महागठबन्धन र ओलीको साख !

0
776

सम्पादकीय
प्रधानमन्त्री ओलीका बिरुद्धमा उनको आफ्नै पार्टीका दुईसहित पाँच जना पूर्वप्रधानमन्त्रीहरु मोर्चाबन्दिमा छन् ।

ओलीमा अहम् पलाएको र एकलौटी सत्ता चलाएको आरोप लगाउँदै उनको पार्टी (नेकपा) का तीन जना पूर्वाप्रधानमन्त्रीहरुले ऊनी बिरुद्ध बिद्रोह गरे । संसद विघटन भयो । सर्वोच्चले पार्टीलाई विभाजन (पूर्वावस्था) गर्यो । विवाद रोकिएको छैन । प्रधानमन्त्रीको पार्टीभित्रको विवाद कै कारण पाँच जना पूर्वप्रधानमन्त्रीहरुलाई एक ठाउँमा पुग्ने महत्वपूर्ण अवसर जुराएको छ तर त्यो अवसरलाई उनीहरुले पछिल्लो समय खड्किएको नागरिकको जीवन रक्षा र संसदीय व्यवस्थाको मर्यादा कायम राख्न प्रयोग गर्ने आँट गरेको देखिएन । पाँच जना पूर्वप्रधानमन्त्रीहरु ‘ओलीलाई हटाउने’ एउटै भिष्मप्रतिज्ञामा अडिक छन् । प्रधानमन्त्री ओलीलाई हटाउन खोज्ने यी पूर्वप्रधानमन्त्रीहरुले (एक जनाबाहेक) ओलीको बिकल्पका रुपमा आफूलाई नै देखका छन् । ओलीको बर्हिगमनपछि पटक पटक प्रधानमन्त्री भई सकेका र संसदीय व्यवस्थाको फोहारी खेलमा वर्षौदेखि संलग्न यी पूर्वहरुलाई नै स्वीकार गर्नु पर्ने बाध्यात्मक परिस्थिति नआउला भन्न सकिदैन । प्रधानमन्त्री ओलीलाई झैं वर्षौसत्ताको ¥याल चाट्दै बसेका यी पूर्वप्रधानमन्त्रीहरुलाई सत्ताको मूलधारबाट बाहिर ल्याउने ल्याकत राख्ने अहिलेसम्म कोही देखिएका छैनन् । उज्वल थापाको अवसानपछि त बैकल्पिक राजनीतिमा पनि पूर्ण विराम लाग्ने आँकलन गरिएको छ । आफूलाई दोस्रो पुस्ता, तेस्रो पुस्ता वा युवा पुस्ताका नेता भन्नेहरु पनि यिनै छ प्रधानमन्त्रीका तालुकदारबाहेक अरु हुन सकेका छैनन् । प्रधानमन्त्रीले भन्ने गरेझैं प्रधानमन्त्रीलाई ‘हटाउन मात्रै खोज्ने विकल्प दिन नसक्ने’ प्रवृत्तिले देशलाई निकास दिन सक्दैन । वर्तमान राजनीति यिनै विकल्प दिन नसक्नेहरुको वरपर सिमित छ । यो घेरोलाई तोड्ने प्रयास मात्रै पनि नदेखिनु नवयुवाहरुको अक्षमता हो । कम्तिमा पनि आगामि चार निर्वाचनसम्म आधादर्जन प्रधानमन्त्री र यिनका तालुकदारहरुको मात्रै बोलवाला हुने भएकाले नेपालको संसदीय व्यवस्थाको बिद्रुप खेल अझ बिस वर्षसम्म चल्ने निश्चित (कुनै चमत्कार भएन भने) प्राय छ ।
सत्ताकेन्द्रित खेलमा आफूलाई अब्बल सावित गर्न प्रधानमन्त्री ओली बिरुद्ध महागठनबन्धको घोषणा भएको छ । पत्रकार महासंघ र राष्ट्रिय सभा सदस्यको निर्वाचनमा महागठबन्धनले जित हाँसिल गर्दा पाँच जना पूर्वप्रधानमन्त्रीहरुको दूरदर्शितको ‘जुँगामा ताउ दिने’ काम सुरु भएको छ । महागठनबन्धको बजेडोज जितपछि यिनीहरु झगडिया हुनेछैनन् भन्ने कुनै ग्यारेन्टी नभएको अवस्थामा मतपत्रमा छपाछप गरेर ओलीलाई देखाइदिने सपना बोक्नेहरुको कमि छैन । महागठनबन्ध नै निर्वाचनमा जाने हो भने उक्त निर्वाचनपछि बन्ने सरकारमा झण्डै तिस सितमा सीमित हुने आँकलन गरिएको ओलीको दल (एमाले) सत्ता निर्माणका लागि नभई नहुने दल बन्ने सम्भावनातिर कसैले ध्यान दिन सकेका छैनन् । ओलीलाई तिस सिटभन्दा कममा झारेर राइँदाइँ गर्ने सपना बोकेकाहरुले महागठबन्धनसँग एक्लै लड्ने नेताका रुपमा ओलीलाई उभ्याउँदा ओलीको सिट घट्ला तर उनको राजनीतिक उचाइ के हुन्छ ?