महाकाली नदीमाथि बनेका नेपाल भारत जोड्ने दुईवटा सीमापुलहरुको उद्घाटन (फोटो फिचर)

1139

दार्चुला, जेठ १२ गते । 


दार्चुलाका दुईवटा अन्तर्राष्ट्रिय झोलुङ्गे पुलहरुको आज औपचारिक उद्घाटन गरिएको छ । ब्यास गाउँपालिकाको वडा नं ६ मा रहेको बडुगाउँ र भारतको ऐलागाड जोड्ने सीमापुल तथा मालिकार्जुन गाउँपालिकाको वडा नं ६ को बाकु र भारतको द्धालसेरा जोड्ने सीमापुलको आज दुबै देशका अधिकारीहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

बडुगाउँमा रहेको झोलुङ्गेपुल झण्डै एक वर्ष अघि निर्माण सम्पन्न गरिएको भएपनि बाकुमा रहेको पुल निर्माण हुन नसक्दा बडुगाउँको पुल सञ्चालनमा ढिलाइ भएको थियो ।
सीमापुल सँगै नेपाली सुरक्षाकर्मीको भवन, चेकपोष्ट तथा भारतीय सुरक्षाकर्मी एसएसबीको भवन, चेकपोष्ट समेत नेपाल सरकारले नै निर्माण गरेको छ । 


केपी ओली नेतृत्वको सरकारको तुइन मुक्त कार्यक्रम अन्र्तगत महाकाली नदीमा रहेका तुइन हटाउनका लागि दार्चुलाका ४ ठाउँमा सस्पेन्सन बृज डिभिजनले अन्तराष्ट्रिय सीमापुल राख्ने कार्य अघि बढाएको थियो । जस अन्र्तगत मालिकार्जुन ६ बाकु र व्यास ६ बडुगाउँमा एउटा प्याकेजमा रहेका पुलहरु निर्माण सम्पन्न भइसकेको छ । अन्य दुई पुलहरु व्यास ४ मलघट्टे र व्यास २ मालघाटमा निर्माणकार्य जारी रहेको छ ।
पत्रकारहरुलाई प्रतिक्रिया दिदै दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले तुईनको प्रयोग गरि महाकाली पारि आवत जावत गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । यसले दुबै देशका स्थानीलाई आवत जावतमा सहजता ल्याउने अपेक्षा गरिएको बताएका छन् । 


भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी आसिस चौहानले सीमा पुलले दुई देशको सम्बन्ध अझ सुधार हुने बताएका छन् । सीमा पुलको सुरक्षाका लागि दुबै देशका सुरक्षाकर्मीहरु तैनाथ गरिएको उहाँले बताएका छन् ।
व्यास गाउँपालिका अध्यक्ष मंगल सिह धामीले तुईन विस्थापित गरिदिएकोमा नेपाल सरकारलाई धन्यबाद दिएका छन् । पुलको संरक्षण र पुल छेउमा सहज बाटोघाटो बनाउने स्थानीय सरकारको जिम्मा भएकाले आफुले सोही अनुसार कार्य गर्ने बताएका छन् । 

गत साउन १५ गते महाकाली नदीमा तुईन तर्ने क्रममा भारतीय एसएसबीले तुईन काटिदिँदा व्यास गाउँपालिका वडा नं २ माल गाउँका जयसिह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । त्यसपछि व्यासमा तुईन मुक्त कार्यक्रमका लागि निर्माण भइरहेका पुलहरु छिटो निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याइनुपर्ने स्थानियहरुले माग गरेका थिए ।
दुईवटा सीमापुल आजबाट सञ्चालनमा आएसँगै दार्चुलाबाट भारत जोड्ने ८ वटा सीमापुल सञ्चालनमा आएका छन् ।
नेपालतर्फ राम्रो बाटोघाटो नहुदाँ व्यास क्षेत्रका नागरिकहरु बर्षाेदेखि तुईन तर्दै आइरहेका छन् । सरकारले तुईन मुक्त भनी सीमापुल सञ्चालन गरेपछि नेपाली नागरिकहरुलाई स्वदेशबाटै भएर जान सक्ने किसिमको सडक निर्माण गर्नु आवश्यक रहेको छ । 

 

तपाईको प्रतिक्रिया दिनुहोस् !