व्यास पैदलमार्गको कार्यप्रगतिबारे गाउँपालिकाको चाँसो

0
476

दार्चुला, भदौ १९ गते ।
व्यास जोड्ने पैदलमार्गको निर्माण तथा मर्मत कार्यमा भइरहेको ढिलाइप्रति व्यास गाउँपालिकाले चाँसो देखाएको छ । व्यास गाउँपालिकाको वडा नम्बर १ व्यासक्षेत्र जोड्ने पैदलमार्गको निर्माण तथा मर्मतका लागि डेढ वर्षअघि ठेक्कासम्झौता भए पनि बाटो सञ्चालन हुन नसकेकोमा जनप्रतिनिधिहरुले प्रश्न उठाएका छन् ।
भदौ १६ गते व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीको नेतृत्वमा जनप्रतिनिधिहरुको टोलीले व्यास पैदलमार्गको अवस्थाबारे समीक्षा गर्न स्थानीय प्रशासनसंग माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागबाट व्यासको पैदलमार्ग निर्माण तथा मर्मत÷सञ्चालन गर्न २०७७ चैत्र २२ गते ठेक्का सम्झौता गरिएको थियो ।
तेह्र महिनाभित्र निर्माण÷मर्मत सम्पन्न गरिसक्ने गरी भएको सम्झौताबमोजिम कार्यप्रगति हुन नसकेकोमा यसबारे गम्भीर समीक्षा गर्नुपर्ने स्थानीय सरकारका जनप्रतिनिधिहरुको माग छ । ‘बाटो निर्माणको समग्र अवस्थाबारे गहन छलफल गर्न हामीले माग गरेका छौ । ठेकेदार, प्राविधिक, जनप्रतिनिधि, प्रशासन र सरोकारवालाहरुको बीचमा यसबारे तत्काल समीक्षा गर्नुछ’ गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भन्नुभयो ।
पैदल मार्गको निर्माण÷मर्मतको अवस्था, भौतिक र वित्तिय प्रगति, बाटो निर्माणको कार्य योजना, अनुगमन÷सुपरीवेक्षण, ठेक्का सम्झौताको अवधि र म्याद थप भए÷नभएको, निर्माण÷मर्मत कार्यमा भएको उपलब्धि र देखिएका चुनौती लगायतका विषयहरुमा स्थानीय तह र जिल्लास्तरमा कुनै जानकारी उपलब्ध नभएको भन्दै यी विषयहरुमा छलफल गर्न माग गरिएको छ ।
‘बाटो निर्माणको अवस्थाबारे समन्वय र थप पहल गर्न जिल्लास्तरमा सरोकारवालाहरुबीच छलफल गर्नु आवश्यक देखिन्छ’ भदौ १६ गते व्यास गाउँपालिकाका तर्फबाट प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको मागपत्रमा भनिएको छ । ‘बाटो निर्माणमा संलग्न निर्माण व्यवसायी, प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेको निकाय र तिनका जिम्मेवार प्रतिनिधि, जिल्लास्थित सरोकारवाला पक्ष÷निकाय र स्थानीय सरकार (व्यास गाउँपालिका)को सहभागिता सुनिश्चित हुने गरी तत्काल छलफल कार्यक्रमको संयोजन गरिदिन’ जिल्ला प्रशासन कार्यालय दार्चुलालाई लिखित अनुरोध गरिएको छ ।
गाउँपालिकाको मागलाई तत्काल सम्बोधन गराउन सरोकारवाला पक्षहरुबीच छलफल गराइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ‘महत्वपूर्ण विषयमा छलफल गर्न माग गरिएको छ, यसबारे हामी समन्वय गरेर छलफल गराउछौ, व्यासको पैदलमार्ग सञ्चालन गर्न सबै पक्ष गम्भीर बन्नुपर्छ’ प्रजिअ उपाध्यायले भन्नुभयो ।
स्थानीय पूर्वाधार विभागको धनगढीस्थित स्थानीय पूर्वाधार विकास कार्यालयले व्यासको पैदलबाटो निर्माणको योजना हेरिरहेको छ । तर, व्यासको पैदलमार्गको योजनाबारे जिल्लास्तर र कार्यक्षेत्रमा कुनै जानकारी उपलब्ध नभएको गुनासो छ । ‘जिल्लास्तरमा वा फिल्डमा बाटो निर्माणको कुनै साइट कार्यालय छैन, न त कुनै कर्मचारी नै उपलब्ध छन्’ व्यास गाउँकार्यपालिकाका सदस्य असपालसिंह बुढाथोकीले भन्नुभयो ।
२०७९ वैशाख महिनासम्म निर्माण सम्पन्न गर्नेगरी ३ करोड ३२ लाख ७१ हजार ७ सय ११ रुपैयाँ ७७ पैसाको लागतमा ठेक्का सम्झौता भएको थियो । ‘सम्झौता अवधि सकिएको छ, तर पैदलमार्ग खुलेको छैन’ एक हप्ताअघि स्थलगत भ्रमण गरेर सदरमुकाम फर्किएका कार्यपालिका सदस्य बुढाथोकीले भन्नुभयो । व्यासको पैदलमार्गमा पर्ने कल्जुखोलामा झोलुंगे पुल निर्माणको कार्य भने भएको छ । साथै, व्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने बुँदीखोलामा पनि झोलुंगेपुल निर्माणका लागि सामग्री ढुवानी गरिएका छन् ।
दुम्लिङदेखि छाङरुसम्मको पैदलमार्गको ३०.५ किलोमिटर लामो पैदलमार्ग निर्माण तथा मर्मत गरी सञ्चालनमा ल्याउन ठेक्कासम्झौता गरिएको थियो । ठेक्कासम्झौताअन्तर्गत कल्जुखोला र बुँदीखोलामा झोलुंगेपुल तथा सकन्याडी र अपिखोलामा ट्रसपुलको निर्माण गर्नुपर्ने शर्त छन् ।