समुदाय प्रहरी साँझेदारी कार्यक्रमका लागि ब्याँस पुगे डिएसपी भट्ट

0
623
फाइल फोटोः जिल्ला प्रहरी कार्यालय दार्चुला

दार्चुला, फागुन २६ गते ।
समुदाय–प्रहरी साँझेदारी कार्यक्रमका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट मंगलबार ब्याँस गाउँपालिकामा पुगेका छन् ।
हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी नारा सहित समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तरगत शान्तीपूर्ण र सुरक्षित समाजका लागि इलाका प्रहरी कार्यालय हुतीको आयोजनामा ब्याँस ६ हुतीमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमका लागि हालै जिल्ला आउनु भएको नयाँ डिएसपी भट्ट ब्याँस गाउँपालिका पुगेका हुन् ।

ब्याँस गाउँपालिको सामन्वय तथा इप्रका हुतीको आयोजनामा गरिएको कार्यक्रममा नागरिकहरुले विभिनन जिज्ञाशा राखेका छन् । ब्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेरामा इलाका प्रहरी कार्यालय स्थापना गरिनुपर्ने माग गरेका छन् ।
वडा नम्बर ४ का वडाध्यक्ष संग्राम सिंह बिष्टले गाउँपालिकाको केन्द्र सुन्सेरामा इलाका प्रहरी कार्यालय हुनुपर्ने माग गरेका हुन् । गाउँपालिकाको केन्द्र रहेको र बाक्लो बस्ती रहेकाले सुन्सेरामा सुरक्षाका दृष्टिकोणले पनि इलाका प्रहरी कार्यालय स्थापना गर्नुपर्ने माग वडाध्यक्ष बिष्टले राखेका हुन् ।
यस्तै हुतीका स्थानीय तिरा कुवँरले महिला प्रहरी दरबन्दी अनुसार व्यवस्थापनको माग गरेका छन् । सुरक्षा र चेकजाँचका लागि पनि समुदायमा महिला प्रहरी भए महिलाहरुलाई सहज हुने भन्दै कुवँरले महिला प्रहरीको व्यवस्थापन गरिदिनु अनुरोध गरेका छन् ।
यस्तै ब्याँस गाउँपालिका वडा नम्बर ५ स्थित तिग्रम पुल घाँट बिहान १० बजेदेखि साँझ ५ बजेमात्रै खुल्ने गरेको गुनासो समेत गरेका छन् । छोटो समयका लागि पुल खुल्दा नेपाली कामदारहरुलाई समस्या भएको तिग्रमका स्थानिय बीरसिंह बिष्टले गुनासो गरेका छन् । नेपाली कामदारहरुले भारतमा काम गर्ने भएकाले बिहान साइटमा जान र फर्किन समस्या हुने गरेको उहाँको भनाई छ । पुल पूर्ववत् समय अनुसार खोल्न अनुरोध गरेका छन् ।
ब्याँस गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मनोज सिंह कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की प्रमुख अतिथि रहनु भएको थियो । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हेमा भट्ट, कांग्रेस महासमिति सदस्य बिक्रम सिंह धामी, डिएसपी मनोहर प्रसाद भट्ट बिशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा महिला हिंसा, बालविवाह, विभिन्न अपराधिक गतिविधिहरु लगायतका बारेमा जानकारी गराउनुका साथै शान्तीपूर्ण समाज निर्माणमा सबैको भूमिकाको रहने जानकारी दिइएको छ । समाजमा शान्ती सुरक्षा कायम गर्न प्रहरी प्रशासनले मात्रै गर्न नसक्ने भएकाले सबैले सहयोग गर्नुपर्ने डिएसपी भट्टले धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा ब्याँस गाउँपालिकाका जनप्रतिनिधिहरु, सुन्सेरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक तिलक प्रसाद कलौनी, धौलाकोट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हिक्मत बोहरा लगायतको सहभागिता रहेको थियो ।