लगातार भइरहेको बर्षादले उर्लिए नदीनाला, यातायात अवरुद्ध

0
600
महाकाली नदीमा पानीको जलस्तर बढेको छ । फोटोः कालापानी न्युज डटकम

दार्चुला, असार ४ गते ।
विगत केही दिन देखि लगातार भइरेहेको बर्षादले दार्चुलाको यतायात अवरुद्ध बनेको छ भने नदी नाला उर्लिएका छन् । महाकाली नदीमा जलस्तर समेत बढेको छ ।

लगातार भइरहेको बर्षादले दार्चुलाका ग्रामीण सडकहरु अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला तिंकर सडकको राताकाठा क्षेत्रमा पहिरो खस्दा उक्त सडक अवरुद्ध बनेको छ भने खलंगा–खार–होपरिगाड सडकमा डुङरी देखि काटै क्षेत्रमा विभिन्न ठाउँमा पहिरो खसेको छ । साथै गोकुलेश्वर–लटिनाथ सडक खण्ड समेत अवरुद्ध बनेको छ । लटिनाथको रेल पहिरो क्षेत्रमा पहिरो खस्दा मार्मा क्षेत्रको यतायात समेत अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । विहिबार रातीको बर्षादले महाकाली लोकमार्ग पस्ती क्षेत्रमा अवरुद्ध भएपनि शुक्रबार विहानै लोकमार्ग जेसिविको प्रयोग गरि सुचारु गरिएको छ ।

सर्तक रहन प्रशासनको अनुरोध

लगातार भइरहेको बर्षादले नदीको जलस्तर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सर्तक अपनाउन समेत आग्रह गरिएको छ । विगत केहि दिनदेखि लगातार भइरहेको बर्षादले बाढी पहिरो आउन सक्ने भन्दै सर्तक रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैमा अनुरोध गरेका हो । बर्षादका कारण महाकाली नदी सहित अन्य सहायक नदीहरुमा पानीको जलस्तर बढेको छ । महकाली नदीको पानी सर्तकता तह सम्म पुग्ने सम्भावना रहेकाले महाकादी नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । साथै विभिन्न खोलाहरुमा बाढी आउन सक्ने तथा जोखिमयुक्त क्षेत्रहरुमा पहिरो समेत खस्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले सबै जिल्ला बासिहरुमा आग्रह गरेका छन् । कुनै विपद् सम्बन्धी घटना भएमा जिल्ला प्रशासन कार्यालय, प्रहरी वा सशस्त्र प्रहरीलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । महाकाली नदी किनारका क्षेत्रमा प्रहरीले माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख एबं डिएसपी मनोहर प्रसाद भट्टले बताउनुभयो ।