राष्ट्रिय दिवश !

6184

राष्ट्रिय एकता दिवश, प्रजातन्त्र दिवश र राजाको जन्मोत्सव जस्ता दिनहरु पञ्चायत कालमा निक्कै उत्हास, उमङ्ग, सहभागिता र सक्रियताका साथ मनाइने गरेको नर्बिसेका नागरिकहरु धेरै छन् । बहुदलीय व्यवस्थाको पुनर्बहाली भएपछि केही वर्ष यस्ता दिवशहरुको ओज देख्नेहरुको संख्या पनि छ । त्यसपछि क्रमशः दिवशहरु औपचारिकतामा सिमित हुँदै गएको आभाष हुन थालेको छ । हजारौंको बलिदान गरेर स्थापना गर्न सकिएको गणतन्त्र दिवशमा स्वयम् गणतन्त्रका लागि ज्यान आहुति गर्ने परिवारका सदस्यहरुको उपस्थिति देखिदैन । वर्षौको संघर्षपछि संविधान सभाबाट संविधान जारी भयो । संविधान सभाका लागि वर्षौ संघर्ष गर्ने वर्गहरुको संविधान दिवश मनाउने तरिका कोठामा सिमित हुँदैछ ।
समग्रमा भन्दा बिगतका तुलनामा राष्ट्रिय दिवशहरु मनाउने कुरा औपचारिकतामा सिमित भएको छ, स्वस्फूर्त सम्मानका साथ मनाइनु पर्ने दिवशहरु बाध्यतामा मनाउनु पर्ने अवस्था आएको छ । ज्यानै अर्पण गरेर प्राप्ति भएका उपलब्धिहरुको स्मरण पनि हामी निर्धक्क स्वस्र्फूत रुपमा किन मनाउँदैनौं ? जनताले संघर्ष गरे फाइदा नेताले लिए, आम नागरिकको समस्या दैनिक हातमुख जोर्नेमा छ, दिवश मनाउन फुर्सद छैन । ज्यान अर्पण गर्नेभन्दा चाप्लुसी गर्नेले राज्यबाट फाइदा लिए, राज्यले नागरिकलाई परिवर्तनको आभाष दिन सकेन, विधिको शासनले तल्लो वर्गलाई सास्ति मात्रै दियो पहुँचवालालाई मस्ति दियो, राजनीतिक र कर्मचारी नेतृत्वले कर्तव्य बिर्से या आम नागरिकले आफ्नो कर्तव्य बिर्से । यीमध्ये कुन कारणले राष्ट्रिय दिवशहरु बाध्यतामा मनाउनु पर्ने, औपचारिकतामा सिमित हुने, नागरिकको स्वस्फुर्त सहभागिता नहुने अवस्थाको सिर्जना भएको हो ? हामी सबै सरोकारवालाहरुले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ ।
पछिल्लो समय भदौ अन्तिम साता तीनवटा दिवशहरु राष्ट्रिय रुपमा मनाउन निर्देशनात्मक पत्राचार भएको छ । के यी दिवशहरुमा नागरिकले आस्थाका साथ सहभागिता जनाउँलान् ? वडाहरुमा यो पाटी त्यो पार्टी भन्ने भाव स्थानीय सरकार कार्यान्वयनमा आएको एक वर्ष बितिक्दा पनि हटेको छैन । राज्यले दिने अवसरहरुमा तेरो मेरो भन्ने भाव हट्न सकेको छैन । यस्तो अवस्थामा वडा कार्यालयको आह्वानमा, स्थानीय सरकारहरुको आह्वानमा हर्षोल्लासका साथ कसरी दिवश मनाउन सकिन्छ ? बरु कुनै एक पक्षले विजयोत्सव मनाउन आह्वान गर्यो भने उक्त पक्षले हर्षोललासका साथ दिवश मनाउन सक्ला तर सबै नागरिकले स्वस्र्फुत रुपमा आस्थाका साथ मनाउनु पर्ने दिवशहरुमा सहभागिता गराउन सकिने अवस्था अझै सिर्जना हुन सकेको छैन । सरकार, नेता, समाजिक अगुवा, कर्मचारी नेतृत्व लगायत अन्य सरोकारवाला गम्भीर हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !