व्यासका दुइ पुल फागुन ४ मा उद्घाटन गरिने

0
236

दार्चुला, फागुन २ गते ।
नेपाल सरकारको तुइन मुक्त कार्यक्रमअन्तर्गत महाकाली नदीमा बनाइएका दुइटा झोलुंगे पुलहरु विहिवार उद्घाटन गरिने भएका छन् । दुइ देशका प्रशासनबीच पुल औपचारिक रुपमा सञ्चालन गर्न समन्वय गरी मिति निर्धारण गरिएको छ ।
व्यास गाउँपालिकाको वडा नम्बर २ मालगाउँ र वडा नम्बर ४ सुन्सेरा क्षेत्र जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि औपचारिक रुपमा सञ्चालन हुन सकेका छैनन् । दुई हप्तादेखि भारतीय सुरक्षा वल एसएसवीले पुलमा आवागमन समेत बन्द गरिदिएको छ ।
औपचारिक रुपमा पुल उद्घाटन गरेर नियमित सञ्चालन ल्याउन गृहकार्य गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । पिथौरागढको जिल्ला प्रशासनसंग समन्वय गरी पुल उद्घाटनको मिति र समय निर्धारण गरिएको उहाँले बताउनुभयो ।
फागुन ४ गते मध्यान्ह १२ बजेतिर पुल उद्घाटनको कार्यक्रम गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पुल उद्घाटनको औपचारिक कार्यक्रम र त्यसपछि नियमित पुल सञ्चालनका लागि आवश्यक सुरक्षा प्रबन्ध र सहजिकरण गर्न पिथौरागढका डिएमलाई मंगलवार पत्राचार गरिएको छ ।
पत्रमा ‘दुबै देशका स्थानीय वासिन्दाहरुको सहज आवागमनको व्यवस्था गर्न भारततर्फ सुरक्षा प्रबन्ध एवं सहजिकरण गर्न’ अनुरोध गरिएको छ । एसएसवीले दुबै देशका स्थानीय प्रशासनको लिखित स्वीकृति भएपछि मात्रै पुलबाट आवतजावत गर्न दिनेभन्दै केही दिनदेखि पुल प्रयोगमा रोक लगाएको छ ।
पुलबाट आवतजावतमा एसएसवीको अवरोध भएपछि तत्काल पुल सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले पहल गरेको छ । यसअघि जिल्ला सुरक्षा समितिको बैठकले सुन्सेरा जोड्ने मलघट्टे पुलमा नेपाल प्रहरी र मालगाउँ जोड्ने पुलमा सशस्त्र प्रहरीलाई तत्काल पुलको सुरक्षा एवं सञ्चालनमा खटाउने निर्णय गरिसकेको छ ।
जिल्ला प्रशासनले गृह मन्त्रालय, प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालय र व्यास गाउँपालिकालाई पुल उद्घाटन र नियमित सञ्चालनको लिखित जानकारी दिएको छ । नेपाल सरकारले मलघट्टेमा १ सय २० मिटर लामो र मालघाटमा १ सय ४० मिटर लामो झोलुंगेपुल निर्माण गरेको हो ।
विहिवारको पुल उद्घाटन कार्यक्रममा पिथौरागढका डिएम रिना जोशी सहभागी हुने भएका छन् । नेपाली पक्षको नेतृत्व दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले गर्नुहुनेछ । पुल उद्घाटन कार्यक्रममा व्यास गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिहरुको सहभागिता रहने गाउँपालिका प्रवक्ता उपेन्द्र सिंह धामीले बताउनुभयो ।