रोजगार योजनामा पिथौरागढ भारतकै उत्कृष्ट जिल्ला

0
2057

दार्चुला, पुष ८ गते ।
महात्मा गान्धी रोजगार ग्यारेन्टी योजना प्रभावकारी सञ्चालन गरेकोमा पिथौरागढ भारतकै उत्कृष्ट जिल्ला बनेको छ । रोजगार ग्यारेन्टी योजना कार्यान्वयनअन्तर्गत चारवटा विधामा पिथौरागढले उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ ।
समयमै रकम भुक्तानी गरेकोमा पिथौरागढको मुनाकोट विकास खण्डले प्रथम स्थान पाएको छ । केन्द्र सरकारको ग्रामीण विकास मन्त्रालयको मुल्यांकनम पिथौरागढ उत्कृष्ट जिल्ला घोषित भएको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले खबर लेखेको छ । मन्त्रालय हरेक वर्ष विभिन्न सुचकमा रोजगार योजना कार्यान्वयनको जिल्लागत मुल्यांकन गर्दछ ।
मुल्यांकनका धेरैवटा सुचक अनलाइन प्रणालीमा आधारित छन् । राज्य, जिल्ला र विकासखण्डको मनोनयन, प्रस्तुति र वस्तुगत अवस्थाको आधारमा मुल्यांकन हुने गरेको पत्रिकाले जनाएको छ । उत्तराखण्ड राज्यमा विभिन्न १० वटा विधामा रोजगार योजनाअन्तर्गत पुरस्कार प्राप्त भएको पिथौरागढका जिल्ला विकास अधिकारी गोपाल गिरीले गोस्वामीले बताउनुभयो । राज्यस्तरमा ४ वटा, जिल्लास्तरमा ३ वटा र विकासखण्डस्तरमा ४ वटा पुरस्कार पाइएको उहाँले बताउनुभयो ।
जिल्लास्तरका तिनवटै पुरस्कार पिथौरागढले पाएको जिल्ला विकास अधिकारी गोस्वामीले बताउनुभयो । विकासखण्डस्तरका पुरस्कारमध्ये एउटा पिथौरागढको मुनाकोटले र अर्को खटिमा विकासखण्डले पाएको छ । पौडी जिल्लाको रंचुला ग्राम पञ्चायतले पनि पुरस्कार पाएको छ ।
पिथौरागढका जिलाधिकारी (डिएम) डा. विजयकुमार जोगदण्डे र मुख्य विकास अधिकारी बन्दनाको नेतृत्वमा रोजगार ग्यारेन्टी कार्यान्वयन गरिएको गोस्वामीले बताउनुभयो । दिसेम्बर १८ मा दिल्लीमा आयोजित एक समारोहमा पिथौरागढका डिएम, मुख्य विकास अधिकारी र जिल्ला विकास अधिकारीले पुरस्कार ग्रहण गरेका छन् ।