खरी रोगबाट जोगाउन भैसीको आहारामा ध्यान दिनुपर्ने

0
600

दार्चुला, पुष ८ गते ।
दुधालु भैसीमा लाग्ने खरी रोगबाट जोगाउन पशु आहारामा ध्यानदिनुपर्नेमा पशु चिकित्सकहरुले जोड दिएका छन् । दार्चुला र बैतडीका अधिकांश स्थानमा ३९ वर्षदेखि खरी रोगको समस्या रहेकोमा पोषिलो पशु आहाराको अभावमा रोगको संक्रमण बढ्ने गरेको पाइएको छ ।

दार्चुला र बैतडी तथा यी दुई जिल्लाका छिमेकी जिल्ला बाहेक अन्यत्र भने खरी रोग फेला नपरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख राम वहादुर खड्काले बताउनुभयो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका आयोजना विहिवार आयोजित खरी रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पोषिलो आहारा, भिटामिन र मिनरलजन्य वस्तु भैसीलाई खुवाउन सुझाव दिइएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का विज्ञहरुको अनुसन्धानले पोषिलो घासको अभावमा खरी रोग लाग्ने गरेको तथ्य फेला परेको पशु विकास अधिकृत डा. दिगम्बर जोशीले बताउनुभयो । ‘भैसीको आहाराको रुपमा सुख्खा घास र परालको अधिक प्रयोग हुन्छ, यसमा पोषिलो तत्व कम पाइने हुदा खरी रोगको संक्रमण बढने गरेको पाइएको छ’ उहाँले भन्नुभयो । यसका साथै, विषालु घास, लालीगुरास, कटुस, सल्लाको घासले पनि खरी रोगको संक्रमण बढाउन भूमिका खेल्ने गरेको अनुसन्धानबाट देखिएको छ ।
पशु चिकित्सकहरुका अनुसार खरी रोग लागेको भैसीमा कलेजो र मृगौलामा क्षति पुग्ने गर्दछ । कुपोषण भएका, परजीविद्वारा जीर्णरुपमा संक्रमित भएका र भैसीगोठमा हावाको पर्याप्तता नहुदा खरी रोग हुने जोखिम बढी हुन्छ । नार्कको अध्ययनले खरी रोगको संक्रमित भएकामध्ये ७८ प्रतिशत भैसी उपचार पनि निको भएका छन् । चार वर्ष लगाएर नार्कको विज्ञटोलीले दार्चुला र बैतडी जिल्लामा खरी रोगको संक्रमणबारे अध्ययन अनुसन्धान गरेको डा. दिगम्बर जोशीले बताउनुभयो ।
खरीरोग भएका भैसीलाई पेन्टासल्फेट्स र अक्सिक्लोजानाइज नामको औषधि दिइन्छ । यसबाहेक पोषिलो आहारा, भिटामिन र खनिजजन्य पदार्थ भैसीलाई दिनुपर्ने पशु चिकित्सकहरुको भनाई छ । खरीरोगको संक्रमण बढी भएको दार्चुला जिल्लाका कृषकहरुलाई रोगबारे सचेतना बढाउनु आवश्यक रहेको पशुसेवा विज्ञ केन्द्रका प्रमुख रामवहादुर खड्काको भनाई छ ।
खरीरोगको नियन्त्रण तथा रोकथामका लागि सचेतना र समन्वय बढाउन जिल्लास्थित सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको खड्काले बताउनुभयो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाको तथ्यांकअनुसार दार्चुला जिल्लाभरी ७ हजार दुधदिने भैसी छन् । खरीरोग दुधालु भैसीमा हुने भएकाले कृषकहरुलाई यसबारे जानकारी दिनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
विक्रम सम्वत २०३९ सालमा बैतडीको नागार्जुन र गिरेगडा गाविसमा पहिलोपटक खरीरोग देखिएको थियो । जाडो मौसममा पर्याप्त र पोषिलो घास तथा पशुआहारको उपलब्धता नहुँदा खरीरोगको संक्रमण बढ्ने गरेको पशुसेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख खड्काको भनाई छ । उहाँका अनुसार हिउदको तुलनामा वर्खायाममा भने खरीरोगको संक्रमण कम हुने गर्दछ ।
विहिवार दार्चुला सदरमुकाम खलंगामा आयोजित खरीरोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामी प्रमुख अतिथि तथा सशस्त्र प्रहरीका डिएसपी जगत सिंह डाँगा विशिष्ट अतिथि रहनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा दार्चुलाका नौवटै स्थानीय तहका पशुसेवा शाखा संयोजक र कृषक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।