ब्यास गाउँपालिकाको हिउदे अधिबेशन सम्पन्न

0
707

दार्चुला, माघ २६ गते ।
ब्यास गाउँपालिकाको सातौ गाउँसभा तथा हिउदे अधिबेशन आईतबार सम्पन्न भएको छ । गाउँसभाले विभिन पाँच ओटा कार्यविधिहरु पारित गरेको गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले जानकारी दिनुभयो ।

गाउँसभाले जेष्ठ नागरिक परिचपय पत्र वितरण सम्बन्धी कार्यविधि, एम्बुलेन्स सञ्चालन कार्यविधि, गाउँपालिका अध्यक्ष अक्षय कोष सञ्चालन कार्यविधि, गाउँपालिकाको योजना तथा उपभोक्ता गठन सम्बन्धी कार्यविधि र लैगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७७ पारित गरिएको छ । ‘कृषि पर्यटन बहुमूल्य जडीबुटी हाम्रो गहना, समृद्धि ब्याँस सुखी ब्यासी हाम्रो चाहाना’ नाराका साथ साँतौँ हिउँदे अधिबेशन सञ्चालन गरिएको थियो । गाउँपालिकाको समृद्धिका लागि आफू प्रयत्नरत रहेको गाउँपालिका अध्यक्ष बुढाथोकीको भनाई छ । हिउँदे अधिबेशन उद्घाटन सत्रमा वडा नम्बर ५ का वडाध्यक्ष मंगलसिंह धामीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने गाउँपालिका अध्यक्ष बुढाथोकीका स्वकीय सचिव दिपक खातीले कार्यक्रम सञ्चालन गरेका थिए । अधिबेशनमा गाउँपालिका उपाध्यक्ष हेमा भट्ट लगायत वडाध्यक्ष तथा गाउँकार्यपालिका सदस्यहरुको सहभागिता थियो । साथै गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न ४० ओटा योजनाको निर्माण सम्पन्न गरेको जनाएको छ । गाउँपालिकाको साँतौँ हिउँदे अधिबेशनमा गाउँपालिकाको प्रगति विवरण प्रस्तुत गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत ओझाले यस्तो बताउनु भएको हो ।
मुख्यगरी चालु आर्थिक वर्षमा सञ्चालित योजनाहरुमध्ये साना योजनाहरु चालु आर्थिक वर्षको ६ महिनामै सम्पन्न भइसेका छन् । विगतमा विकास निर्माणका योजनाहरु जेठ–असारमा मात्रै निर्माण गर्ने प्रबृत्तिलाई त्याग्दै समयमै निर्माण कार्य गर्ने उद्देश्यले गाउँपालिकाका ४० ओटा योजनाको निर्माण सम्पन्न गरिएको उहाँको भनाई छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा १४ लाख ५० हजार राजस्व आम्दानी हुने प्रक्षेपण गरेको छ । जसमध्ये ६ महिनामा १० लाख राजस्व आम्दानी भएकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताउनुभएको छ ।