थप सहयोग आवश्यक

2950

व्याँस गाउँपालिकाले कालापानी क्षेत्रसम्म पुग्ने घोरेटो बाटो निर्माण गर्ने योजना अगाडि सारेको छ । वर्षौदेखि चर्चित र भारतले कब्जामा लिएको भनिएको लिपुलेक क्षेत्रसम्म त बाटो बनाउन नसकिएला तर काली नदीको किनारै किनार भारतीय पक्षको उपस्थिति नभएको क्षेत्रसम्म बाटो बनाउन सकिने पर्याप्त सम्भावना छ । यही सम्भावनाको खोजी व्याँस गाउँपालिकाले गरेको छ ।
कम्तिमा ओम पर्वतको दृष्यावलोकन गर्न सकिने र मावनवस्तीरहित, प्राकृतिक सौन्दर्य समेत रहेको क्षेत्रसम्म बाटो पुर्याउन सकियो भने भविष्यमा पर्यटन र पैदल यात्रुहरुको गन्तब्यका रुपमा यो बाटोलाई प्रयोग गर्न सकिने कुरा छँदैछ । बाटोलाई सुचारु राख्ने गरी योजना कार्यान्वयन हुने हो भने यो दूरगामी र निक्कै महत्वको कामका लागि व्याँस गाउँपालिकालाई धन्यवाद दिनै पर्दछ । गाउँपालिकाले यो क्षेत्रमा पर्यटकीय र पैदलय यात्रीहरुको स्वागत मात्रै गर्ने छैन, अन्जान, अलिखित देशको उत्तरपश्चिम कुनाको जानकारी लिन चाहने हरेक नागरिकलाई यसले मनग्य फाइदा गर्ने छ ।
स्थानीय सरकारको आयवृद्धि गर्ने कुराका लागि मात्रै यो बाटो महत्वको छैन, कुरा मात्रै उठ्ने तर निष्कर्ष ननिस्कने लिपुलेक क्षेत्र नजिक सम्मको पहुँच पनि सुनिश्चित गर्ने छ । राज्यले उपहास नै गरेको देशको उत्तरपश्चिको यो कुनासम्म पुग्न स्थानीय सरकारले देखाएको यो जागर केन्द्र र प्रदेश सरकारलाई समेत चुनौतीको विषय हो । राज्यले सधैं उपहास गरेर महिनौंसम्म सुरक्षाविहीन राख्ने, वर्षैपिच्छे वजेट फिर्ता हुने तर तिंकरसम्म सडकको ट्रयाक समेत नखुल्ने, पञ्चायतकालमा व्यापार हुने तर लोकतान्त्रिक युगमा नाका बन्द हुने देशको उत्तरपश्चिम क्षेत्रलाई चिनाउन गाउँपालिकाको यो प्रयासले महत्वपूर्ण सन्देश दिएको छ ।
गाँउपालिकाले थालेको कामको थयोचित र पूर्ण सम्पन्नताको लागि पनि विशेष भूमिका खेल्नुपर्ने अवस्थाका लागि चुनौती दिएको छ । पालिकाको यो प्रयासपछि पक्कै पनि प्रदेश सरकार र केन्द्र सरकारले कालापानी क्षेत्रलाई पुनः स्मरण गर्नेछ र यो क्षेत्रसम्म कसरी पहुँच सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा योजना बनाई कार्यान्वयनका लागि पहल कदमी गर्नेछ, गर्नैपर्छ । स्थानीय सरकारले गर्न सक्ने तर प्रदेश र केन्द्र सरकारले गर्न नखोज्ने हो भने दार्चुलाबासीेले सरकारहरुलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन देखिने छैन । गाउँपालिकाले चालेको यो कदमका लागि केन्द्र र प्रदेश सरकारले आवश्यक आर्थिक सहयोग समेत उपलब्ध गराउनु पर्छ । यो क्षेत्रसम्म पैदल पुग्न सकिन्छ भन्ने प्रचार प्र्रसार गर्ने र आवश्यक रकम सहयोग गर्न सक्ने हो भने कालापानी एक पटक पुनः चर्चामा आउनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !