सितापुलमा प्रहरी भवन बनाउन ७० लाख बजेट

0
840

दार्चुला, साउन १ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुस्थित नेपाल–भारत सिमानाकामा प्रहरी भवन बनाउन बजेट विनियोजन गरेको छ । सितापुल प्रहरी चौकीको भवन निर्माणका लागि प्रदेश सरकारले ७० लाख बजेट छुट्याएको प्रदेशसभा सदस्य गेल्बु सिंह बोहराले बताउनुभयो ।
छाङरुको सितापुलमा प्रहरी चौकीको नाममा जमिन भए पनि भवन छैन । छाङरु गाउँको पूर्वपट्टि नितिकुण्डा भन्ने स्थानमा हाल प्रहरी चौकी रहेको छ । प्रदेश सरकारले प्रहरी चौकीको भवन निर्माणका लागि बजेट विनियोजन गरिसकेको प्रदेशसभा सदस्य बोहराको भनाई छ ।
आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रममा चौकीको भवन निर्माण समावेश गरिएको उहाँले बताउनुभयो । ‘वार्षिक कार्यक्रममा प्रहरी चौकी भवन निर्माण समावेश गरिएको छ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत यसबारे प्रक्रिया अघि बढ्छ’ उहाँले भन्नुभयो ।
दार्चुला प्रहरी प्रमुख डिएसपी पदमवहादुर विष्टले व्यासमा प्रहरी चौकी भवन निर्माण प्रदेश सरकारबाट हुने अनौपचारिक जानकारी पाएको बताउनुभयो । ‘यसबारे लिखित जानकारी त प्राप्त भएको छैन तर बजेट विनियोजन भएको खबर छ’ उहाँले भन्नुभयो ।
भवन अभावमा अहिले छाङरुको नीतिकुण्डामा मात्र प्रहरी चौकी छ । व्यास गाउँपालिकाको वडा नम्बर १ मा प्रहरीका तिनवटा प्रहरी चौकीको दरबन्दी छ । सिमा प्रहरी चौकी तिंकर तिंकर गाउँ नजिकको छियालेकमा छ । प्रहरी चौकी व्यास र प्रहरी चौकी सितापुल एकै ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छाङरुको नीतिकुण्डामा प्रहरी टोली जीर्ण भवनमा बस्दैआएको छ । नीतिकुण्डामा भवन मर्मत र सितापुलमा नयाँ भवन निर्माण आवश्यक रहेको डिएसपी विष्टले बताउनुभयो । ‘तिंकरको सिमा प्रहरी चौकीको भवन मर्मतका लागि संघीय सरकारलाई पत्राचार गरिएको छ’ उहाँले भन्नुभयो ।
तिंकर प्रहरी चौकी भवनमा तस्करहरुले २०७० सालमा आगजनी गरेका थिए । सदरमुकामबाट सुरक्षाकर्मीको टोली तिंकर फर्किनुअघि नै तस्करहरुको समूहले प्रहरी चौकीका भवनमा आगजनी गरेको थियो । २०७० जेठमा तत्कालिन डिएसपी कुवेर कडायतले तिंकर क्षेत्रको निरीक्षण भ्रमण समेत गरेका थिए । आगजनीबाट क्षतिग्रस्त भवनहरुमै तिंकर सिमा चौकीका सुरक्षाकर्मी बस्दैआएका छन् । व्यवस्थित भवनको अभावमा व्यासको तिंकर र नीतिकुण्डा दुबै ठाउका सुरक्षाकर्मीको कष्टपूर्ण बसाई हुदैआएको छ ।
तिंकरको छियालेकमा सिमा प्रहरी चौकीको नाममा २ सय १३ रोपनी जमिन छ । जमिन पर्याप्त भए पनि भवनको अभाव रहेको प्रहरी भनाई छ । व्यासको सितापुलमा प्रहरी चेकपोष्टको नाममा साढे ४ रोपनी र नीतिकुण्डामा प्रहरी चौकी व्यासको नाममा २ रोपनी जमिन रहेको अभिलेख छ ।