पुर्चाैडी नगरपालिकामा विदेशमा रहेकाहरुको तथ्यांक संकलन

0
984

बैतडी । बैतडीको पुर्चाैडी नगरपालिकाले भारत तथा तेस्रो मुलकमा रहेका नागरिकहरुको तथ्यांक संकलन गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण देश तथा विदेशमा नेपाली नागरिकहरुलाई समस्या भइरहेका बेला विदेशमा रहेकाहरुको तथ्यांक संकलन गरिएको नगरपालिका प्रमुख रणबहादुर कुवँरले बताउनु भयो । नेपाल सरकारले विदेशमा रहेकाहरुलाई स्वदेश ल्याउन विभिन्न तयारीहरु गरिरहेकाले स्वदेश ल्याउने तयारी स्वरुप पुर्चाैडी नगरपालिकाभरीका विदेशिएकाहरुको तथ्यांक संकलन गरिएको नगर प्रमुख कुवँरले बताउनु भयो ।
कोरोना महाकारीका कारण भारत तथा तेस्रो मुलकमा थुपै्र नेपालीहरुले रोजगारी गुमाएर अलपत्रमा परेका छन् । धेरैजसो सुदूरपश्चिम प्रदेशका नेपाली कामदारहरु भारत जाने भएकाले सबैभन्दा बढी यस क्षेत्र नागरिकहरु भारतमा रहेको अनुमान गरिएको छ । भारतका बैंग्लोर, मुम्बई, गुजारात, गवा, कलकत्ता, दिल्ली लगायतका क्षेत्रमा कामको खोजीमा नेपालीहरु जाने गरेका छन् ।

अहिले कोरोनाका महामारीका कारण हजारौँ नेपालीहरु फर्किसकेका छन् भने हजारौँ नेपालीहरु भारतमा अलपत्रमा छन् ।
भारतमा मात्र नभई तेस्रो मुलुकमा पनि थुप्रै नेपालीहरु रोजगारी गुमाएर अहिले बेराजगार हुनुपर्ने अवस्था सिर्जना भएको छ । कम्पनी बन्द भएसंगै विदेशमा थुप्रै नेपालीहरु समस्यामा परेका छन् । यस्ता समस्यामा परेकाहरुलाई तत्काल स्वदेश ल्याउने सरकार समेत सकरात्मक देखिएको छ । त्यसकारण पुर्चाैडी नगरपालिकाले विदेशमा रहेकाहरुको तथ्यांक संकलन गर्न लागेको हो ।
हालसम्म तथ्यांक संकलन भएअनुसार वडा नम्बर १ का एक सय ५७ जना, वडा नम्बर २ का दुई सय ८० जना, वडा नम्बर ३ का तीन सय ५० जना, वडा नम्बर ४ का तीन सय ८१ जना भारत तथा तेस्रो मुलुकमा रहेको स्वास्थ्य शाखा संयोजक बिनोद कुमार कुवँरले बताउनु भयो । वडा नम्बर ५ का सबैभन्दा बढी ८ सय ५० जना भारत तथा तेस्रो मुलकमा रहेको पाइएको छ ।

वडा नम्बर ६ का दुई सय ८७ जना, वडा नम्बर ७ का दुई सय, वडा नम्बर ८ का ४ सय, वडा नम्बर ९ का दुईसय १६ जना र वडा नम्बर १० का दुई सय जना विदेशमा रहेको स्वास्थ्य शाखा संयोजक कुवँरले बताउनु भयो । पुर्चाैडी नगरपालिकाका दशओटै वडामा जम्मा २८ सय ५१ जना रहेको नगरपालिकाको तथ्यांक छ ।जिल्ला प्रशासन कार्यालय बैतडीले विदेशमा रहेका आ–आफ्ना स्थानियतहका नागरिकहरुको तथ्याङ्क संकलन गर्न बैतडीका स्थानियतहहरुलाई पत्राचार गरेको थियो ।
हाल नगरपालिका भरीका क्वारेन्टाइहरुमा २ सय ६७ जना क्वारेन्टाइनमा बसेका छन् । भारत तथा जिल्ला बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । यसरी बाहिरबाट आउनेहरुको बाटोमा चेकजाँच नहुदाँ आफूहरुलाई जोखिम र समस्या हुने गरेको स्वास्थ्य संयोजक कुवँरको गुनासो छ ।

एकातिर किट उपलब्ध नगराउने अर्काेतिर बिनाचेकजाँच स्थानीय तहमा पठाउदा आफूहरुलाई समस्या भएको स्वास्थ्य संयोजक कुवँरको भनाई छ ।
बाहिरबाट आउनेहरुको चेकजाँच प्रबेश नाकामै गरिनुपर्ने वा स्थानीय तहलाई कोरोना परीक्षणका लागि किट उपलब्ध गराउनुपर्ने स्वास्थ्य संयोजकको धारणा छ ।