व्यास कार्ययोजना— कति भयो कार्यान्वयन ?

323

दार्चुला, माघ २२ गते ।
नेपाल सरकारको गृहमन्त्रीस्तरीय निर्णयबाट दुई वर्षअघि स्वीकृत गरिएको व्यास कार्ययोजनाको कार्यान्वयन सुस्त देखिएको छ । १० वटा क्लष्टर र २२ वटा बुँदा रहेको कार्ययोजनाका अधिकांश कार्यहरु कार्यान्वयनमा आउन सकेका छैनन् ।
पूर्वाधार निर्माणको क्षेत्र (क्लष्टर)अन्तर्गत ६ वटा बुँदा रहेकोमा ती कार्यहरु सुरुवात गरिएका छन् । दार्चुला–टिंकर सडक निर्माण गर्ने, व्यासको पैदलबाटो मर्मतगरी सञ्चालनमा ल्याउने, सीतापुलसहित अन्य काठेपुलहरु मर्मत गरिने कार्ययोजनामा उल्लेख छ । कार्ययोजना बनाउनुअघि नै टिंकर सडक निर्माण नेपाली सेनाको जिम्मामा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
कार्ययोजनामा व्यास गाउँपालिकाको नेतृत्व र नेपाली सेनाको सहयोगी भूमिकामा व्यासको पैदलबाटो मर्मत गरी सञ्चालनमा ल्याउने उल्लेख छ । तर, गाउँपालिकासंग बजेट व्यवस्थापन हुन नसक्दा अहिलेसम्म व्यास बाटो मर्मतमा स्थानीय सरकारको संलग्नता नरहेको गाउँपालिका प्रवक्ता उपेन्द्र सिंह धामीले बताउनुभयो । ‘चालु आर्थिक वर्षमा प्रदेश सरकारले विशेष अनुदानवाफत ३ करोड बजेट व्यासको बाटोका लागि उपलब्ध गराएको छ । यो बजेटको उपयोगी गरी अब व्यासको पैदलबाटो सञ्चालनमा ल्याउछौ’ उहाँले भन्नुभयो ।
व्यासको पैदलबाटो मर्मत गरी सञ्चालनमा ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभाग (डोली)ले ३ करोड ३२ लाख रुपैयाँको ठेक्का सम्झौता गरेको छ । तर, बाटो मर्मतमा सन्तोषजनक प्रगति हुन नसकेको र व्यासको पैदलबाटो सञ्चालनमा आउन नसकेको वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो ।
नेपाल भारत जोड्ने सीतापुल मर्मत गरिए पनि अपिखोला, बुँदीखोला, बयलीधारमा काठेपुल नभएको वडाअध्यक्ष बोहराले जानकारी दिनुभयो ।
व्यासमा हेलिप्याड निर्माण गर्ने कार्ययोजनामा उल्लेख छ । तर, अहिलेसम्म हेलिप्याडको स्थायी संरचना निर्माण गरिएको छैन । सेनाको हेलिकोप्टर छाङरु गाउँको पारीपट्टि टिंकर खोला किनारमा रहेको सुतला भन्ने स्थानमा ल्यान्ड हुन्छ । नीजिक्षेत्रको सानो हेलिकोप्टर छाङरु गाउँ नजिकैको खेतवारी र स्वास्थ्य चौंकी परिसरमा ल्यान्ड गरिन्छ । तर, स्थायी प्रकृतिको हेलिप्याड निर्माण अहिलेसम्म व्यासक्षेत्रमा नभएको वडाअध्यक्ष बोहराले बताउनुभयो । टिंकर गाउँका पनि खेतवारीमै हेलिकोप्टर ल्याण्ड हुने गरेको छ । समथर क्षेत्र धेरै ठाउँमा उपलब्ध भएकोले जता पायक हुन्छ त्यतै हेलिकोप्टर ल्यान्ड हुने गरेको स्थानीयको भनाई छ ।
व्यास कार्ययोजनामा जीर्ण खानेपानी योजनाको मर्मत कार्य गरिने र पहिचान भएका खानेपानी योजना निर्माण गरिने उल्लेख छ । तर, खानेपानीको क्षेत्रमा कुनै काम भएको छैन । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भने कार्यप्रगति विवरणमा यसका लागि समन्वय भइरहेको जनाएको छ । छाङरु गाउँमा खानेपानीको अभाव रहदैआएको स्थानीय युवा विमलकुमार बोहराले बताउनुभयो । टाढाको मुहान भएको र बजेट उपलब्धता नभएकोले खानेपानीको समस्या विद्यमान रहेको उहाँको भनाई छ ।
कार्ययोजनाको सेवाप्रवाह क्षेत्र (क्लष्टर)अन्तर्गत ३ वटा कार्यविवरण रहेको छ । टिंकर नाकामा भन्सार कार्यालय पुनःस्थापना गर्ने, सीमा प्रशासन कार्यालयमा दरबन्दी अनुसार कर्मचारी व्यवस्था र सेवा प्रवाह गर्ने तथा पशु क्वारेन्टाइन कार्यालय स्थापना गर्ने कार्ययोजनामा उल्लेख छ । तर, यी तिनवटै कार्य हुन सकेका छैनन् । व्यासको सीमा प्रशासन कार्यालय वर्षभरी खलंगामै सञ्चालन हुँदैआएको छ । दरबन्दीअनुसारका कर्मचारी व्यवस्थापन गरिए पनि व्यासक्षेत्रसम्म सीमा प्रशासन कार्यालय र कर्मचारी पुग्न सकेका छैनन् । भन्सार र पशु क्वारेन्टाइन कार्यालय स्थापनामा कुनै पहल र प्रगति भएको छैन ।
सुरक्षा क्षेत्रअन्तर्गत १२ महिना सञ्चालन हुनसक्ने गरी प्रहरी चौकी स्थापना गरिने उल्लेख छ । आधा दर्जन प्रहरीको संख्या व्यासको छाङरुमा वर्षभरी बस्ने गरेका छन् । तर, प्रहरी चौकी भवन निर्माण भइसकेको छैन । गतवर्ष नै भवन निर्माण सुरु गरिए पनि निर्माण कार्य सुस्त छ । टिंकरमा रहेको सीमा प्रहरी चौकीको भवन भने जीर्ण छ । जीर्ण भवनमै त्रिपाल हालेर वैशाखदेखि असोजसम्म प्रहरी टोली टिंकरमा बस्ने गरेको व्यास गाउँपालिका वडा नम्बर १ का वडासदस्य राहुल लामा बताउँछन् ।
टिंकरमा सशस्त्र प्रहरीको विओपी भवन निर्माण गरिएको छ तर भवनमा अहिलेसम्म सशस्त्र प्रहरीको टोली बसेको छैन । व्यासको छाङरुमा मात्रै सशस्त्र प्रहरीको उपस्थिति सीमित भएको छ । छाङरुको गागामा निर्माण भइरहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्म भवनको निर्माण कार्य पनि ३ वर्षसम्म पूरा हुन सकेको छैन ।
टिंकर र छाङरुमा आधारभूत विद्यालय स्थापना वा पुनःस्थापना गर्ने लक्ष्य राखिएकोमा छाङरुमा दुइकोठे विद्यालय भवन निर्माण गर्नेबाहेक थप प्रगति केही भएको छैन । छाङरु र टिंकरको नाममा स्थापित विद्यालयहरु झण्डै दुइ दशकदेखि खलंगामै सञ्चालन हुँदैआएका छन् । व्यास गाउँपालिकाको ती विद्यालयको प्रशासनिक स्वामित्व लिनखोजे पनि महाकाली नगरपालिकाबाट ती विद्यालय हस्तान्तरण हुन सकेका छैनन् ।
व्यास गाउँपालिकाको वडा नम्बर १ मा ५ देखि १५ शैयाको अस्पताल स्थापना गरिने कार्ययोजनामा उल्लेख छ । अस्पताल स्थापनाको टाढाको कुरा भएकै स्वास्थ्य चौकीबाट भरपर्दो सेवा पुर्याउन पनि सकिएको छैन । स्थानीय तहको पहलमा टिंकर गाउँमा सामुदायिक स्वास्थ्य इकाई भने स्थापना गरिएको वडासचिव विनोदसिंह बुढाथोकीले बताउनुभयो ।
प्रत्येक घरधुरीमा शौचालय निर्माण र पूर्ण सरसफाई कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएकोमा गाउँपालिकाको सहयोगमा सरसफाईका केही गतिविधि भएका छन् । टिंकर र छाङरुमा सञ्चार सुविधाको व्यवस्था गर्ने कार्यमा भने आंशिक प्रगति भएको छ । छाङरुमा टेलिकमको फोरजि टावर स्थापना गरी सेवा सुचारु गरिएको छ । छाङरु नजिकैको ज्याक्ती भन्नेस्थानमा लिंक टावर राखिएको छ । वडा कार्यालयको पहलमा छाङरु र टिंकर गाउँमा भिस्याट टेलिफोन समेत राखिएको वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो ।
छाङरुको भोलिङ क्षेत्रमा रहेको स्काइ फोनको टावरलाई टिंकरमा सार्ने र त्यहाँबाट स्याटेलाइट लिंकमार्फत नमस्ते मोबाइलको टुजी सेवा सञ्चालनको पहल भइरहेको वडाअध्यक्ष बोहराले बताउनुभयो । यसका लागि वडा कार्यालयबाट हालै मात्रै टेलिकमलाई माग र सिफारिस गरिएको उहाँले बताउनुभयो ।
विपद व्यवस्थापन तथा वातावरण संरक्षणअन्तर्गत भूक्षय नियन्त्रणका गतिविधि सञ्चालन गर्ने भनिएको थियो । तर, आवश्यक सबै स्थानमा नदी तथा खोला कटानको रोकथाम गर्न नसकिएको छाङरुका स्थानीय जितसिंह बोहराले बताउनुभयो ।
उद्योग, पर्यटन, विकास तथा प्रवद्र्धन क्षेत्रअन्तर्गत रोजगारी सिर्जनाका लागि उद्यमशीलता विकास, व्यावसायिक स्याउखेती, जडिबुटी उत्पादन, ओखर र आलुखेतीलाई प्रोत्साहन गर्ने भनिएकोमा व्यवस्थित र सन्तोषजनक अभ्यास हुन नसकेको स्थानीयवासीको भनाई छ । ‘केही व्यक्तिगत र केही सरकारी सहयोगमा स्याउखेतीको प्रयास भएको छ तर व्यावसायिक रुपमा अघि बढ्न सकिएको छैन’ छाङरुका स्थानीय जितसिंह बोहराले भन्नुभयो ।
पर्यटकीयस्थलहरुको पहिचान, विकास, संरक्षण र प्रवद्र्धन गर्ने कार्ययोजनामा उल्लेख छ तर पैदल बाटोको पहुँचसम्म नहुँदा पर्यटन विकास कुरामा मात्रै सीमित बनेको छ । व्यावसायिक पशुपालनका लागि चरन विकास कार्यक्रम र भेडापालनमा सहयोग गर्ने भनिएको थियो । तर, छाङरुमा एउटा परिवारमात्रै भेडापालनमा संलग्न छन् ।
व्यास कार्ययोजनाबारे व्यापक छलफल, समीक्षा र पुनरावलोकनको आवश्यकता रहेको नागरिक अभियन्ता शंकर सिंह धामीको भनाई छ । ‘सरोकारवालाहरुसंग छलफल र गृहकार्य नगरिकन कार्ययोजना निर्माण र स्वीकृत भएको देखिन्छ । केही नहुनुभन्दा त कार्ययोजना निर्माण हुनु सकारात्मक छ तर सबैकुरामा समेटिएका छैनन्’ उहाँले भन्नुभयो, ‘समेटिएका कतिपय विषय परिमार्जन गर्नुपर्ने र थपघट गर्नुपर्ने देखिन्छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस् !