शिक्षक भट्टको विदाईः उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रत्येक बर्ष नगद पुरस्कार दिने घोषणा

0
1469

दार्चुला, असोज ५ गते ।
विसं २०३७ सालदेखि निरन्तर रुपमा शिक्षण पेसामा रहेका शिक्षक शंकर दत्त भट्टको एक कार्यक्रमका विच विदाई गरिएको छ । ब्यास गाउँपालिकाको वडा नं ४ सुन्सेराको सम्पाल माविका प्रावि इन्चार्ज शंकर दत्त भट्टको अनिवार्य अवकास प्राप्त भएपछि सोमबार एक औपचारीक कार्यक्रमका विच विदाई गरिएको शिक्षक पदम राज भट्टले जानकारी दिनुभयो ।
सम्पाल मावि सुन्सेराका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष मदन सिह कुवरको अध्यक्ष्तामा गरिएको विदाई कार्यक्रममा ब्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझा प्रमुख अतिथि रहनुभएको थियो भने शिक्षा शाखा प्रमुख केशब राज ओझा विशिष्ट अतिथि रहनुभएको थियो ।
२०३७ सालमा आधारभुत विद्यालय जायझुलबाट शिक्षण पेसामा प्रबेश गरेका शिक्षक शंकर दत्त भट्टले आधारभुत विद्यालय मैखोली, सिद्ध मावि सिना र सम्पाल मावि सुन्सेरामा काम गरेको बताएका छन् ।
अन्य विद्यालयहरुमा छोटो समय विताएको भएपनि सम्पाल मावि सुन्सेरामा लामो समय देखि प्रावि इन्चार्जको रुपमा काम गरेको उहाँले बताउनुभयो ।

प्रत्येक बर्ष उत्कृष्ट विद्यार्थीहरुलाई ५ हजार दिने घोषणा

विदाई कार्यक्रममा शिक्षक शंकर दत्त भट्टले प्रत्येक बर्ष उत्कृष्ट हुने विद्यार्थीहरुलाई ५ हजार नगद प्रदान गर्ने घोषणा गरेका छन् ।
सम्पाल मावि सुन्सेराको प्रावि स्तरमा कक्षा एक देखि पाँच सम्म प्रत्येक बर्ष प्रथम हुने विद्यार्थीलाई नगद पाँच सय रुपैयाँका दरले २५ सय र हिमालय मावि हुतीमा कक्षा १२ मा सबै भन्दा बढी जीपीए ल्याउने विद्यार्थीलाई २५ सय गरि प्रत्येक बर्ष पाँच हजार आफ्नो पेन्सनबाट जिवनकाल सम्म विद्यार्थीहरुलाई प्रदान गर्ने शिक्षक शंकर दत्त भट्टले घोषणा गरेका छन् । शिक्षक पदम राज भट्टले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देब सिह धामी, शिक्षकहरु लगायतको सहभागिता रहेको थियो ।