पुलछेउको तटबन्ध संरचना निर्माणमा नेपालको आपत्ति

232

दार्चुला, फागुन १ गते ।
दार्चुला सदरमुकामस्थित नेपाल र भारत जोड्ने झोलुंगेपुल छेउको भारतीय तटबन्ध संरचना निर्माणमा नेपाली पक्षले आपत्ति जनाएको छ । इन्जिनियरिङ सिद्धान्त र मापदण्डविपरित संरचना निर्माण भइरहेको भन्दै दार्चुलास्थित महाकाली नदी नियन्त्रण आयोजनाले मौखिक र लिखित रुपमा यसबारे प्रश्न उठाएको छ ।
भारततर्फ पुलको एबुटमेन्टभन्दा ८ मिटर अगाडि तटबन्धको संरचना निर्माण गरेकोमा नेपाली प्राविधिकहरुले प्रश्न उठाएका छन् । ‘पुलको एबुटमेन्ट भनेको आफैमा सुरक्षा संरचना हो, भारततर्फको तटबन्ध निर्माणले पुलको एबुटमेन्ट सबै ढाँकिदैछ’ महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मनोहरकुमार साहले भन्नुभयो ।
पुलछेउको ‘अपस्ट्रिम’मा तटबन्धको ‘कर्भ’ आकारको संरचना बनाएपछि नदीको वहाव नेपालतर्फ फर्किने जोखिम बढेको प्राविधिकहरुको भनाई छ । भारतीय पक्षबाट पुलछेउको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ दुबैतर्फ ‘काउन्टर फोर्ड रिटेनिङ पर्खाल’को संरचना बनाइदा नदीको वहाव साघुँरो हुने, नदीको वहाव नेपालतर्फ फर्किने र जोखिम बढाउने भन्दै यसबारे आयोजनाले लिखित प्रतिवेदन नै तयार गरेको छ ।
पटक–पटकको स्थलगत अध्ययनपछि प्रतिवेदन तयार पारिएको आयोजना प्रमुख साहले बताउनुभयो । ‘निर्माण भएको संरचनाको अवस्था, सम्भावित जोखिम र समाधानका उपायहरुसहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय र विभागमा पठाएका छौ’ उहाँले भन्नुभयो ।
यसअघि गत विहिवार दुई देशका अधिकारीहरुको संयुक्त स्थलगत भ्रमणमा पनि आयोजना प्रमुख साहले भारतीय पक्षसंग प्राविधिक मापदण्डविपरित संरचना बनाएको भन्दै प्रश्न उठाएका थिए । ‘तटबन्धको संरचनामा हाम्रो प्रश्न र आपत्ति छ तर भारतले संरचना बनाइसकेको छ । अब यसलाई सुधार गर्नुपर्ने दायित्व भारतीय पक्षकै हुन्छ’ आयोजनाका इन्जिनियर केशवराज शर्माले भन्नुभयो ।
निर्माण भइसकेको तटबन्धको संरचना भत्काउन नेपाली पक्षले प्रत्यक्ष आदेश दिन नसक्ने भएकोले स्थानीय प्रशासन र विभागमा यसबारे लिखित प्रतिवेदनसहितको जानकारी गराइएको इन्जिनियर शर्माको भनाई छ ।
‘पुलको एबुटमेन्ट भनेको समग्र पुलको संरचनाको लागि बनाइएको संरचना हो । त्यो एबुटमेन्टलाई समेत ढाकेर तटबन्ध बनाइदै छ’ आयोजनाका इन्जिनियर केशवराज शर्माले भन्नुभयो । एबुटमेन्टभन्दा ८ मिटर अगाडिसम्म तटबन्धको संरचना बनाइएको नेपाली प्राविधिकहरुको भनाई छ ।
झोलुंगेपुलको ढोकामुनिसम्मको क्षेत्रमा थप ‘लन्चिङ ब्लक’ निर्माण गर्न आइतवार खाल्डो खनिदै गरेकोमा नेपालका प्राविधिकहरुले तत्काल यो काम रोक्न आग्रह गरेका छन् । स्थानीय प्रशासनमार्फत भारतीय पक्षसंग छलफल गरेर मापदण्डविपरितको संरचना हटाउन र नयाँ संरचना नबनाउन पहल भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका तर्फबाट उठेका प्रश्न र सरोकारबारे भारतीय प्रशासनसंग छलफल गरिने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ‘यसबारे हामी लिखित पत्राचार पनि गर्दैछौ, थप छलफल पनि गर्छौ, मापदण्डविपरितको संरचना निर्माणमा पुनरावलोकन गर्न हामी आग्रह गर्छौ’ उहाँले भन्नुभयो ।
महाकाली नदीमा राखिएको झोलुंगेपुलको लम्बाई ६२ दशमलव ५ मिटर रहेको छ । तर, भारतीय पक्षको तटबन्ध संरचना निर्माणले नदीको वहावक्षेत्र पुलको लम्बाईभन्दा कम हुने अवस्था रहेको प्राविधिकहरुको भनाई छ । भारतीय पक्षले नेपाली पक्षलाई उपलब्ध गराएको तटबन्धको डिजाइनमा नदीको वहाव क्षेत्र ५७ मिटर लेखिएकोले झन प्रश्न उठेको छ । ‘पुलको चौडाइभन्दा कम नदीको चौडाइ हुनेगरी तटबन्धको संरचना बनाइदा जोखिम बढ्ने हाम्रो निस्कर्ष हो’ आयोजनाका इन्जिनियर केशवराज शर्माले भन्नुभयो ।
महाकालीमा निर्माण भइरहेको भारतीय तटबन्ध निर्माणबारे स्थलगत निरीक्षण गरी टुंगो लगाउन धेरै पहिलेदेखि आफुले केन्द्रीयस्तरबाट प्राविधिक टोली पठाउन माग गरेको प्रजिअ दीर्घराज उपाध्याय बताउनुहुन्छ । तटबन्ध निर्माणमा देखिएको पछिल्लो समस्या र प्राविधिक पाटोबारे मन्त्रालय र विभागस्तरमा पनि जानकारी गराइने प्रजिअ उपाध्यायको भनाई छ । केन्द्रीयस्तरको उच्चस्तरीय प्राविधिक टोलीको निरीक्षण र अनुगमन भइदिए तटबन्ध निर्माणको अन्याैलता र विवाद समाधान हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !