हिमपातले कुञ्चा सरेकालाई समस्या

0
571
फाईल फोटो: कुञ्चा सर्दै व्यासका स्थानीय

दार्चुला, बैशाख १६ गते ।
बैशाखमा भएको हिमपातले  कुञ्चा सरेका शौका समुदायलाई समस्या भएको छ । हिमपातले ठाउँ ठाउँमा बाटो भत्किदा तथा गाउँमा हिउ नपग्लिदा ब्यास क्षेत्रका नागरिक समस्यामा परेका छन् ।

भारतको बाटो हुदै ब्यास क्षेत्र तर्फ गएको कुञ्चा बुधबार छाङरु पुगेको छाङरुका स्थानिय विमल सिह बोहराले जानकारी दिनुभयो ।
एक हप्ता अघि शुक्रबार दार्चुला सदरमुकाम बाट गएको तिंकरको कुञ्चा पनि बुधबार छाङरुको गागा पुगेको तिंकरका स्थानिय नारायण तिंकरीले जानकारी दिनुभयो । भारतको बुदी भन्दा केहि तल पोला क्षेत्रमा सडक अवरुद्ध हुदाँ दुई दिन कुञ्चा पोलामै बस्नु परेको उहाँको भनाई छ । यस बर्ष भएको हिमपातले कुञ्चा सर्न समस्या भएको उहाँको भनाई छ । मौषम तथा बाटोघाटो राम्रो भए चार दिनमा छाङरु पुग्ने कुञ्चा यसपटक विभिन्न अवरोध खेप्दै झण्डै ६ दिनमा सदरमुकामबाट छाङरु पुगेको तिंकरीले बताउनुभयो । तिंकरको ३२ परिवारको कुञ्चा छाङरुमा रहेको उहाँले बताउनुभयो ।
तिंकर खोलाको रङकाङमा हिउपहिरोले बाटो भत्काउदाँ तिंकर गाउँको कुञ्चा छाङरुको गागामै बस्नु परेको छ । बाटोमा हिउपहिरो खस्दा मानिस र बस्तुभाउ हिड्न सक्ने अवस्था नरहेको छाङरुका स्थानिय बोहराको भनाई छ ।
गत बैशाख १० गते भएको हिमपातले भारतको छियालेक क्षेत्रमा हिमपहिरो आउँदा छाङरुको कुञ्चा २ दिन भारतको बुदीमै बस्नु परेको ब्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष असोक सिह बोहराले जानकारी दिनुभयो ।
बैशाखमा लगातार दुई तीन दिन सम्म भएको हिमपातले छाङरुमा तीन फिट सम्म हिउ परेको थियो । हिउँ अझै पनि नपग्लिएकाले गाईबस्तुहरुलाई घाँस खुवाउन समेत सकस परिहेको छाङरुका स्थानिय बिमल बोहराको भनाई छ ।