उत्तराखण्डमा ३३ हजार कोरोना संक्रमित, चार सय २९ को मृत्यु

0
694

दार्चुला, भदौ ३१ गते ।
भारतको उत्तराखण्ड राज्यमा कोरोना संक्रमितको संख्या ३३ हजार १६ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना संक्रमण फैलिएको ६ महिनाको अवधिमा सेप्टेम्बर महिनाका दुई हप्तामा बढी क्षति भएको तथ्यांक छ ।
सेप्टेम्बर महिनाको दुई हप्तामा मात्रै १३ हजार संक्रमित थपिएका छन् । अगस्ट महिनामा उत्तराखण्ड राज्यमा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ७४ थियो । त्यसअघि जुलाइ महिनासम्म ७ हजार १ सय ८३ मात्रै संक्रमितको संख्या थियो ।
अक्टोवर र सेप्टेम्बरमा संक्रमितको संख्या अत्यधिक पुगेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ । उत्तराखण्डमा मार्च १५ मा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो ।
दुइ हप्तामा १ सय ६० को मृत्यु
सेप्टेम्बर महिनाको दुई हप्तामा उत्तराखण्डमा कोरोना संक्रमणबाट १ सय ६० जनाको मृत्यु भएको छ । अगस्ट महिनाभरी २ सय ६९ को मृत्यु भएको तथ्यांक छ । अगस्ट ६ तारेखसम्म मृत्यु हुनेको संख्या १ सय मात्रै थियो । अगस्ट र सेप्टेम्बर महिनामा संक्रमित र मृत्यु हुनेको संख्या बढेको भारतीय मिडियाले जनाएका छन् ।