नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाइले जनाएको छ ।
दोस्रो त्रैमासिक अवधिको भत्तावाफत १ करोड ९२ लाख ३३ हजार ८ सय ७९ रुपैयाँ सेवाग्राहीहरुको बैंकखातामा पठाइएको सुचना व्यवस्थापन प्रणाली अपरेटर धनराज भट्टले बताउनुभयो । कार्यक्रम निर्देशिकाअनुसार प्रत्येक त्रैमासिक अवधिमा भत्ताको रकम बैंकमार्फत भुक्तानी गरिदैआएको उहाँले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण कम्प्युटर प्रणालीमार्फत दर्ता र अद्यावधिक हुदैआएको अपरेटर भट्टले बताउनुभयो । ‘सुचना व्यवस्था प्रणालीमार्फत सबै लाभग्राहीले पूरा विवरण दर्ता र अद्यावधिक हुने गरिन्छ’ उहाँले भन्नुभयो । दर्ता र अद्यावधिक भएको दोस्रो महिनाबाटै लाभग्राहीले भत्ता पाउने गरेको उहाँले जानकारी दिनुभयो ।
वडा नम्बर १ मा सर्वाधिक लाभग्राही
महाकाली नगरपालिकाको वडा नम्बर १ छापरीमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको संख्या सबैभन्दा बढी छ । सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाइको अभिलेखअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा वडा नम्बर १ का ३ सय ९ जनाले भत्ता पाएका छन् ।
वडा नम्बर ९ दत्तुमा ३ सय २ जना, वडा नम्बर २ मा २ सय ६५ जना र वडा नम्बर ८ मा २ सय ५४ लाभग्राही संख्या छ । वडा नम्बर ३ मा २ सय ३० जना, वडा नम्बर ५ मा २ सय २ जना र वडा नम्बर ७ मा १ सय ९५ जनाले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् ।
नगरपालिकाको वडा नम्बर ६ मा १ सय ५७ जना र वडा नम्बर ४ मा १ सय ६ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नगरपालिकाभरीका लाभग्राहीमध्ये ६ सय ९० जना पुरुष छन् भने महिलाको संख्या १३ सयभन्दा बढी छ ।