रचनात्मक भएर सेवा प्रवाह गरौंः सहायक प्रमुख जिल्ला अधिकारी धामी

0
718

दार्चुला, पुष ८ गते ।
दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले रचनात्मक भएर आम नागरिकलाई सेवा प्रवाह गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । विहिवार दार्चुला सदरमुकाम खलंगामा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र दार्चुलाको आयोजना भएको खरीरोग सम्बन्धि अन्तरक्रियामा बोल्दै उहाँले यस्तो सुझाव दिनुभएको हो ।

नागरिकलाई केन्द्रमा राखेर सबै सरकारी निकायहरुले प्रभावकारी सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका निमित्त प्रजिअ धामीले जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाहको अभ्यास गरिरहेको बताउनुभयो ।
नागरिक सहायता कक्ष सञ्चालन गरिएको र जिल्ला प्रशासन कार्यालयमा पुग्ने प्रत्येक सेवाग्राहीलाई सेवा दिएर मात्रै फर्काउने गरिएको उहाँले बताउनुभयो । आफ्नो कार्यालय रचनात्मक र श्रृजनशील भएर सेवा प्रवाह गर्न उहाँले सुझाव दिनुभयो । ‘रचनात्मक र प्रभावकारी रुपमा सेवा दिन बजेट नै चाहिन्छ भन्ने छैन, विना बजेट पनि सेवा प्रवाहमा सुधार गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।
तिनवटै तहका सरकार र सरकारी निकायहरुले समन्वय र सहकार्य बढाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । सरकारको बजेट, कार्यक्रम र सेवा नागरिकसम्म सहज रुपमा पुर्याउन सकेमा मात्र संघीय शासन व्यवस्था दीगो हुने उहाँको भनाई छ । ‘सबै क्षेत्रमा सुधारको आवश्यकता छ, आ–आफ्नो ठाउँबाट इमान्दार भएर सबैले सक्रिय हुनुपर्छ’ निमित्त प्रजिअ धामीले भन्नुभयो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख रामवहादुर खड्काले नागरिकलाई सहज र प्रभावकारी रुपमा सेवा दिन आफ्नो कार्यालय सक्रिय रहेको बताउनुभयो । स्थानीय तहहरुसंगको समन्वय र सहकार्यलाई प्राथमिकता दिएर सेवाप्रवाह र कार्यालयको जिम्मेवारी सम्पादन भइरहेको उहाँको भनाई छ ।