विरामीका लागि २४ घण्टापछि भारतले पुल खोल्यो

0
867
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, असार ३० गते ।
आकस्मिक उपचारका लागि भारतको पिथौरागढ लग्नुपर्ने विरामीका लागि भारतले २४ घण्टापछि पुल खोलेको छ । व्यास गाउँपालिका वडा नम्बर १ का चक्र सिह तिंकरीको कलेजोमा गम्भीर समस्यादेखि सोमबार दिउसो पिथौरागढ पठाउने तयारी गरिएको थियो । भारतीय पक्षले पुल नखोलिदिदा मंगलवार दिउसो मात्रै तिंकरीलाई पिथौरागढ लगिएको छ ।
जिल्ला अस्पताल उपचार सम्भव नभएपछि तिंकरीका आफन्तले सोमवार विहान जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका थिए । प्रशासनिकस्तरमा समन्वय गरी सिमानाका खोलेर पिथौरागढ पठाउने तयारीमा आफन्तजन थिए । जिल्ला प्रशासन कार्यालयले सोमबार मध्यान्ह १२ बजे भारतीय प्रशासनलाई लिखित पत्राचार गरेकोमा भारतीय पक्षले भोलिपल्ट (मंगलवार) मात्रै पुल खोलेको छ ।
नेपालको प्रशासनले सोमबार दिउसो २ बजे पुल खोल्न प्रस्ताव गरेको थियो । तीन पटक धारचुलास्थित एसडिएम कार्यालयमा मोबाइल सम्पर्क पनि गरिएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताउनुभयो । ‘भारतले मंगलवार मध्यान्ह १२ः३० बजे मात्रै पुल खोलेपछि विरामीलाई पिथौरागढ पठाइएको छ’ ती कर्मचारीले भन्नुभयो ।
कलेजोमा समस्या देखिएका विरामी चक्र सिंह तिंकरीको पेट फुलेको छ । तिंकरीलाई तत्काल सुविधा सम्पन्न अस्पताल पुर्याएर उपचार गर्न जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले सुझाव दिएका थिए । जिल्ला अस्पतालबाट रिफर नोट बनेपछि आफन्तजनले खलंगाको सिमानाका खोल्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो ।
गम्भीर विरामी रहेका तिंकरीको उपचारका लागि श्रीमती तारादेवी तिंकरी र छोरी रेनुका तिंकरी साथमा गएका छन् । पिथौरागढमा उपचार सम्भव नभए हल्द्वानी लगिने आफन्तजनले बताएका छन् । मंगलवार एक भारतीय नागरिकको विवाह दार्चुला आउने मौका छोपेर एकसाथ दुई देशको सिमानाका खोलिएको छ ।
धारचुलास्थित एसडिएम अफिसले सोमबार नै सशस्त्र सीमा वल (एसएसबी)को डीडीहाटस्थित ११वीं बाहिनीलाई पुल खोल्नेबारे पत्राचार गरेको थियो । तर पत्रमा मंगलवार मध्यान्ह १२ बजे १५ मिनेटका लागि मात्रै पुल खोल्ने व्यहोरा उल्लेख थियो ।