भारतीय पेन्सनरहरुको चाहना: ‘तत्काल वार्ता होस्’

0
870

दार्चुला, साउन २ गते ।
अतिक्रमित नेपाली भूमिको विषयमा नेपाल र भारतबीचको सम्बन्ध चिसो भइरहेका बेला भारतीय पेन्सनर नेपालीहरुले तत्काल वार्ता गर्न अनुरोध गरेका छन् । वार्तामार्फत समस्याको समाधान खोज्न र दुई देशको मित्रतालाई नयाँ उचाई दिन पूर्व सैनिकहरुले सुझाएका छन् ।
लकडाउनले अन्तर्राष्ट्रिय सिमानाका बन्द हुँदा ४ महिनापछि पेन्सन बुझ्न पाएका भारतीय फौजका पेन्सनर नेपालीलाई दुई देशको सम्बन्ध बिग्रिन्छ कि भन्ने चिन्ता छ । ‘हामीबीचको आपसी मित्रतामा संकट आउनु हुँदैन, यसका लागि दुबै देशका सरकारले तत्काल वार्ता गर्नुपर्छ’ नेपाल भूतपूर्व सैनिक संघका जिल्ला अध्यक्ष तुला गिरीले भन्नुभयो ।
दुई देशको मित्रताको एउटा प्रमुख पाटोका रुपमा पूर्व सैनिकहरु रहेको उहाँको भनाई छ । ‘हामीले आफ्नो जीवन भारतीय फौजमा खर्च गर्यौ, त्यसको प्रतिफलमा पेन्सन पाइरहेका छौ, जनस्तरमा मात्र होइन, सरकार सरकारका बीचमा पनि सम्बन्ध राम्रो हुनुपर्छ’ उहाँले भन्नुभयो ।
दुई देशका जनताले कहिल्यै पनि अशान्ति र विवाद मन नपराउने व्यास गाउँपालिका वडा नम्बर ६ हुतीका ८७ वर्षिय पेन्सनर अमितादेवी खाती बताउनुहुन्छ । ‘वार्ता गर्न किन ढिला गरेका होलान्, छिटो वार्ता गरी विवाद सक्नुपर्छ (टुंग्याउनुपर्छ)’ उहाँले भन्नुभयो । आफ्ना श्रीमान् वीर सिंह खातीले दोस्रो विश्वयुद्ध लगत्तै भारतीय सेनामा सेवा गरेको उहाँले बताउनुभयो । ‘सेनामा जागिर खादा १२ वर्षसम्म घर आएका थिएनन्, बर्मामा अर्का देशका सेनाले घेरेर राखेका थिए रे’ आफ्ना श्रीमानका बारेमा अमिता देवी खातीले भन्नुभयो ।
‘नेपाली जनताले भारतको कहिल्यै पनि अहित नगरेकोले नेपालको जायज माग भारतले सम्बोधन गर्नुपर्ने’ अमिताका पनाती भूपेन्द्रसिंह विष्ट बताउँछन् । असार २४ देखि २६ गतेसम्म भारतीय फौजका पेन्सनरका लागि सिमानाका खुलेपछि हजुरआमाका साथ भूपेन्द्र धारचुलाको भारतीय बैंकसम्म पुगेका थिए ।
हुतीबाट ८७ वर्षिय हजुरआमालाई बोकेर धारचुला पुर्याउने नाती देवसिंह खाती गर्न भारतले वार्ता गर्न ढिलाइ गर्न नहुने बताउनुहुन्छ । ‘नेपालले वार्ता, वार्ता भनिरहेको छ तर भारतले किन वार्ता गरिरहेको छैन ?’ उहाँको जिज्ञासा छ ।
भारतीय सेनाको गोर्खा राइफल्समा २४ वर्ष सेवा गरेका मालिकार्जुन गाउँपालिका ६ उकुका शम्भु गुरुङ वार्तामा ढिलाइ गर्न नहुने बताउनुहुन्छ । ‘वार्ता गरेर समाधान गर्नुपर्छ, दुबै सरकारले तत्काल वार्ता गर्नुपर्छ र जनताको चिन्ता दूर गर्नुपर्छ (हटाउनुपर्छ)’ गुरुङले भन्नुभयो ।
भारतीय सेनाको सडक निर्माण कम्पनी ग्रिफका पेन्सर महावीर बोहराको पनि तत्काल वार्ताको कामना छ । ‘दुई देशको सदियौंदेखिको सम्बन्ध र मित्रतालाई बढाउनुपर्छ, तत्काल वार्ता होस्’ दुहुँ गाउँपालिका वडा नम्बर ३ बोहरागाउँका वासिन्दा बोहराले भन्नुभयो । दुबै देशका जनताको भलाईलाई ध्यान दिएर वार्तामार्फत समस्या समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘दुइ देशबीचको विवादले हामीलाई दुखित मात्रै बनाउछ’ ३६ वर्ष ग्रिफको सीमा सडक संगठनमा सेवा गरेका बोहराको भनाई छ । उहाँले ले, लद्दाक, मिजोरम क्षेत्रका लामो समय सेवा गरेका थिए ।

दुई देशको प्रशासनिकस्तरमा समन्वय गरेर भारतीय फौजका पेन्सनरहरुका लागि असार २४ देखि २६ गतेसम्म ३ वटा अन्तर्राष्ट्रिय सिमानाका खोलिएका छन् । भारतको पिथौरागढ जिल्लासंग जोडिएको दार्चुलाको खलंगा र जोलजिवी तथा बैतडीको झुलाघाट नाका खोलिएको हो । तिनवटै नाकाबाट तिन दिनमा ७ सय ८६ जना पेन्सनरले बैंकमार्फत पेन्सन रकम बुझेका छन् ।