विद्यार्थी कुटपीट गरेको आरोपमा शिक्षक पक्राउ , रिहाईको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा

0
1119

बिरा दत्त भट्ट
दार्चुला, पुस १६ गते । दार्चुलामा विद्यार्थी कुटपीट गरेको भन्दै एक जना शिक्षक पक्राउ परेका छन् । विद्यार्थी कुटपीट गरेको भन्दै महेन्द्र नमुना मावि खलंगामा कार्यरत एक जना शिक्षकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
महाकाली नगरपालिका वडा नं ४ मा रहेको महेन्द्र नमुना माद्यमीक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई गत पुस ६ गते कक्षामै कुटपीट गरेको भन्दै परिवारले दिएको जाहेरीका आधारमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।
मेडिकल रिपोर्टका आधारमा कानको जाली फुटेकाले कुटपीट गरेको आरोपमा महेन्द्र नमुना माविका शिक्षकलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पदम बहादुर बिष्टले बताउनु भयो ।
मंगलबार पक्राउ गरि अंगभंग गर्न नहुने कसुरमा मुद्धा दर्ता गरि गरिएको उहाँको भनाई छ । जिल्ला अदालत दार्चुलाबाट पाँच दिनको म्याद थप गरि घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।
गत पुस ६ गते दिउसो १२ बजे विद्यालय कक्षाको समयमा महेन्द्र नमुना माद्यमीक विद्यालयका कार्यरत एक जना २८ बर्षिय शिक्षकले नौगाड गाउँपालिका वडा नं ६ घर भई उक्त विद्यालयमा कक्षा ८ मा अध्ययन गरिरहेका १५ बर्षिय बालकलाई पिट्दा कानमा चोट लागेको बुझिएको उहाँले जानकारी दिनुभयो । विद्यार्थीको उपचारका लागि धनगढी लगिएको थियो ।
सो घटनामा कानुनी रुपमा भन्दा पनि आपसी समझदारीबाट टुङ्ग्याएमा राम्रो हुने आफुहरुको धारणा रहेको महेन्द्र नमुना माद्यमीक विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीको भनाई छ । घटना कानुनी प्रक्रियामा गइसकेको भएपनि कानुनी प्रक्रियाबाट हुने निकासले सामाजमा द्वैष श्रृजना हुन सक्ने भएकाले घटनालाई सहजीकरण गरि समझदारीमा गरेमा त्यस्तो बताबरण श्रृजना नहुने उहाँको भनाई छ ।
मैले पनि घटना बुझ्दा सर अर्काे कक्षामा पढाइरहेको अवस्थामा निषेधित क्षेत्रमा दुई तिन जना विद्यार्थीहरु आपसमा झकडा गरिरहेको र उहाँले झकडा छुट्याउने क्रममा चोट लागेको बुझिएको छ , विद्यार्थीहरु विचको झकडामा नै चोटपटक लागेको हुन सक्छ, सरले कुटेको कुरामा विश्वास लागेन,प्रधानाध्यापक जोशीले भन्नुभयो ।
शिक्षक पक्राउको घट्नालाई लिएर बुधबार विद्यार्थीहरुले आन्दोलन गरेका छन् । विद्यार्थीहरुले शिक्षक रिहाईको माग गर्दै नाराबाजी गर्दै आन्दोलन गरेका हुन् । विद्यार्थीहरुलाई घर पठाएर विद्यालयका प्रधानाध्यापक रामदत्त जोशी सहित शिक्षकहरु तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुस्करराज जोशी सहितको टोलीले जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।
उक्त घटनालाई आपसी समझदारीबाट समस्या समाधान गर्न सम्बन्धित अभिभावकलाई अनुरोध गर्दै शिक्षकलाई तत्काल थुनामुक्त गर्न विद्यालयले माग गरेको छ । ज्ञापन पत्र मार्फत् जिल्ला प्रशासन कार्यालय, महाकाली नगरपालिका, शिक्षक महासंघ लगायत सम्पूर्ण अभिभावकलाई अनुरोध गरेका छन् ।
कानुनी प्रक्रिया अगाडी बढेको सन्दर्भमा कानुनी प्रक्रियाबाट निकाशले समाजमा द्वैष रहने भन्दै आपसी समझदारीबाट घटनाको समाधान गर्नुपर्ने विद्यालयको माग छ ।