चार दिनमा ३ हजारलाई मास्क लगाउन सचेत

0
831
फाइल फोटोः जिल्ला प्रहरी कार्यालय दार्चुला

दार्चुला, साउन १ गते ।
दार्चुला प्रहरीले चार दिनमा झण्डै ३ हजार नागरिकलाई मास्क लगाएर सार्वजनिक स्थलमा हिडडुल गर्न सचेत गराएको छ । कोरोना संक्रमणबाट बच्न र बचाउन मास्कको प्रयोग अनिवार्य गराउन लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
असार २८ देखि ३१ गतेसम्म २ हजार ९ सय २३ जनालाई मास्क प्रयोग गर्न सचेत गराइएको सुचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो । जिल्लाभरी रहेका सबै प्रहरी इकाइहरुलाई मास्क प्रयोगको अनुगमन र चेकजाँच गर्न परिचालन गरिएको उहाँको भनाई छ ।
सार्वजनिक स्थल, पसल र भीडभाड हुने क्षेत्रमा प्रहरी टोली खटाइ मास्क प्रयोगको अनुगमन भइरहेको प्रहरीले बताएको छ । असार ३१ गते जिल्लाभरीका ७ सय १० जनालाई मास्क प्रयोग गर्न सचेत गराइएको जिप्रकाको तथ्यांक छ । तीमध्ये ३ सय ९६ पुरुष र ३ सय १४ महिला छन् ।
असार २८ गते १ सय ३२ जना, असार २९ गते १ हजार २ सय २९ जना र असार ३० गते ८ सय ५२ जनालाई मास्क प्रयोगबारे सचेत गराइएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । मास्क प्रयोगको अनुगमन र चेकजाँचलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।
असार २९ गते सचेत गराइएका १ हजार २ सय २९ जनामध्ये २२ जनालाई जनही १ सय रुपैयाँ जरिवाना गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । संक्रामक रोग नियन्त्रण ऐनको व्यवस्थाबमोजिम जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।
सदरमुकाम खलंगा, गोकुलेश्वर बजार, स्थानीय तहका र वडाका केन्द्रहरुमा चेकजाँच केन्द्रीत गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सार्वजनिक यातायात र मान्छेहरुको भेटघाट हुने स्थलमा समेत आकस्मिक रुपमा प्रहरी टोलीले चेकजाँच गरिरहेको छ । सदरमुकाम खलंगाको गल्फै, मुख्य बजार क्षेत्र र घाटिबगरमा छुट्टाछुट्टै प्रहरी टोली परिचालन गरिएको छ ।