हेलिकोप्टर नउडदा सिडियोको टोली व्यासमै

0
898
फाईल फोटोः छाङरु क्षेत्र

दार्चुला, साउन १ गते ।
बुधवार मौसम नखुलेपछि खलंगाबाट चामल बोकेर हेलिकोप्टर व्यासक्षेत्र जान सकेन । मंगलवार व्यासक्षेत्र गएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र डिएसपी पदमवहादुर विष्ट खलंगा फर्किन पाएका छैनन् ।
सिडियोको टोली बुधवार विहानै व्यासबाट खलंगा फर्किने समयतालिका थियो । नियमित अनुगमनका लागि व्यासक्षेत्र गएका प्रमुख जिल्ला अधिकारीको टोली हेलिकोप्टर नउड्दा खलंगा फर्किन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुवरले बताउनुभयो ।
बुधवार दिनभरी मौसम खुल्न नसकेको माउन्टेन हेलिकोप्टर प्रालिका प्रतिनिधि सन्दीप भण्डारीले बताउनुभयो । ‘हामी विहानैदेखि हेलिकोप्टर उडाउने तयारीमा थियौ तर दिनभरी प्रतिक्षामै बसियो’ उहाँले भन्नुभयो ।
बुधवार खलंगाको आकाश खुले पनि व्यासक्षेत्रमा मौसम नखुलेको भण्डारीले बताउनुभयो । विहिवार पनि विहानैदेखि खलंगा क्षेत्रमा पानी परिरहेको छ । चामल ढुवानीमा मौसम चुनौती बनिरहेको उहाँको भनाई छ । खलंगाबाट व्यासमा चामल ढुवानी गरिरहेको हेलिकोप्टरबाट सिडियोको टोली व्यासक्षेत्र पुगेको थियो । पैदल बाटो सञ्चालनमा नहुँदा सिडियोको टोली हेलिकोप्टरबाट फिर्ता हुने विकल्प छ ।
व्यास पुगेको सिडियोको टोलीले मंगलवार र बुधवार छाङरु क्षेत्रमा भ्रमण गरेको छ । छाङरु गाउँका स्थानीयवासीसंग भेटघाट र छलफल गरिएको दार्चुला प्रहरीले जनाएको छ । छाङरुको गागामा रहेको सशस्त्र प्रहरीको विओपी र नीतिकुण्डामा रहेको प्रहरी चौकीको पनि निरीक्षण गरिएको प्रहरीको भनाई छ ।