महोत्सव गर्न तम्सियो वाणिज्य संघ

0
2655

दार्चुला, भदौ २३ गते ।
दार्चुलामा व्यापार मेला तथा पर्यटन महोत्सव गर्ने दार्चुला उद्योग वाणिज्य संघले घोषणा गरेको छ । शनिवार पत्रकार सम्मेलन गरी सुदूरपश्चिमाञ्चल व्यापार मेला तथा दार्चुला पर्यटन महोत्सवको कार्यतालिका सार्वजनिक गरिएको छ ।
धेरै चुनौतीहरु भए पनि महोत्सव गर्ने निस्कर्षमा आफुहरु पुगेको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो । महोत्सव सञ्चालनका लागि वित्तिय र भौतिक व्यवस्थापन चुनौतीपूर्ण रहेको उहाँको भनाई छ ।
‘हामीले विगतमा पनि महोत्सवको सफल आयोजना गरिसकेका छौ, सबै सरोकारवाला पक्षको सहयोग र सहकार्य हुने अपेक्षा छ’ पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो । आगामी माघ २५ देखि फागुन २ गतेसम्म दार्चुला सदरमुकाम खलंगामा दार्चुला महोत्सव सञ्चालन हुनेछ ।
महोत्सवमा स्थानीयदेखि राष्ट्रिय उत्पादनहरुको प्रदर्शनी र व्यापार हुने आयोजकले जनाएको छ । दार्चुलाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका ठाँउ तथा वस्तुहरुको प्रचारप्रसार गर्न पनि महोत्सवको आयोजना गरिएको संघका उपाध्यक्ष इन्द्रदेव पन्तले बताउनुभयो ।
महोत्सव आयोजनाका लागि १ सय ११ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । महोत्सवमा १ सय ५१ स्टल राखिने भएका छन् भने स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि राखिने संघका सचिव सर्पराज बडूले जानकारी दिनुभयो ।
दुई वर्षअघि दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा खलंगामा महोत्सव भएको थियो । गत वर्ष भने महोत्सवले निरन्तरता पाएको थिएन । ‘स्थानीय र राष्ट्रिय निर्वाचनका कारण गतवर्ष महोत्सव सञ्चालन हुन नसकेको’ दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाको भनाई छ ।
१५ वर्ष पहिले खलंगामा तत्कालिन सीमान्त व्यापार संघले पहिलो पटक महोत्सव लगाएको थियो । दार्चुला उद्योग वाणिज्य संघले आगामी माघ महिनामा सञ्चालन हुने महोत्सवलाई तेस्रो दार्चुला महोत्सव भनेको छ । ‘अपि, नाम्पा, चौलानी र महाकालीको काख ः कैलाश, मालिकार्जुनको आँगन दार्चुलाको शाख’ भन्ने नारा महोत्सवका लागि निर्धारण गरिएको छ ।
महोत्सव व्यवस्थापनका लागि स्थानीयदेखि राष्ट्रियस्तरसम्मका निकाय र पक्षसंग सहकार्य गरिने आयोजक संस्थाले जनाएको छ । दार्चुलाका नौवटै स्थानीय तहसंग महोत्सव सञ्चालनमा सहकार्य गरिने दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष ठगुन्नाले जानकारी दिनुभयो ।