मालघाट तुइन घटनाः न्याय र रोजगारीका लागि धामीद्धारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

0
529

दार्चुला, चैत्र ९ गते ।
न्याय र रोजगारीको माग गर्दै तुइन घटनामा परेका व्यास गाउँपालिका २ का जयसिह धामीकी श्रीमती राजन्ती धामीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनुभएको छ । गत साउन १५ गते भारतीय बाटो भएर दार्चुला सदरमुकाम आउने क्रममा व्यास गाउँपालिका २ मालघाटमा महाकाली नदीमाथीको तुईन तर्ने क्रममा भारतीय एसएसबीले तुईनको लट्ठा काटेपछि जयसिह धामी महाकाली नदीमा वेपत्ता भएका थिए ।

घटना भएको झण्डै नौ महिना भईसक्दा पनि सरकारले घटनाको सत्य तथ्य बाहिर ल्याउन नसकेको र दोषिलाई कारवाही हुन नसकेको भन्दै धामीले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउनुभएको हो ।
घरको ऋण तिर्न विदेश जान्छु भनि हिँडेका मेरा श्रीमानलाई नदीमा बेपत्ता बनाइएको घटनाले म र मेरो परिवारलाई अतुलनीय क्षति भएको छ ज्ञापन पत्रमा भनिएको छ । नेपाल सरकारले आर्थिक सहायता स्वरुप दिएको रु दश लाख ऋण तिर्नमै सीमित भएको उहाँले प्रमुख जिल्ला अधिकारीलाई बताउनुभयो ।
घटनाबाट प्रभावित भएका बेला मलाई विभिन्न स्थानीय सरकार तथा प्रशासनबाट समेत रोजगारी दिने आश्वासन आएको भएपनि त्यो आश्वासन आश्वासनमै सीमित भएको भन्दै धामीले प्रमुख जिल्ला अधिकारीलाई रोजगारीको माग गनुभएको छ ।
घटनापश्चात सन्तानको पालन पोषण देखि शिक्षा दिक्षामा सकस भएको छ ‘उहाँले भन्नुभयो गाउँमा खेती गरेर जिविको चलाउन खेतबारी पनि थोरै भएकाले जिवन धान्न समेत समस्या भइरहेको छ’ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले आफुले सक्ने सहयोग गर्ने आश्वासन दिएका छन् ।