गुञ्जीमा उत्तराखण्डका मुख्यमन्त्री धामीः लिपुलेक सडक प्राथमिकतामा

0
747
फाइल फोटो

दार्चुला, जेठ ११ गते । 

भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुस्कर सिह धामी बुधबार गुञ्जी पुगेका छन् । अतिक्रमणमा परेको नेपाली भूमी गुञ्जी पुग्ने धामी पहिलो भारतीय मुख्यमन्त्री हुन् । गुञ्जीमा आजबाट सुरु भएको हिमालय साइकल र्याली कार्यक्रमको उद्घाटनका लागि मुख्यमन्त्री गुञ्जी पुगेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री धामीले मोदी सरकारले प्राथमिकताका साथ कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक विस्तार गरेको बताएका छन् । मोदी प्रधानमन्त्री भएपछि यस क्षेत्रमा सडक विस्तार भएको भन्दै मुख्यमन्त्री धामीले नेपाली अतिक्रमित भूमिको माटोबाटै मोदीलाई धन्यबाद दिएका छन् । साथै अस्कोट देखि कालापानी सम्मको सडक सुधारका लागि ६ सय ५० करोड भारु स्वीकृत गरिएको तथा नाविढाङ–लिपुलेक सडक सुधारका लागि २ सय ५० करोड भारु बजेट प्रस्ताव गरिएको बताएका छन् ।
साथै उहाँले बासिगखोला–रोङकाङ नाभी सडक निर्माण गर्ने घोषणा गरेका छन् । भारतले नेपाली गाउँ गुञ्जी, नाभी र कुटीमा हाल सडक विस्तार गरिसकेको छ  तर भारतीय गाउँ रोङकाङमा सडक विस्तार गरेको छैन । रङकाङ गाउँ लिम्पियाधुराबाट बगेर आउने महाकाली नदी पारी रहेको गाउँ हो । मुख्य मन्त्रीले उक्त रङकाङ गाउँलाई पनि सडकले जोड्ने घोषणा गरेका हुन् । उनले यो सडकका लागि राज्य सरकारमा प्रस्ताव पठाउन पिथौरागढ जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । 

सडक सुधार र कालोपत्रे गर्दै भारत

८ मे २०२० मा भारतीय रक्षा मन्त्री राजनाथ सिहले घट्टेबगड–लिपुलेक सडकको अनलाईन उद्घाटन गरेका थिए । एक लेन सडकले सेनाका ठूला गाडी ओहोर दोहोरमा समस्या उत्पन्न भएपछि दुई लेन सडक बनाउने तयारी थालिएको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा जोड्ने सडकमा हाल भारतले धमाधम कालोपत्रे गरिरहेको छ । तिउतोला देखि माथिल्लो क्षेत्रमा सडक बिग्रीएको ठाउँमा सुधार तथा घट्टेबगड देखि माथिल्लो क्षेत्रको नयाँ सडकमा कालोपत्रेको काम धमाधम भइरहेको छ भने बुदी–छियालेक सडकमा कालापत्रे सम्पन्न गरिएको छ ।
नेपाली अतिक्रमित भूमी सम्म पुग्ने सडक विस्तारमा भारतले युद्धस्तरमा काम गरिरहेको छ ।
यसभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमिबारे पहिलोपटक गत पुस महिनामा सार्वजनिक अभिव्यक्ति दिएका थिए । उत्तराखण्डको हल्द्वानीमा पुष १५ गते आयोजित एक सार्वजनिक कार्यक्रममा मोदीले आफू नेतृत्वको सरकारले लिपुलेक जोड्ने सडक निर्माण गरेको र यसको विस्तार कार्य भइरहेको बताएका थिए ।