टिंकर सडकमा यो वर्ष २ किलोमिटर मात्रै ट्रयाक खोलिने

0
406

दार्चुला, भदौ १८ गते ।
नेपाली सेनामार्फत निर्माण भइरहेको टिंकर सडकमा चालु आर्थिक वर्षमा दुई किलोमिटर मात्रै ट्रयाक खोल्ने लक्ष्य राखिएको छ । नेपाल सरकारले सडक निर्माणका लागि पर्याप्त बजेट उपलब्ध नगराउदा सडक निर्माणमा सेनाको लक्ष्य नै संकुचित भएको छ ।
गत आर्थिक वर्ष २०७८÷७९ मा १५ करोड ८० लाख रुपैयाँ बजेट दिइदा सेनाले व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर २ दुम्लिङसम्मको ८.४ किलोमिटर सडकको ट्रयाक खोलेको छ । चालु आर्थिक वर्षमा ९ करोड ५० लाख ३० हजार मात्रै बजेट विनियोजन गरिदा दुम्लिङभन्दा अगाडि २ किलोमिटर मात्रै सडकको नयाँ ट्रयाक खोलिने लक्ष्य छ ।
चालु वर्षमा दुई किलोमिटर नयाँ ट्रयाक निर्माण र डेढ किलोमिटर सडक चौडा गर्ने कार्यक्रम रहेको नेपाली सेनाको सुन्सेरास्थित दार्चुला–टिंकर सडक आयोजना कार्यालयले जनाएको छ । तुषारपानीदेखि दुम्लिङसम्मको साढे ८ किलोमिटर सडकमध्ये डेढ किलोमिटर सडकको चौडाइ ३ मिटर मात्रै छ । कोठेधारदेखि सगनाडीसम्मको डेढ किलोमिटर लामो क्षेत्रमा सडकको चौडाइ ३ मिटरबाट बढाउने गरी कार्य गरिने सेनाले जनाएको छ ।
भिरालो र चट्टानी भूभाग भएकोले सडक निर्माण चुनौतीपूर्ण रहे पनि वार्षिक लक्ष्यअनुसार सडक निर्माणको कार्यमा प्रगति भएको नेपाली सेनाका दार्चुला टिंकर सडक आयोजना प्रमुख एवं कर्णेल हरिवहादुर बोहराले बताउनुभयो ।
टिंकर सडक निर्माणमा यो वर्ष दिइएको साढे नौ करोड बजेटमध्ये सडक निर्माण कार्यमा ७ करोड २५ लाख ५० हजार रुपैयाँ खर्च हुनेछ । मेसिनरी उपकरण खरिद, मर्मत र स्पेयर पार्टस्मा १ करोड २० लाख रुपैयाँ खर्च गरिने वार्षिक कार्यक्रममा उल्लेख छ । राष्ट्रिय योजना आयोगले स्वीकृत गरेको यो वर्षको कार्यक्रमअनुसार भवन निर्माणमा ५० लाख र भवन मर्मतमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसैगरी, विनियोजित बजेटमध्ये चालु खर्चअन्तर्गतका क्रियाकलापहरु सञ्चालन गर्न ५० लाख बजेट छुट्याइएको छ ।
टिंकर सडक निर्माणका लागि सरकारले गत आवको भन्दा ४० प्रतिशत कम बजेट दिएको छ । यो वर्ष नेपाली सेनाले टिंकर सडक निर्माणका लागि २५ करोड रुपैयाँ बजेट माग गरेको थियो । तर गतवर्ष दिएको १५ करोड ८० लाखभन्दा ४० प्रतिशत कम बजेट अर्थात साढे नौ करोड रुपैयाँ मात्रै टिंकर सडकमा बजेट दिइएको छ ।