बाँकुमा पासोमा परेको चितुवाको उद्धारगरि बर्दिया लगियो

549

दार्चुला, चैत्र ११ गते ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ६ बाँकुमा बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि दुई दिन लगाएर उद्धार गरिएको छ । बँदेलले बालिनाली नष्ट गर्नथालेपछि स्थानीयले बाँकुको देवी सामुदायिक बनमा पासो थापेका थिए ।

तर विहीबार बिहान हेर्दा पासोमा चितुवा परेको भेटिएपछि स्थानीयले प्रहरी र डिभिजन बन कार्यालय दार्चुलालाई खबर गरेका थिए । चितुवाको शरीरको पछिल्लो भाग पासोमा परेको र जीवितै अवस्थामा रहेकाले उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट उद्धारकर्ताहरुको टोली शुक्रबार दार्चुला पुगेको हो । दार्चुलामा चितुवा उद्धारका लागि प्रविधि र जनशक्ति नहुदाँ जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा बर्दिया राष्ट्रिय निकुञ्जबाट शुक्रबार उद्धारकर्ताहरुको टोली दार्चुला पुगेको डिभिजन बन कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रमानन्द कुवरले जानकारी दिनुभयो । टोलीले चितुवालाई उद्धार गरेर थप उपचार तथा व्यवस्थापनका लागि शुक्रबार नै बर्दिया लगेको छ । चितुवाको उद्धारका लागि डिभिजन बन कार्यालय दार्चुलाका निमित्त प्रमुख सहित सशस्त्र प्रहरी, प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरुको टोली समेत बाँकु पुगेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !