छाङरुमा होइन, थिईमा सेनाको क्याम्प राखिने

0
498

दार्चुला, भदौ १९ गते ।
टिंकर सडक निर्माणका लागि व्यासको छाङरुमा राख्ने भनिएको नेपाली सेनाको क्याम्प तत्काल नराखिने भएको छ । छाङरुको सट्टा व्यास गाउँपालिकाको वडा नम्बर २ थिइक्षेत्रमा क्याम्प राखिने सेनाले जनाएको छ ।
टिंकर सडकलाई युद्धस्तरमा निर्माण गर्न व्यास गाउँपालिका वडा नम्बर १ छाङरुको सुतलामा क्याम्प राख्ने तयारी गरिएको थियो । तर छाङरुमा क्याम्प राख्ने आन्तरिक तयारी र योजनाबाट सेना पछि हटेको छ । छाङरुको सट्टा थिईक्षेत्रमा क्याम्प राखिने नेपाली सेनाको सुचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
‘छाङरुमा प्रस्ताव गरिएको क्याम्पलाई सोही (व्यास) गाउँपालिकाको थिही (थिइ)मा चालु आवको तेस्रो चौमासिकभित्र स्थापना गर्ने योजना रहेको’ नेपाली सेनाले जनाएको छ । सेनाको पछिल्लो जानकारीअनुसार आगामी असारसम्म थिइक्षेत्रमा क्याम्प स्थापना हुनेछ ।
’छाङरुमा प्रस्तावित क्याम्पलाई सडक निर्माण कार्य, फौजको आवतजावत र अन्य बन्दोवस्तीको सहजतालाई मध्यनजर गरी सोही गाउँपालिकाको थिइमा स्थापना गर्ने योजना रहेको’ सेनाको भनाई छ ।
यसअघि गत वैशाख–जेठ महिनामै व्यासको छाङरुमा सेनाको क्याम्प स्थापना गर्ने गृहकार्य गरिएको थियो । छाङरुको सुतला भन्ने स्थानमा क्याम्प स्थापनाका लागि स्थानीयबाट जमिन भाडामा लिन सेनाले व्यास गाउँपालिकाको वडा नम्बर १ को वडा कार्यालयलाई पत्राचार समेत गरिसकेको थियो ।
छाङरुमा क्याम्प स्थापना गरी टिंकर सडक निर्माणलाई तिब्रता दिन प्राविधिक तयारी पनि गरिएको थियो । गत वैशाख ८ देखि ११ गतेसम्म सेनाको एमआइ–१७ हेलिकोप्टरमार्फत मेसिन तथा उपकरण ढुवानीको रेकी पनि गरिएको थियो । त्यतिबेला दार्चुलाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी र सैनिक अधिकृतहरुले समेत व्यासको भ्रमण गरेका थिए ।
व्यासको छाङरुमा क्याम्प स्थापनापछि छाङरुदेखि टिंकरतर्फ र छाङरुदेखि बुँदीक्षेत्र (दुबैतर्फ)को सडक निर्माण एकसाथ अगाडि बढाउने योजना थियो । तर, चालु आर्थिक वर्षमा बजेट कटौतीसंगै ‘छाङरुमा क्याम्प स्थापना गरी सडक निर्माण गर्ने योजना’बाट सेना पछि हटेको छ ।
छाङरुको प्रस्तावित क्याम्प स्थापनाका लागि आवश्यक सामग्री खरिद गरेर सेनाले सुन्सेरास्थित क्याम्पमा जम्मा गरिसकेको छ । साथै, ‘छाङरु इलाकामा क्याम्प तैनाथपश्चात ट्रयाक निर्माण कार्य सञ्चालन गर्न आवश्यक पर्ने भारी उपकरणहरु लैजाने सम्बन्धमा थप गृहकार्य भइरहेको’ जानकारी पनि नेपाली सेनाले गत असार अन्तिम साता मिडियालाई दिएको थियो ।
सेनाले गत वैशाख १६ गते प्रेस नोट जारी गर्दै मल्टिपल एप्रोचबाट सडक निर्माणको लक्ष्य हासिल गर्न मेसिन तथा उपकरणहरु ढुवानीको कार्य गरिएको जनाएको थियो । वैशाख ८ देखि ११ गतेसम्म सेनाको हेलिकोप्टरबाट ३ वटा कम्प्रेसर मेसिन र २ वटा स्काइभेटर मेसिन ढुवानी गरिएका थिए ।
व्यास गाउँपालिकाको वडा नम्बर २ मा पर्ने माल र दुम्लिङमा स्काइभेटर तथा तुषारपानी, कोठेधार र दुम्लिङमा कम्प्रेसर मेसिन ढुवानी गरिएको थियो । स्काइभेटर र कम्प्रेसर मेसिन ढुवानी गर्ने क्रममा व्यासको छाङरुमा क्याम्प स्थापना तथा मेसिन–उपकरणहरुको ढुवानी गर्न रेकी (सर्भे) समेत गरिएको थियो ।
छाङरुमा क्याम्प स्थापनाको गृहकार्य थालिएपछि राशन आपुर्ति गर्ने ठेकेदारसमेत गत जेठ महिनामा छाङरु पुगेका थिए । निर्धारित स्केल र मापदण्डअनुसारको राशन आपुर्तिको व्यवस्थापन गर्न ठेकेदारले तयारी समेत गरिसकेकोमा पछिल्लो समय सेनाले छाङरुमा क्याम्प स्थापनाको कार्य नै स्थगित गरिदिएको छ ।
छाङरुको सट्टा क्याम्प स्थापना गर्ने भनिएको थिईक्षेत्र राप्लाको दुम्लिङबाट ४÷५ घण्टाको पैदल दूरीमा छ । तम्बाकु क्षेत्र नजिकको थिइमा २०७७ सालमा चार महिनासम्म सेनाको अस्थायी क्याम्प राखिएको थियो । व्यास जोड्ने पैदलबाटो अवरुद्ध भएपछि मौराभिर क्षेत्रमा बाटो खुलाउन सेनाको क्याम्प राखिएको थियो । त्यतिबेला थिईक्षेत्र र घाटिबगरमा सेनाको क्याम्प राखेर पैदल बाटोको काम गरिएको थियो । साढे ५ सय मिटर लामो चट्टानी भूभागमा पैदलमार्ग खुलाएर चार महिनापछि थिई र घाटिबगर दुबै ठाउँबाट सेनाको क्याम्प फर्किएको थियो ।
मौराभीर क्षेत्रको चट्टान फुटाएर सेनाले पैदलमार्ग खोले पनि तम्बाकु, दोपाखे, पोलालगायत दर्जनौ ठाउँमा व्यास जोड्ने पैदलबाटो भत्किएको छ । नेपालतर्फ पैदलमार्ग समेत सुचारु नहुदा व्यास जाने यात्रुहरुले भारतीय सडकमार्ग र भूमिको प्रयोग गर्नुपर्ने बाध्यता छ ।