सिक्कामा नेपालको नयाँ नक्सा निकालिने

0
1553

दार्चुला, भदौ ३१ गते ।
नेपाल सरकारले नयाँ नक्सा भएको सिक्का निकाल्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा भएको सिक्का निकाल्न मन्त्रिपरिषद् बैठकले सोमबार स्वीकृति दिएको हो ।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलवार साँझ आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । राष्ट्र बैंकले एक रुपैयाँ र दुई रुपैयाँ दरका नयाँ सिक्का निकाल्न सरकारसंग स्वीकृति मागेको थियो ।
सरकारबाट नयाँ नक्सा जारी भएपछि पहिलोपटक मुद्रामा नेपालको नयाँ नक्सा समेटिन लागेको हो । सरकारले सबै क्षेत्रमा नयाँ नक्साको प्रयोग गर्ने घोषणा गरिसकेको छ भने त्यसको कार्यान्वयनमा पनि उत्रिएको छ ।
नयाँ नक्सासहितको सिक्का निस्काषनको प्रक्रिया तत्कालै सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।