व्यासको सिमाक्षेत्रमा सशस्त्र प्रहरीलाई निगरानी गर्दै एसएसबी

0
919

दार्चुला, असोज ८ गते ।
भारतबाट अतिक्रमित भूमि कालापानी क्षेत्रको नजिक व्यासको छाङरुमा रहेको सशस्त्र प्रहरी टोलीलाई भारतीय सशस्त्र सीमा वल (एसएसवी)ले ‘रेकी’ गर्ने गरेको छ । सशस्त्र प्रहरीले सिमाक्षेत्रमा गस्ती गर्दा सधैभरी एसएसवीले पिछा (रेकी) गर्ने गरेको सुरक्षाकर्मी बताउँछन् ।
सरकारले वैशाख ३१ गते व्यासको छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना गरेपछि पटक–पटक सिमाक्षेत्रमा गस्ती हुँदैआएको छ । छाङरुमा रहेका सुरक्षाकर्मीको अवस्था र गतिविधिबारे एसएसवीले चाँसो राख्दैआएको छ । ‘दुई देशको मित्रता जस्तै सुरक्षा निकायबीच समन्वय गर्नुपर्छ भनेर भारतीय सुरक्षाकर्मीले सम्पर्क गर्दैआएका छन्’ छाङरु विओपीमा कार्यरत एक सुरक्षाकर्मीले भन्नुभयो, ‘तर भारतीय सिमाक्षेत्रमा हाम्रो गस्ती हुँदा एसएसवीको टोलीले सधैभरी रेकी गर्दैआएको छ ।’
व्यासको छाङरुमा विओपी स्थापना भएदेखि नै एसएसवीले नेपाली सुरक्षाकर्मीसंग सम्पर्क राख्दैआएका छन् । भारतको गव्र्याङमा एसएसवीको सुरक्षा पोष्ट छ भने नेपाल–भारत जोड्ने सितापुल नाकामा २४ घण्टा सुरक्षा निगरानी हुँदैआएको छ । सितापुलबाट एक किलोमिटर दूरी गागा भन्ने ठाँउमा सशस्त्र प्रहरीको विओपी छ ।
विओपी स्थापना भएयता आधा दर्जन पटक सशस्त्र प्रहरीको टोलीले भारतीय सिमाक्षेत्रमा गस्ती गरेको छ । छाङरुको गागास्थित विओपीबाट ६ किलोमिटर दूरीमा रहेको तल्लो कौवाक्षेत्र र ९ किलोमिटर दूरीमा रहेको माथिल्लो कौवाक्षेत्रसम्म नियमित गस्ती हुँदैआएको सशस्त्र प्रहरीका एक अधिकारीले जानकारी दिनुभयो । गत जेठ महिनामा विओपी कमाण्डर रहेका सशस्त्र प्रहरी निरीक्षक लिलिवहादुर चन्दको नेतृत्वमा पहिलो पटक कौवाक्षेत्रमा गस्ती गरिएको थियो । पहिलो पटकको गस्तीदेखि पछिल्लो पटकसम्म सधैभरी एसएसवीले रेकी गरेको सुरक्षाकर्मीको भनाई छ ।
भारतको गव्र्याङमा रहेको एसएसवीको टोलीले महाकाली पारिबाट समानान्तर रुपमा सशस्त्र प्रहरीको गस्ती टोलीलाई पिछा गर्ने गरेको छ । गव्र्याङबाट ९ किलोमिटर दूरीमा रहेको गुञ्जीमा एसएसवीको अर्को पोष्ट छ । गुञ्जीमा डिएसपीस्तरका कमाण्डरले एसएसवीको नेतृत्व गर्दछन् । सशस्त्र प्रहरीको टोलीले गस्ती गरिरहदा एसएसवीको टोलीले प्रत्यक्ष र सुक्ष्म रुपमा रेकी गर्ने गरेको नेपाली सुरक्षाकर्मीको भनाई छ ।
पहिलोपटक सिमाक्षेत्रको गस्ती गर्दा एसएसवीको टोलीले माथिल्लो कौवा क्षेत्रमा सशस्त्र प्रहरीलाई रोकेको थियो । कालापानीस्थित नक्कली महाकालीको मुहान र मन्दिरमा पुग्नुभन्दा २ किलोमिटर तल आएर एसएसवीले शसस्त्र प्रहरीको टोलीलाई रोकेको थियो । ‘यो क्षेत्रबाट माथि भारतीय भूमि भएको र तपाईहरु यतैबाट फर्किनुस् भनेर एसएसवीले हामीलाई रोकेको थियो’ सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीले भन्नुभयो ।
छाङरुको गागाबाट गस्ती सुरु गर्दा महाकाली पारीको गव्र्याङ गाउँमा रहेको एसएसवी टोलीले आफुहरुलाई रेकी गरेको तर माथिल्लो कौवाक्षेत्रमा गुञ्जी र कालापानी क्षेत्रको एसएसवी टोलीले आफुलाई छेकेको उहाँले बताउनुभयो । ‘हामीहरु हिड्दा एसएसवी टोली पनि हतियारसहित महाकाली पारि समानान्तर हिडिरहन्छ, हामी रोकियौं भने उनीहरु पनि रोकिन्छन्’ ती सुरक्षाकर्मीले भन्नुभयो ।
माथिल्लो कौवाको अन्तिमतिर सानो उकालो पर्छ । उक्त क्षेत्रमा भारतीय सुरक्षाकर्मीले ढुंगा थुपारेर पर्खाल जस्तो बनाएका छन् । ‘ढुंगाको चिनाइ गरेर पर्खाल बनाइएको छैन तर सयांै मिटर लामो क्षेत्रमा ढुंगा थुपारेर पर्खाल जस्तो बनाइएको छ’ माथिल्लो कौवाक्षेत्रमा पुगेका अर्का सुरक्षाकर्मीले भन्नुभयो ।
पहिलोपटक जेठ १८ गते सशस्त्र प्रहरीको टोली कालापानी पुग्ने उद्देश्यसहित गस्तीमा निस्केको थियो । सशस्त्र प्रहरी निरीक्षक लिलिवहादुर चन्द नेतृत्वको गस्ती टोलीलाई एसएसवी टोलीले माथिल्लो कौवाको अन्तिम छेउबाट फर्काएको थियो । ‘सुरुमा ४ जना एसएसवी मात्रै भेटिए, केहीबेर कुराकानी भइरहदा वरीपरी लडाइको पोजिसनमा ३५÷४० जना हतियारसहित क्रलिङमा देखिए’ गस्तीमा संलग्न ती सशस्त्र प्रहरीको भनाई छ । अहिलेसम्म माथिल्लो कौवाक्षेत्रसम्म तीन पटक र तल्लोकौवासम्म दुईपटक सशस्त्र प्रहरीले गस्ती गरेको स्रोतले बतायो ।
कालापानी पुग्नमा अवरोध गर्ने र गस्ती टोलीलाई रेकी गर्ने काम एसएसवीबाट भइरहे पनि सशस्त्र प्रहरीसंग एसएसवीले नियमित सम्पर्क भने गरिरहन्छ । ‘दुई देशका जनता र सरकारबीच मित्रता भएजस्तै सुरक्षा निकायको तहमा पनि आपसी समन्वय र सहयोग गर्नेबारे एसएसवीले सकारात्मक कुराकानी गरिरहन्छन्’ व्यासको विओपीमा कार्यरत एक सुरक्षाकर्मीको भनाई छ । नेपाली सुरक्षाकर्मीलाई आवश्यक पर्ने खाद्यान्न र अन्य सामग्री उपलब्ध गराउन आफुहरु तयार रहेको र यसबारे जानकारी दिन पनि एसएसवीका सुरक्षाकर्मीले भन्ने गरेका छन् । भारतको गव्र्याङमा तरकारी कम उत्पादन हुने भएकाले छाङरु र गागाबाट एसएसवीलाई तरकारी उपलब्ध गराउने गरिएको छ । ‘सितापुल नाका नखोलेरै सामान आदानप्रदान हुने गरेको छ’ एक सुरक्षाकर्मीको भनाई छ ।
व्यासको सिमाक्षेत्रमा दुबै देशका सुरक्षाकर्मी नेपालको स्काई मोबाइलमार्फत एकआपसमा सम्पर्क गर्दछन् । भारततर्फ मोबाइल सेवा नहुँदा भारतीय सुरक्षाकर्मीले नेपालको स्काई मोबाइल प्रयोग गर्दछन् । समय–समयमा नेपाली सुरक्षाकर्मीको टोलीले सितापुलमै पुगेर भारतीय एसएसवीसंग छलफल गर्ने गरेको छ । डेढ महिनाअघि एउटा भारतीय सेनाको हेलिकोप्टरले नेपालको छाङरु, गागा, नाम्पा हिमालको क्षेत्र र तिंकर गाउँसम्मको आकाशमा फन्को लगाएको थियो । यसबारे सशस्त्र प्रहरीले माथिल्लो निकायमा जानकारी गराएको सुरक्षा स्रोतले बतायो । ‘यसबारे एसएसवीका सुरक्षाकर्मीसंग जिज्ञासा राख्दा नयाँ पाइलट भएकोले गल्तीले नेपाली भूभागको आकाशमा हेलिकोप्टर उडाएको जवाफ मिलेको’ ती सुरक्षाकर्मीले बताउनुभयो ।