मार्मा गाउँपालिका र ब्यास ६मा निषेधाज्ञा जारी

544

दार्चुला, बैशाख १६ गते ।
कोरोना संक्रमणको जोखीमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारीले मार्मा गाउँपालिका र ब्यास गाउँपालिकाको वडा नं ६ मा निषेधाज्ञा जारी गर्नुभएको छ ।

मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा गरिएको कोरोना परिक्षणमा एक जना स्वास्थ्यकर्मी सहित तीन जनामा कोरोना पुष्टि भएपछि मार्मा गाउँपालिका भरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मार्मा गाउँपालिकामा आज तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकामा एक हप्ता सम्म निषेधाज्ञा जारी गर्नका लागि मार्मा गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको थियो । सोहि आग्रह अनुसार संक्रामक रोग ऐन २०२० अनुसार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले मार्मा गाउँपालिकामा निषेधाज्ञा जारी गर्नुभएको छ । आज बेलुकी सात बजे देखि अर्काे सूचना जारी नभए सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
त्यसैगरि प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले ब्यास गाउँपालिका वडा नं ६ मा पनि निषेधाज्ञा जारी गर्नुभएको छ । ब्यास गाउँपालिकाको वडा नं ६ पन्तोलीमा २ जनामा कोरोना पुष्टि भएकाले आज बेलुकी सात बजे देखि अर्काे सूचना नभए सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । वडा नं ६ का चार किल्लाहरु पुर्वमा दाम्दाकोट, पश्चिममा महाकाली नदी बडुगाउँ देखि बसेडी सम्म, उत्तरमा रिठिङगाड सम्म र दक्षिणमा तुसराडी सम्म निषेधाज्ञा जारी गरिएको छ ।
दुबै गाउँपालिकाको निषेधाज्ञा जारी गरिएको क्षेत्रमा निषेधाज्ञा उल्ङ्घन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाहि गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !