सशस्त्रको ऐतिहासिक उपस्थितिः केही अपेक्षा

1489

सम्पादकीय

दार्चुला जिल्लामा पहिलो पटक सशस्त्र प्रहरीको गण स्थापना भएको छ । छाङ्रुको गुल्मको लागि जनशक्ति सदरमुकाम पुगेको अवस्था छ । चार ठाउँमा बिओपी स्थापना गरेर वर्षौसम्म सिमा क्षेत्रलाई उपेक्षा गरेको सरकारले पछिल्लो पटक थोरै गम्भीरताका साथ लिएको हो कि भन्ने सङ्केत देखिएको छ । नेपाली सेनालाई बाटो खोल्ने मात्रै नभई तिंकरसम्मको सडकको ट्रयाक खोल्ने जिम्मेवारी दिईनुबाट पनि सरकारको यो क्षेत्रलाई दिइको प्राथमिकता प्रष्ट हुन्छ । सेना र सशस्त्र प्रहरीसँगै छाङ्रु र तिंकरमा रहेको प्रहरी चौकीका भवन निर्माण हुने काम पनि यसै वर्षबाट सुरु हुने देखिन्छ । जसले जसरी विश्लेषण गरेपनि यसरी त्रिदेशीय सिमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाईनु ऐतिहासिक काम हो । अब उनीहरुलाई आवश्यक पर्ने भौतिकपूर्वाधार र अन्य सेवा सुविधा पुर्याउने कुरामा सरकारले ध्यान दिनु पर्दछ । तिन हजारभन्दा बढि उचाइ भएको हिमाली क्षेत्रमा बाह्रै महिना बस्ने गरी पहिलो पटक गएका सुरक्षाकर्मीहरुका लागि बन्दोबस्तिका समान उपलब्ध गराउने मात्रै होइन तत्काल उद्धार गर्न समेत पूर्व तयारी गरिनु पर्दछ । सरकारले गराएको यो ऐतिहाँसिक सुरक्षा उपस्थितिपछि यो क्षेत्रका नागरिकको अपेक्षा पनि बढ्दै गएको कुराको पनि हेक्का राख्नु पर्ने हुन्छ ।
दार्चुलामा पहिलो पटक सशस्त्र प्रहरीको गण स्थापना हुनु र त्यसको नेतृत्व युवा पुस्ताले गरेको तथ्य दार्चुलाबासीका लागि गर्वको कुरा हो । यहाँ प्रौढको नेतृत्वलाई कम आँकलन गर्न खोजिएको होइन तर युवा पुस्ताका गणपतिले गर्ने कार्यसम्पादन अरुभन्दा भिन्न र उत्कृष्ट खालको हुन सक्ने भएकाले सोही अनुसारको अपेक्षा दार्चुलाबासीले पनि गरेको हुनु पर्दछ । कालापानी क्षेत्रबाहेक अन्य क्षेत्रमा सिमा अतिक्रमण हुने अवस्था नभएकाले सशस्त्र प्रहरी बलले सिमावारपार हुने अबैध ओसारपसारलाई आफ्नो पहिलो निसाना बनाउनु पर्दछ भने हुन सक्ने अबैध सिकार, आखेटोपहारको अबैध ओसारपसारका साथै जडिबुटी र काठको अबैध निकासीतर्फ पनि सशस्त्र प्रहरीले अब सुक्ष्म जालो फिजाउनु आवश्यक छ । बिगतदेखि नै दार्चुला आखेटोपहार ओसारपसारको ट्रान्जिट प्वाइन्ट रहँदै आएको सरकारी सुरक्षा निकायले उल्लेख गर्दै आएको छ भने आखेटोपहार बोक्ने भरिया मात्रै नियन्त्रणमा आउने मूख्य कारोवारी पक्राऊ नपर्ने तीतो यथार्थ दार्चुलाको छँदैछ । सशस्त्र प्रहरीको उपस्थितिले जिल्लाको उत्तरपश्चिमी क्षेत्रबाट भारतीय पक्षले गर्ने वनपैदावारको निकासी रोकिने छ भने चोरी सिकारीमा पनि कमि आउने छ । यसका लगि सशस्त्र प्रहरीले आफ्नो नियमित कामबाहेक आखेटोपहार ओसापसारको नियन्त्रण, चोरी सिकारीको रोकथाम, जडिबुटीको अबैध सङ्कलन र निकासी, सिमावारपार हुन सक्ने अबैध कारोवार जस्ता पक्षको प्राथमिकता निर्धारण गर्ने, विषयगत टोलीहरु निर्धारण गर्ने र सुक्ष्म रुपमा परिचालन गरी नतिजा दिने कामहरु गर्न सके यो ऐतिहासिक उपस्थितिको अनुभव हुने छ ।
तपाईको प्रतिक्रिया दिनुहोस् !