लिपुलेकबारे मोदीले मुख खोले— ‘…लिपुलेख तक कि सडक बनाइ, और इस पर आगे भी विस्तार कार्य चल रहा हैं’

0
897
फोटोः हिन्दुस्तान दैनिक पत्रिकामा प्रकाशित समाचार

दार्चुला, पुष २१ गते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमिबारे पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका छन् । उत्तराखण्डको हल्द्वानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा मोदीले आफु नेतृत्वको सरकारले लिपुलेक जोड्ने सडक निर्माण गरेको र यसको विस्तार कार्य भइरहेको बताएका हुन् ।

पुष १५ गते उत्तराखण्ड सरकारको आयोजनामा नैनीताल जिल्लाको हल्द्वानी शहरमा आयोजित सार्वजनिक कार्यक्रममा मोदीले यस्तो बोलेका हुन् । भारतको उत्तर प्रदेशसंगै उत्तराखण्ड राज्यमा निकट भविष्यमा हुन गइरहेको विधानसभा निर्वाचनलाई लक्षित गरी राज्य सरकारको आयोजना भएको कार्यक्रममा मोदी सहभागी बनेका थिए ।
चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले पहिलोपटक अतिक्रमित नेपाली भूमिको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । काग्रेस नेतृत्वको सरकारले उत्तराखण्ड र सीमावर्ती क्षेत्रको विकास अलपत्र पारेको आरोप लगाउने क्रममा मोदीले लिपुलेकबारे अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
‘मानसखण्ड जो मानसरोवरका प्रवेशद्वार था, सडकों से वञ्चित रहा है । हम ने न सिर्फ टनकपुर—पिथौरागढ अलवेदर रोड पर काम किया, वल्कि लिपुलेख तक कि भी सडक बनाइ । और इस पर आगे भी विस्तार कार्य चल रहा है’ मोदीले दशौं हजारको सहभागितामा भएको सार्वजनिक कार्यक्रममा भनेका छन् ।
सन्निकटको विधानसभा निर्वाचनलाई लक्षित गरी भाजपालाई विजयी बनाउने प्रयासमा रहेका मोदीले सिंगो नेपाल र नेपालीलाई बिझाउने गरी लिपुलेकबारे अभिव्यक्ति दिएका छन् । अतिक्रमित भूमि फिर्ताका लागि वार्तामा बस्न बारम्बार आग्रह गरिरहेको छिमेकी नेपाल र नेपालीलाई वेवास्ता गरी मोदीले आफ्नो नियत र अभीष्ट सार्वजनिक गरेका छन् ।
नेपालले तथ्य र प्रमाणसहित आफ्नो भूमि भनेर दावी गरिरहेको क्षेत्रमा सडक बनाउनु र उक्त सडकलाई थप विस्तार भइरहेको भन्दै प्रधानमन्त्री मोदीले आफ्नो प्रमुख उपलब्धि भनेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै मोदीले उत्तराखण्डका चारधाम जोड्ने अलवेदर रोड निर्माण सुरु गरेका थिए । चारधाम क्षेत्र उत्तराखण्डको गढवाल मण्डलमा भए पनि नेपालको सीमाक्षेत्र जोडिने कुमाउँ मण्डलको टनकपुरदेखि पिथौरागढसम्मको १ सय ५० किलोमिटर सडक अलवेदर रोडअन्तर्गत फराकिलो बनाइएको छ । यसअघि साघुरो रहेको टनकपुर—पिथौरागढ सडक १० मिटर चौडा बनाइएको छ । कैलाश—मानसरोवर यात्राको नाममा अतिक्रमित नेपाली भूमि भएर लिपुलेकसम्मको सडक संरचना भारतले बनाइरहेको छ ।
प्रधानमन्त्री मोदीले कुमाउँ मण्डलमा टनकपुर—पिथौरागढ सडक फराकिलो बनाएको र पिथौरागढदेखि धारचुला हुँदै लिपुलेकसम्मको सडकलाई आफुले उच्च महत्व दिएको बताएका छन् ।
यसअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसंगको सम्बन्ध बिग्रिन नदिने, नेपालसंग शिर झुकाएर पनि भारत अघि बढ्ने गुलियो कुरा गरेका थिए । मंसिर अन्तिम साता उत्तराखण्डको देहरादूनमा आयोजित कार्यक्रममा बोल्दै रक्षामन्त्री सिंहले नेपालसंग शिर झुकाउने कुरासंगै भाजपा सरकारले लिपुलेक सडक निर्माण गरेको उपलब्धि समेत देखाएका थिए ।
नेपालका प्रधानमन्त्री शेरवहादुर देउवाले केही दिनपछि भारतको भ्रमण गर्न लागेको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री मोदीले पहिलोपटक नेपाली भूमिबारे अभिव्यक्ति सार्वजनिक गरेका छन् ।