विभिन्न कार्यक्रम गरि मनाइयो महिला दिवस

0
606

दार्चुला, फागुन २४ गते ।
दार्चुलामा विभिन्न कार्यक्रम गरि अन्र्तराष्ट्रिय महिला दिवस मनाइएको छ । ‘महिलाको सुरक्षा सम्मान र रोजागर, समृद्ध नेपालको आधार’ भन्ने नारा सहित महाकाली नगरपालिकाको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा विभिन्न कार्यक्रम गरि १ सय ११ औ अन्र्तराष्ट्रिय मनाइएकोे महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिनुभयो ।


नारीहरुको हक अधिकार र महिला पुरुष बराबरी हुन भन्ने सन्देश दिन नारी दिवस मनाइदै आएको १११ औँ वर्ष पूरा भएको छ । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर नारी दिवस मनाइदै आएको छ । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।
राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा भने कमी आउन सकेको छैन ।
सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश सहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ । नेपालको संविधानले महिलाहरुलाई हक अधिकार दिएपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा अझै महिलाहरुले समानताको अनुभूति गर्न सकिरहेका छैनन् ।
महिला अधिकारकर्मी गौरी बडालले पनि नारी दिवस जति मनाएपनि नारीको अवस्थामा सन्तोषजनक परिवर्तन हुन नसकेको गुनासो गर्नु भएको छ । नारीहरुको हक अधिकारका लागि दिवस मनाउन थालेको र नारा लगाउन थालेको १ सय ११ वर्ष पूरा भएपनि उल्लेखनीय परिवर्तन भने अझै हुन नसकेको महिला अधिकारकर्मी गौरी बडालले बताएका छन् ।
साथै मालिकार्जुन गाउँपालिकाको आयोजनमा गाउँपालिकाको वडानम्बर ८ शंकरपुरमा १ सय ११ औँ अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा हाजिरीजवाफ प्रतियिोगिता संचालन गरेको छ ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ ले आयोजनामा संचालन गरिएको १ सय ११ औँ अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा आमा समुह विच हाजिरीजवाफ प्रतियोगिता संचालन गरिएको छ ।
१ सय ११ औँ नारी दिवसको अवसरमा मालिकार्जुन गाँउपालिका वडानम्बर ८ ले आयोजना गरेको कार्यक्रममा १ सय ८ वर्षिय जेष्ठ नारी नन्दा देवी जोशीलाई सम्मान गरेको छ ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जेष्ठ नारी जोशीलाई दोसल्ला र मायाको चिनोले सम्मान गरेको मालिकार्जुन गाउँपालिका वडानम्बर ८ का वडाअध्यक्ष पदमराज पन्तले बताउनुभयो । त्यसैगरि लेकम गाउँपालिका वडा नम्बर १ वडामा पनि नारी दिवस मनाइएको छ । नारी दिवसको अवसरमा स्याउँ खाने प्रतियागिता, छात्रा र महिलाको कुर्सी दौड तथा देउडा प्रतियोगिता सञ्चालन गरिएको वडा नम्बर १ का वडाध्यक्ष दौलत सिंह साउँदले जानकारी दिनुभयो । साथै जिल्लाका विभिन्न ठाउँमा विविध कार्यक्रम गरि नारी दिवस मनाइएको छ ।