सिमाक्षेत्रको जिम्मेवारी असामान्य हुन्छ, जागिरे मात्रै नबनौं

0
1344

शंकर सिंह धामी
नोभेम्बर २, २०१९ मा छिमेकी भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि मैले आफ्नो फेसबुक पेजमा एउटा स्टाटस (विचार) सार्वजनिक गरेको थिए । सिमा सुरक्षाका साथै समग्र शान्ति सुरक्षाको जिम्मेवारी बोकेका जिल्लास्थित सुरक्षा निकायलाई लक्षित गरी मैले आफ्नो विचार राखेको थिए । सदरमुकाममा केन्द्रीत सुरक्षा निकायको उपस्थितिलाई लक्षित गर्दै ‘सुरक्षा फौज ब्यारेकमा सीमित भएको, सुरक्षाकर्मीलाई आउट (घरविदामा) छोडेर हाकिमहरु राशनको रकममा रमाइरहेको’ मेरो अभिव्यक्ति थियो । त्यो मेरो अभिव्यक्ति मात्रै थिएन गम्भीर असन्तुष्टि, आक्रोस र बुझाइ पनि थियो ।
सामाजिक सञ्जालको त्यो स्टाटस पढेपछि जिल्लास्थित सुरक्षा निकायका तत्कालिन प्रमुखहरुको चित्त दुखेको थियो । एक सुरक्षा प्रमुखले चियागफको बसाइमा आफ्नो असन्तुष्टि नै मसंग राखेका थिए– ‘गम्भीर र महत्वपूर्ण विषय लेख्नुहुन्न्, सुरक्षाकर्मीको राशन मात्रै देख्नुहुन्छ’ भन्दै । तत्कालिन भारतीय राजदूत मञ्जीव सिंह पुरीले उपेन्द्र यादवसहित हेलिकोप्टरमार्पmत धाप र खलंगाको भ्रमण गर्नेबेला एक सुरक्षा अधिकारीले युनिफर्ममै नाचेको दृश्यप्रति पनि मैले तत्कालिन समयमा आलोचना गरेको थिए ।
केही हप्ताअघि भारतसंग जोडिएको खलंगाको सिमानाका अव्यवस्थित रुपमा खुल्दा पनि मैले स्थानीय प्रशासन र सुरक्षा व्यवस्थापनप्रति आलोचनात्मक टिप्पणी गरेको छुँ । यसअघि लकडाउन सुरु हुदै गर्दा गत चैत्र महिनामा दबाव र प्रभावका बीच सिमानाका खोलिदा पनि सार्वजनिक टिप्पणी र लेखमार्फत आफ्नो विचार प्रस्तुत गरेको थिए ।
केही दिनअघि अर्थात अगस्ट १५ मा भारतको स्वतन्त्रता दिवसको अवसरमा सशस्त्र प्रहरीका दुइ सुरक्षा अधिकारी (एसपी र डिएसपी)ले पदीय मर्यादाको हेक्का नराखी एसएसवीका इन्सपेन्टरलाई खादा र पुष्पगुच्छाले स्वागत गरेकोमा पनि मेरो असन्तुष्टि रह्यो ।
सार्वजनिक चासो र सरोकारका विषयमा मैले प्रस्तुत गरेको विचार र प्रतिक्रियाहरुको केही दृष्टान्त माथि उल्लेख गरे । मैले आलोचना वा टिप्पणी गरेको विषयमा फरक फरक समयमा फरक पात्र थिए । एउटै निकायमा पनि फरक व्यक्तिले नेतृत्व गरिरहेको अवस्था थियो र छ । छोटो समयमै प्रमुख जिल्ला अधिकारी र अन्य सुरक्षा अधिकारी परिवर्तन हुने रोगले समग्र देशका साथै विशिष्ट अवस्थितिमा रहेको दार्चुला जिल्ला नराम्ररी प्रभावित बनेको छ । हालका प्रमुख जिल्ला अधिकारी ज्यूसंगको पहिलो भेटमा मैले शुभकामना दिदै विगतका ६÷७ महिने सिडियो कार्यकालको पुनरावृति नहोस् भन्ने शुभेच्छा राखेको स्मरण पनि गर्दछु ।
शान्ति सुरक्षा र सिमा सुरक्षाको गहन जिम्मेवारी बोकेको निकायको नेतृत्व गर्ने पात्र छोटो समयमा परिवर्तन हुदाँ त्यसको नकारात्मक असर मात्रै परेको छैन, परिणाम पनि सुखद छैन । सुरक्षा जस्तो संवेदनशील र आधारभूत क्षेत्रका पात्र र निकायबारे सार्वजनिक टिकाटिप्पणी गर्नु सामान्य अवस्थामा उपयुक्त हुँदैन । तर सार्वजनिक सरोकार र महत्वको विषय भएकोले यस्ता विषयलाई उजागर गर्नु एक पत्रकार र नागरिकको दायित्व मैले ठान्ने गरेको छु । मेरा हालसम्मका सबै अभिव्यक्तिको आधार भनेको सार्वजनिक सरोकारको विषय र सार्वजनिक जिवनका पात्रका बारेमा नागरिक चाँसो देखाउनु हो । अधिकार र शक्तिको प्रयोग गर्ने व्यक्ति वा निकायको जवाफदेहिता संगसंगै जोडिएको हुन्छ । अधिकार, भूमिका वा कार्य सम्पादनलाई पारदर्शीता र जवाफदेहिताबाट टाढा राख्न सकिदैन भन्ने मेरो बुझाइ हो ।
मलाई थाहा छ, कुनै पनि व्यक्तिले आफ्नो बारेमा नकारात्मक वा आलोचनात्मक विचार वा प्रतिक्रिया आएको मन पराउदैन । यो मानवीय स्वभाव पनि हो । कुनै व्यक्तिले मेरोबारे आलोचना वा नकारात्मक प्रतिक्रिया दिदा मलाई पनि मन पर्दैन । तर सार्वजनिक सरोकारको विषय र सार्वजनिक जीवनका पात्रहरुको भूमिकाबारे प्रतिक्रिया, आलोचना र टिप्पणीहरु आउनु स्वाभाविक हुन्छ ।
आफुलाई मन नपरे पनि सार्वजनिक निकाय र ती निकायका जिम्मेवार पात्रहरुले यस्ता प्रतिक्रिया, आलोचना र टिप्पणीहरु ग्रहण गर्न सक्नुपर्छ । कहिकतै पूर्वाग्रहपूर्ण आलोचना, प्रतिक्रिया र टिप्पणी आएमा त्यसलाई तथ्यगत प्रस्तुति र छलफलले सम्बोधन गर्नुपर्छ । वास्तविकतालाई उजागर गर्ने आलोचना, प्रतिक्रिया र टिप्पणीलाई स्वीकार्ने र आत्मसात गर्ने अभ्यास हुनुपर्छ । सकभर सार्वजनिक रुपमै कमजोरी स्वीकार्ने र सुधारको प्रतिवद्धता गर्ने अभ्यास हुनुपर्छ । असल र महान मान्छेले कमजोरी स्वीकार्छ र सुधारका लागि तयार हुन्छ । तर कमजोर र गलत पात्रले चित्त दुखाउछ, प्रतिशोधको भावना राख्छ र कमजोरी लुकाउने प्रवृति दोहर्याउछ ।
म प्रष्ट पार्न चाहन्छु, सार्वजनिक सरोकारका विषयमा र सार्वजनिक जीवनका पात्रहरुका बारेमा मेरा अभिव्यक्तिहरु कुनै पनि व्यक्ति विशेषप्रति पूर्वाग्रही छैनन् । सार्वजनिक जीवनका पात्रले आफ्नो भूमिका निर्वाह गर्दा के कस्तो कमजोरी हुन गयो ? त्यसको उजागर गर्ने र यस्तो कमजोरी वा गल्ती नदोहरियोस् भन्नेतर्फ खवरदारी गर्ने मात्रै उद्देश्य हो ।
मलाई थाहा छ, कुनै व्यक्ति वा पेशा (पत्रकारिता) विशेषले कसैलाई असल र कसैलाई गलतको उपाधि प्रदान गर्ने जिम्मेवारी पाएको छैन । तर सार्वजनिक सरोकारको विषयमा भएको अभ्यास वा कार्यलाई सार्वजनिक गर्नु भने पत्रकार मात्रै होइन सामान्य नागरिकको पनि अधिकार र दायित्व दुबै हो । मैले यही अभ्यास गरिरहेको छुँ । एक नागरिक वा पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका इमान्दारिताका साथ निर्वाह गरिरहेको छुँ ।
नेपाल सरकारले वा माथिल्लो निकायले विश्वास गरेर, योग्य र इमान्दार ठानेरै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको प्रमुखको जिम्मेवारी दिएको हुन्छ । आफ्नो भूमिका र कार्यसम्पादनबारे माथिल्लो निकायप्रति जवाफदेही भएर काम गर्न प्रजिअसहित सबै कार्यालय प्रमुखहरु बाध्य हुन्छन् । यद्यपि, सार्वजनिक निकाय र ती निकायका प्रमुखहरुले गर्ने कार्यसम्पादनको परिणाम जनताले भोग्नुपर्छ । जनतालाई सकारात्मक वा नकारात्मक असर त्यो कार्यसम्पादनले पुर्याउछँ ।
सिमाक्षेत्रको जिल्लाको एक नागरिक र पेशागत हिसाबले पनि मेरो सबै सार्वजनिक निकायका प्रमुखहरुलाई अनुरोध छ कि तपाईहरुको सक्रियता, सेवा प्रवाह, कार्यशैली, कार्यसम्पादन प्रशंसनिय हुनुपर्छ । मैले वा केही व्यक्तिले आलोचना गरे पनि अधिकांश जनताले सहजताका साथ सेवा पाउनुपर्छ । कुनै व्यक्ति विशेषले पूर्वाग्रह राखि हाले पनि आम जनसमुदायको बुझाइ र प्रतिक्रिया सकारात्मक बन्न सक्नुपर्छ । तुलनात्मक रुपमा विगतको अवस्थाभन्दा सुधार र गुणस्तरीय कार्यसम्पादन हुन सकेमा पक्कै पनि नागरिक तहमा सकारात्मक सन्देश जान्छ । सकारात्मक सन्देश मात्रै जादैन, जनस्तरबाटै सार्वजनिक निकाय र ती निकायका पात्रहरुको प्रशंसा पनि हुन थाल्छ ।
मेरो एउटै चाहना र अनुरोध छ, मप्रति वा कुनै÷केही व्यक्तिप्रति सार्वजनिक जीवनका पात्रहरुको पनि असन्तुष्टि हुन सक्छ, गुनासो हुन सक्छ । यो महत्वपूर्ण विषय होइन । महत्वपूर्ण विषय त दार्चुलाजस्तो भूअवस्थिति भएको जिल्ला र सिमाक्षेत्रमा राज्यका निकायहरुको सक्रिया हो । ती निकायहरुको कार्य सम्पादन र सन्तोषजनक परिणाम हो । राज्यका निकायप्रति नागरिकको विश्वास, भरोसा र सकारात्मक बुझाइले यहाँहरुको व्यक्तिगत र संस्थागत मुल्यांकन गर्नेछ । हामी (पत्रकार वा नागरिक) भनेका त व्यक्तिगतका साथै नागरिकका प्रतिनिधिमूलक अभिव्यक्ति र प्रतिक्रिया पस्किने पात्र मात्रै हौ । दार्चुला जस्तो भूअवस्थिति र सिमाक्षेत्रको असामान्य जिम्मेवारीलाई मनन गरौं, जागिरे मात्रै नबनौ । असामान्य समय, असामान्य परिस्थिति र असामान्य भूगोलबारे जिम्मेवार बनौं ।