हेलिकोप्टरमा स्थानीयलाई चढ्न अनुमति

0
867

दार्चुला, असार ३० गते ।
चामल ढुवानीका लागि दार्चुलामा रहेको माउन्टेन हेलिकोप्टर प्रालिको हेलिकोप्टरबाट सीमित मान्छे ओसार्न गृह मन्त्रालयले अनुमति दिएको छ । आइतवारदेखि खलंगाबाट व्यासको छाङरुमा चामल ढुवानी गरिरहेको माउन्टेन हेलिकोप्टरले मंगलवार १२ जना स्थानीयलाई व्यासबाट खलंगा पुर्याएको छ ।
सुरुमा कुनै पनि यात्रुलाई ओसार्न अनुमति दिइएको थिएन । लकडाउनका कारण यात्रु बोक्न रोकिएकोमा मंगलवार गृह मन्त्रालयले सीमित मान्छेलाई बोक्न अनुमति दिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुवरले बताउनुभयो ।
चामल ढुवानीका लागि अनुमति पाएको माउन्टेन हेलिकोप्टरले यात्रु ओसार्न मानेको थिएन । गृह मन्त्रालयको लिखित स्वीकृतिपछि मंगलवार १२ जनालाई व्यासबाट खलंगा ओसारेको माउन्टेन हेलिकोप्टरका प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो । मन्त्रालयले २४ जना यात्रुलाई बोक्न अनुमति दिएको छ ।
पाँच सिट क्षमताको हेलिकोप्टरमा खलंगादेखि व्याससम्म चामल ढुवानी हुँदैआएको छ । मौसमको अवस्था हेरी एकपटकमा ५ देखि साढे ६ क्वीन्टल चामल ढुवानी भइरहेको माउन्टेन हेलिकोप्टर प्रालिले जनाएको छ । व्यासबाट खलंगा फर्किने क्रममा जरुरी काम भएका केही स्थानीयलाई हेलिकोप्टरमा बोकिएको प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो ।
माउन्टेन हेलिकोप्टरले व्यासबाट खलंगा झर्ने यात्रुबाट प्रतिव्यक्ति ३ हजार मात्रै शुल्क लिएको छ । व्यासबाट रित्तै फर्किरहेको हेलिकोप्टरमा स्थानीयलाई सहुलियत दिइएको भण्डारीको भनाई छ । व्यासमा रहेको केही स्थानीयलाई अत्यावश्यक कामका लागि हेलिकोप्टर सेवा दिन पहल गरिएको व्यासका पूर्व गाविस अध्यक्ष एवं व्यासी सौका समुदायका अगुवा जहेन्द्र सिंह ऐतवालले बताउनुभयो ।
स्थानीयवासीले वडा कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा यसबारे लिखित अनुरोध गरेका थिए । जिल्ला प्रशासन कार्यालयले मंगलवार गृह मन्त्रालयलाई स्वीकृतिका लागि अनुरोध गरेकोमा मंगलवार नै गृहको स्वीकृति प्राप्त भएको थियो ।
खलंगाबाट व्यासक्षेत्रमा भने यात्रु बोक्न नसकिने हेलिकोप्टर कम्पनीले जनाएको छ । खलंगाबाट चामल ढुवानी गर्नुपर्ने भएकोले यात्रु बोक्न सम्भव नभएको माउन्टेन हेलिकोप्टरका प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो । उहाँका अनुसार मौसम अनुकुल भएमा बुधवार सबै चामल व्यासक्षेत्रमा ढुवानी गरिसक्ने योजना छ ।