सेनापतिको दोस्रो र सशस्त्र आइजिपीको पहिलो दार्चुला भ्रमण

0
937

दार्चुला, असार ३ गते ।
नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले बुधवार दोस्रो पटक दार्चुला भ्रमण गरेका छन् । गतवर्ष सदरमुकाम खलंगास्थित नेपाली सेनाको दुर्गादल गुल्मको निरीक्षण गरेका थापाले यो पटक भने व्यासक्षेत्रको भ्रमण गरेका छन् ।
दार्चुला–तिंकर सडक निर्माणको जिम्मा सेनालाई दिइएको र हाल व्यास गाउँपालिकाको वडा नम्बर २ घाटिबगड क्षेत्रमा व्यास जोड्ने पैदल मार्ग सेनाले निर्माण गरिरहेकोले सेनापतिको भ्रमण महत्वपूर्ण मानिएको छ ।
सेनापति थापाबाट २०७५ फागुन २८ गते दार्चुलास्थित गुल्मको निरीक्षण भ्रमण भएको सुरक्षा स्रोतले बतायो । थापाले १५ महिनामा दोस्रो पटक दार्चुला भ्रमण गरेका छन् । नयाँ नक्सा जारी, छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना र तिंकर सडक निर्माण सेनालाई जिम्मेवारी दिइएको पृष्ठभूमिमा सेना प्रमुखको दार्चुला भ्रमण भएको छ ।
सीमाक्षेत्रको सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन पनि सुरक्षा प्रमुखहरुको भ्रमणले भूमिका खेल्नेछ । ‘भारतबाट अतिक्रमित भूमि नजिकको क्षेत्रमा सुरक्षा प्रमुख पुगेर वस्तुस्थितिबारे जानकारी लिएका छन्’ एक सुरक्षा अधिकारीले भन्नुभयो, ‘सीमाक्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापनको संकेत हो यो ।’
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको यो पहिलो दार्चुला भ्रमण हो । २०७० माघ ७ गते दार्चुलामा सशस्त्र प्रहरीको गुल्म स्थापना भएको थियो । गुल्म स्थापना भएदेखि वर्षेनि डिआइजीस्तरबाट दार्चुलास्थित गुल्मको निरीक्षण भ्रमण हुँदैआएको सशस्त्र प्रहरी स्रोतले बतायो । ‘दुई÷तीन पटक त एआइजीस्तरबाट समेत दार्चुला भ्रमण गरिएको छ’ स्रोतको भनाई छ ।
गत वैशाख ३१ गते व्यासको छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना गरिदा एआइजी नारायणबाबु थापाले खलंगा र व्यासको भ्रमण गरेका थिए । एआइजी थापासंगै गृह मन्त्रालयका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि व्यास पुगेका थिए ।
सशस्त्र प्रहरी संगठनको प्रमुखले दार्चुला भ्रमण गरेको भने बुधवार पहिलो पटक हो । ‘हालका आइजिपी खनाल दार्चुला भ्रमण गर्ने पहिलो संगठन प्रमुख बनेका छन्’ सुरक्षा स्रोतले बतायो ।