राष्ट्रिय महिला भलिबल टिमका खेलाडी निरुता ठगुन्नालाई नगदसहित सम्मान

0
386

दार्चुला,कात्तिक २० गते ।
राष्ट्रिय महिला भलिबल टिमका खेलाडी निरुता ठगुन्नालाई एक लाख नगदसहित सम्मान गरेको छ । दशै पर्वको अवसरमा गृहपालिका फर्किएको मौका छोपेर नौगाड गाउँपालिकाले राष्ट्रिय महिला भलिबल टिमका खेलाडी निरुता ठगुन्नालाई सोमबार एक कार्यक्रमको आयोजना गरी नगद एकलाख सहित सम्मान गरेको हो ।
नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले नेपाली राष्ट्रिय महिला टिमका खेलाडी ठगुन्नालाई खादा ओढाएर सम्मानपत्र सहित सम्मानित गरेका छन् । दार्चुलाको नौगाड जस्तो विकट ठाउँमा जन्मीएर पनि नेपाली राष्ट्रिय भलिबल टिममा छनौट हुनु पालिकाकै गौरवको विषय भएकोले उहाँलाई सम्मानित गरेको गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो । राष्ट्रिय खेलाडी ठगुन्नाको खेलमा थप हौसला र उर्जा थप्न सम्मानित गरेको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । नगद एक लाख राशि खाता मार्फत प्रदान गरिने उहाँले बताउनुभयो ।
सोमबार विहान बसेको गाउँकार्यपालिका वैठकले नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी ठगुन्नालाई सम्मान गर्ने निर्णय गरेको थियो । सम्मानित हुनु भएकी राष्ट्रिय भलिबल टिमका खेलाडी ठगुन्ना राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी भई देशका लागि विभिन्न उपाधि जिताउन सफल भएकी छन् ।
खेलाडी निरुता ठगुन्नाको घर नौगाड गाउँपालिका वडानम्बर–६ धुलिगडा हो । सम्मान कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुस्कर सिंह धामी,वडानम्बर ६ का वडाअध्यक्ष एवंम् गाउँपालिका प्रवक्ता राजेन्द्रसिह वोहरा, वडानम्बर ४ का वडाअध्यक्ष कृष्णसिंह धामी, कार्यपालिका सदस्य लगायत गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।