फर्कियो प्रहरीको ड्रोन विज्ञ टोली, महाकालीमा बेपत्ता जयसिह भेटिएन्न् (फोटो फिचर)

0
688
महाकाली नदीमा ड्रोन उडाएर खोजी गर्दै प्रहरी टोलीः तस्बीर स्रोत- जिल्ला प्रहरी कार्यालय दार्चुला

दार्चुला, भाद्र ३ गते ।
महाकाली नदीमाथी तुईन तर्ने क्रममा भारतीय एसएसबीले तुईनको लट्ठा खोलिदिदाँ गत साउन १५ गते महाकाली नदीमा वेपत्ता भएका ब्यास २ का स्थानिय जयसिह धामी हाल सम्म फेला परेका छैनन् ।

धामीको खोजीका लागि प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी नायब निरीक्षक प्रेम गन्र्धवको नेतृत्वमा दुईजना ड्रोन विज्ञको प्रहरी टोली दार्चुला आएको थियो ।
साउन २७ गतेदेखि भाद्र १ गते सम्म घटना स्थल मालघाट देखि जोलजिवि सम्मको महाकाली नदी किनारमा ड्रोन मार्फत वेपत्ता धामीको खोजी गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रबत्ता एबं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।



‘धामी नदीमा बेपत्ता भएदेखि प्रहरी टोलीले खोजी गरिरहेको छ, अप्ठ्यारो ठाउँमा ड्रोन क्यामेरा मार्फत पनि खोजी गरियो फेला पार्न सकिएको छैन’ प्रहरी निरीक्षक चन्दले भन्नुभयो । दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टको नेतृत्वमा झण्डै सात दिन सम्म महाकाली नदीमा ड्रोन उडाएर खोजी गर्दा बेपत्ता धामी फेला नपरेपछि बुधबार ड्रोन विज्ञको टोली फर्किएको उहाँले बताउनुभयो ।



भारतीय एसएसबीले तुईन फुस्काएर नदीमा बेपत्ता भएको घटनाको छानविन गर्न गृह मन्त्रालयले साउन १७ गते सहसचिव जर्नादन गौतमको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिले घटना स्थलको निरीक्षण गरेपछि महाकाली नदी किनारको मान्छे पुग्न नसक्ने अप्ठ्यारो ठाउँमा बेपत्ता धामीको खोजी ड्रोनबाट गर्न मन्त्रालयलाई अनुरोध गरेको थियो । सोही अनुसार ड्रोन मार्फत खोजी गरेको भएपनि बेपत्ता धामीलाई फेला पार्न सकिएको छैन ।


महाकाली नदी किनारमा भारत तर्फ खोजी गर्न अनुमतिका लागि दार्चुला प्रशासनले भारतको पिथौरागढ प्रशासनलाई अनुरोध गरेको थियो तर कुनै जवाफ नआएपछि नेपाल तर्फको महाकाली नदी किनारमा खोजी गरेको हो । बेपत्ता धामीको नदीमा खोजी गर्नका लागि दार्चुला प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट घटनास्थल मालघाट देखि जोलजिवि सम्म पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।