मार्माको लटिनाथ स्वास्थ्य चौकीमा एमविविएस डाक्टरबाट सेवा प्रदान गरिने

0
1047

दार्चुला, भाद्र ५ गते । दार्चुलाको मार्मा गाउँपालिकाले चिकित्सकबाट स्वास्थ्य सेवा प्रवाह गर्न लटिनाथ स्वास्थ्य चौकीमा डाक्टरको ब्यवस्थापन गरेको छ ।

गाउँपालिकाकोे चिकित्सक सहितको स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य अनुसार डाक्टरबाट स्वास्थ्य सेवा प्रबाह प्रदान गर्न लागिएको स्वास्थ्य संयोजक चक्रसिंह धामीले बताउनु भयो ।
गाउँपालिकाले कार्यविधि नै पारित गरि स्वास्थ्य चौकी लटीनाथबाट स्वास्थ्य सेवा प्रबाह गर्ने गरी आठौँ तहका डाक्टरको व्यवस्थापन गरिएको छ । यसअघि गोकुलेश्वर अस्पतालमा कार्यरत डाक्टर माधव भट्टलाई स्वास्थ्य निर्देशनालय डोटीले सिफारिस गरि पठाएकोे छ ।
स्वास्थ्य निर्देशनालयले सिफारिस सहित पठाएको डाक्टर भट्टको गाउँपालिकाले विहिबार स्वागत गरेको छ । आइतबार बाट डा. भट्टले स्वास्थ्य सेवा प्रदान गर्ने बताइएको छ ।
डाक्टर गाउँपालिकाको स्वास्थ्य चौकीमा पुगेपछि लटीनाथ स्वास्थ्य चौकीलाई प्राप्त डिजिटल एक्स–रे मेसिन समेत सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष जमनसिंह धामीको भनाई छ ।

मार्मा गाउँपालिकामा अस्पतालको संरचना समेत स्वीकृत भइसकेको छ ।
गाउँपालिकामा अस्पताल स्वीकृत भएसंगै अस्पतालका लागि आबश्यक हुने ९ रोपनी जग्गाको छनौट कार्य समेत भइसकेको छ मार्मा गाउँपालिकामा डाक्टरबाट स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएसंगै मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका स्थानीयलाई पनि स्वास्थ्य सेवा लिन सहज हुनेछ ।