त्रिदेशीय सिमाक्षेत्रमा भारतीय रक्षामन्त्रीले पुल उद्घाटन गर्ने तयारी

0
2079
फाइल फोटोः धार्चुला-लिपुलेक सडकको माल्पा क्षेत्रमा बनाइएको बेलिब्रिज

दार्चुला, भदौ ३१ गते ।
पाँच महिना पहिले तावाघाट–लिपुलेक सडक उद्घाटन गरेर चर्चामा आएका भारतीय रक्षामन्त्री राजनाथ सिंहले त्रिदेशीय सिमाक्षेत्रमा निर्माण गरिएका ८ मोटरपुल उद्घाटन गर्ने भएका छन् । भारतको राजधानी नयाँ दिल्लीबाट भिडिया कन्फरेन्समार्फत असोज २ गते शुक्रवार रक्षामन्त्री सिंहले पुल उद्घाटन गर्ने तयारी भइरहेको छ ।
चीन र नेपालको सिमाक्षेत्र जोड्ने सडकमा निर्माण सम्पन्न गरिएका मोटरपुलहरु भारतीय रक्षामन्त्री सिंहले उद्घाटन गर्दैछन् । भारतीय सेनाको सडक निर्माण कम्पनी सिमा सडक संगठनले निर्माण सम्पन्न गरेका मोटरपुल उद्घाटनको तयारी भइरहेको पिथौरागढ जिल्ला प्रशासनले जनाएको छ । पिथौरागढ जिल्ला सदरमुकामबाट ७० किलोमिटरको दूरीमा जौलजिवी बजार पर्दछ । जौलजिवीदेखि पश्चिमोत्तरमा पर्ने मुनस्यारी क्षेत्र जोड्ने सडक र पूर्वोत्तरमा पर्ने धारचुला र तावाघाट जोड्ने सडकमा निर्माण गरिएका मोटरपुल उद्घाटन गरिन लागेका हुन् ।
जौलजिवीबाट महाकाली नदीको किनारैकिनार तावाघाटसम्म ४६ किलोमिटर लामो कालोपत्रे सडक छ । यो सडक खण्डमा पर्ने ढुंगातोली, दोबाट, ऐलागाड र कुलागाडमा नयाँ मोटरपुल निर्माण गरिएका छन् । दुई (डबल) लेनका आरसिसि पुलहरु रक्षामन्त्रीले उद्घाटन गर्नुअघि नै सञ्चालनमा आइसकेका छन् । यसैगरी, जौलजिवीबाट गोरीगंगा नदीको किनारैकिनार मुनस्यारी जोड्ने अर्को सडक सिमा सडक संगठनले निर्माण गरेको छ । यस सडकमा पर्ने सिराली, स्यालधार, तुलागाड र चारीगाडमा गरी ४ वटा मोटरपुल तयार गरिएका छन् ।
सन् १९६२ को भारत–चीन युद्धको बेला नै धारचुलाको तावाघाटसम्मको सडक निर्माण गरिएको थियो । हाल टनकपुरदेखि पिथौरागढ हुँदै तावाघाटसम्मको २ सय ७० किलोमिटर लामो सडक दुई लेनको बनाइदैछ । भारतको केन्द्र सरकारले टनकपुरदेखि पिथौरागढसम्मको १ सय ५० किलोमिटर लामो सडक ‘चारधाम सडक परियोजना’अन्तर्गत १२ मिटर चौडा बनाइरहेको छ । पिथौरागढदेखि धारचुलासम्मको ९७ किलोमिटर लामो सडक पनि दुई लेनको बनाउने काम भइरहेको छ ।
जौलजिवी बजारमा महाकाली र गोरीगंगा नदीको संगम छ । जौलजिविबाट मुनस्यारीसम्मको ७० किलोमिटर लामो सडक पनि दुई लेनको बनाइदैछ । जौलजिविबाट मुनस्यारी हुँदै मिलमसम्म सडक बनाउने भारतको योजना छ । मुनस्यारी तहसिलअन्तर्गत गर्ने मिलम क्षेत्र चीनको सिमासंग जोडिन्छ । भारतले चीनिया सिमासम्म सडक निर्माण गर्ने योजना अघि सारेको छ ।
जौलजिविबाट पूर्वोत्तरतर्फ महाकाली नदीको किनारैकिनार चीन र नेपालको सिमाक्षेत्र जोड्ने सडक निर्माणलाई पनि भारतले प्राथमिकता दिदैआएको छ । सन् २००८ देखि निर्माण सुरु भएको ९६ किलोमिटर लामो तावाघाट–लिपुलेक सडक गत वैशाखमा भारतीय रक्षामन्त्रीले भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । सडकको नयाँ ट्रयाक खोल्ने र पुरानो सडकलाई दुई लेनमा स्तरोन्नती गर्ने कार्य भइरहेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत र सुरक्षा अधिकारीहरुसिंत भिडियो सम्पर्क गरेर रक्षामन्त्रीले आठवटा मोटरपुलहरुको उद्घाटन गर्ने कार्यक्रम छ । पुल उद्घाटन कार्यक्रमका लागि मुख्यमन्त्री रावत देहरादूनबाट असोज १ गते पिथौरागढ जिल्ला मुख्यालय पुग्ने समयतालिका छ । पिथौरागढको नैनीसैनी हवाइमैदानबाट मुख्यमन्त्री र सैन्य अधिकारीहरुले दिल्लीस्थित रक्षामन्त्री राजनाथ सिंहसंग भर्चुअल सम्पर्क गर्ने तयारी छ ।
मोटरपुलको उद्घाटनका लागि उत्तराखण्डका मुख्यमन्त्री पिथौरागढ आउने र भर्चुअल माध्यमबाट रक्षामन्त्रीले पुल उद्घाटन गर्ने भएपछि पिथौरागढ जिल्ला प्रशासनले यसको गृहकार्य थालेको छ । भदौ ३० गते पिथौरागढका जिल्ला अधिकारी (डिएम) डा. विजयकुमार जोगदण्डेले सिमा सडक संगठन र लोक निर्माण विभागका अधिकारीहरुसंग तयारी बैठक गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अतिक्रमित नेपाली भूमि लिपुलेक क्षेत्र जोड्ने सडक निर्माण गरेको भारतले उद्घाटन गर्न लागेका मोटरपुलहरु भने भारतीय भूमिमै निर्माण भएका छन् । दशकौंअघि निर्माण गरिएको सडक क्षेत्रमा दुई लेनका नयाँ मोटरपुल निर्माण गरि उद्घाटन गरिन लागेका हुन् । अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा भारतीय सेनाले निर्माण गरेको सडक र मोटरपुल भएकाले रक्षामन्त्रीबाट उद्घाटन गरिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
धारचुला तहसिलको तावाघाटदेखि लिपुलेकसम्मको ९६ किलोमिटर सडकमध्ये अतिक्रमित नेपाली भूमिमा करिब ३० किलोमिटर सडक बनाइएको छ । गुञ्जीदेखि कालापानी हुँदै नाभीढाँगभन्दा केही माथिल्लो क्षेत्रसम्मको नेपाली भूमिमा सडक निर्माण गरिएको छ । लिपुलेकको अन्तिम सिमाविन्दुभन्दा ४ किलोमिटर वरसम्म कच्ची सडकको ट्रयाक खोलिएको छ ।
रक्षामन्त्रीबाट मोटरपुल उद्घाटन गराएर भारतीय सेना र जनताको मनोवल बढाउने उद्देश्य देखिन्छ । चीनसंगको सिमाक्षेत्रमा सैन्य तनाव भइरहेका बेला रक्षामन्त्रीबाट टाढाको क्षेत्रमा मोटरपुल उद्घाटन गरिदा भारतीय जनता र सेनामा सकारात्मक सन्देश जाने विश्लेषण गरिएको छ ।
तावाघाटदेखि लिपुलेकसम्मको ९६ किलोमिटर लामो सडकक्षेत्रमा आधा दर्जन बेलिब्रिज राखिएका छन् । रक्षामन्त्री सिंहले भने दुई लेनका पक्की आरसिसि मोटरपुल मात्रै उद्घाटन गर्न लागेका हुन् । तावाघाटदेखि लिपुलेकसम्मको सडकअन्तर्गत केही स्थानमा आरसिसि मोटरपुल समेत निर्माण गरिएका छन् । तर रक्षामन्त्री सिंहले भने हालै मात्रै निर्माण गरिएका मोटरपुलहरुको भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन् ।