सिडियो र डिएसपी व्यास भ्रमणमा

0
1002

दार्चुला, असार ३० गते ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी प्रमुख व्यास भ्रमणमा निस्केका छन् । माउन्टेन हेलिकोप्टर प्रालिको हेलिकोप्टरमार्फत सिडियो र डिएसपी मंगलवार अपरान्ह व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु पुगेका छन् ।
मंगलवार अपरान्ह ४ बजे प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र डिएसपी पदमवहादुर विष्ट व्यासतर्फ गएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुवरले बताउनुभयो । उहाँका अनुसार व्यासक्षेत्रको निरीक्षण भ्रमणका लागि दुबैजना गएका हुन् ।
व्यास जोड्ने पैदलमार्ग अवरुद्ध भएको बेला माउन्टेन हेलिकोप्टरले छाङरु र तिंकरमा चामल ढुवानी गरिरहेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ घाटिबगर क्षेत्रमा नेपाली सेनाको टोलीले पैदल बाटो खोलिरहेको छ ।
सदरमुकाम खलंगाबाट २८ कोष दूरीमा रहेको व्यासमा पछिल्लो समय सरकारी अधिकारीहरुको भ्रमण बढिरहेको छ । वैशाख ३१ गते मात्रै छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना गरिएको छ । विओपी स्थापनासंगै सितापुल र तिंकर प्रहरी चौकीमा पनि नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ ।
असार ३ गते नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनालले व्यासक्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको थियो । असार २१ गते परराष्ट्र मन्त्रालयका सहसचिव नेतृत्वको निरीक्षण टोली पनि व्यासको छाङरु पुगेको थियो ।
सिडियो र डिएसपीको टोलीले व्यासक्षेत्रको शान्ति सुरक्षा र वस्तुस्थितिबारे अनुगमन गर्नेछन् । व्यासका लागि खाद्यान्न ढुवानी भइरहेकाले त्यसको अनुगमन समेत गर्न प्रजिअको टोली व्यास गएको हो ।
दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि सिडियो शरदकुमार पोखरेलको यो पहिलो व्यासक्षेत्र भ्रमण हो । दार्चुला प्रहरी प्रमुख रहेका डिएसपी पदमवहादुर विष्टले भने सशस्त्र प्रहरीको विओपी र नेपाल प्रहरीको चौकी पुनस्र्थापनाको समय व्यासक्षेत्रको भ्रमण गरिसकेका छन् ।
सिडियो र डिएसपीको टोली मंगलवार राती व्यासको छाङरुमै बस्नेछ । छाङरुमा सशस्त्र प्रहरीको विओपी र प्रहरी चौकी रहेको छ । सिडियो र डिएसपीको टोली बुधवार सदरमुकाम फर्किने समयतालिका छ ।