शिक्षा दिवसको अवसरमा दर्जन विद्यार्थी पुरस्कृत

0
2457

दार्चुला, भदौ २३ गते ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा महाकाली नगरपालिकाले एक दर्जन विद्यार्थीलाई पुरस्कृत गरेको छ । दिवसको अवसरमा सञ्चालन गरिएको निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मानपत्र र नगद पुरस्कार दिइएको हो ।
‘विद्यार्थी जीवनमा अनुशासनको महत्व’ विषयक निबन्ध प्रतियोगितामा महेन्द्र मावि खलंगाका श्रवणकुमार बोहरा प्रथम, एसियन एकेडमीका सुनिल डाँगा द्वितीय र मालिकार्जुन मावि धापका मनिषा भट्ट तृतिय भएका छन् ।
शिक्षा दिवसको अवसरमा आयोजित ‘सम्वृद्ध राष्ट्र निर्माणमा गुणस्तरीय शिक्षाको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा महेन्द्र मावि खलंगाका राजेश बडू प्रथम, दार्चुला पब्लिक स्कुलका हेमकला अवस्थी द्वितीय र मालिकार्जुन मावि धापका धिरज भट्ट तृतिय भएका छन् ।
चित्रकला प्रतियोगितामा वसन्त भ्याली पब्लिक स्कुलका महेशसिह धामी प्रथम, एसियन एकेडेमीका ऐश्वर्या बुढाथोकी द्वितीय र अम्टिकर पब्लिक स्कुलका लोकेश बडाल तृतिय भएका छन् । तिनवटै प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने विद्यार्थीलाई क्रमशः २ हजार, १ हजार ५ सय र एक हजार रुपैयाँ नगद र प्रमाणपत्र दिइएको छ ।
शिक्षा दिवसकै अवसरमा महाकाली नगरपालिकाभरीमा विद्यालय शिक्षा परीक्षा (एसइइ)मा सर्वाधिक अंक (ग्रेड) ल्याउने एसियन एकेडेमीका क्रिस कार्की र छन्ना तिंकरी कन्या माविका कलावती धामीलाई जनही दुई हजार रुपैयाँ र सम्मानपत्र दिइएको छ । यसैगरी, कक्षा ८ को जिल्लास्तरीय परीक्षामा महाकाली नगरपालिकाभरीमा सर्वाधिक ग्रेड अंक प्राप्त गर्ने दार्चुला पब्लिक स्कुलका भूपेन्द्रसिह बडाल र छन्ना तिंकरी कन्या माविका मनिषा बोहरालाई जनही १ हजार ५ सय रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ ।