व्यासका वासिन्दा भन्छन्– ‘टिंकर सडकमा ओलीको जस्तै रास्वपाले पनि धोका दियो’

0
14

दार्चुला, जेठ २० गते ।
नयाँ बजेटमा टिंकर सडकले साच्चिकै प्राथमिकता पाउने र पर्याप्त बजेट विनियोजन हुने आश बोकेका सिमाक्षेत्रका वासिन्दा निराश भएका छन् । गतवर्षको बजेट प्रस्तुतिमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट धोका मिलेकोमा नयाँ बजेटबाट पनि त्यस्तै धोका पाइएको स्थानीयको बुझाइ छ ।
हरेक वर्षको बजेट भाषणले निराश भइरहेका व्यासवासी यसपटकको बजेट विनियोजनले झन निराश भएका छन् । बालेन नेतृत्वको रास्वपा सरकारले ३०–३५ करोड बजेट विनियोजन गर्ने अपेक्षा गरिएकोमा नयाँ बजेटमा टिंकर सडकमा १३ करोड मात्रै बजेट दिइएको छ ।
‘टिंकर सडकमा हामी विगतदेखि ठगियौं, यसपटकको बजेटले पनि ठग्यो’ व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भन्नुभयो, ‘विगतका सरकारले त ठगे ठगे, नयाँ घण्टी सरकारले पनि हामीलाई नराम्रोसंग धोका दियो ।’
टिंकर सडकमा पर्याप्त बजेट विनियोजनका लागि हरेक वर्ष काठमाडौं पुगेर नेता, मन्त्री र प्रधानमन्त्रीसम्मलाई अनुरोध गरे पनि कुनै उपलब्धि हुन नसकेकोमा गाउँपालिका अध्यक्ष धामीले निराशा व्यक्त गरे ।
‘हामीले टिंकर सडकमा बजेट माग्न कस्लाई भेटेनौ र ? तर सबैले धोका दिए’ व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोक सिंह बोहराले भन्नुभयो । अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलमा टिंकर सडकमा उल्लेख्य बजेट दिइने बताएका थिए । जेठ १५ मा प्रस्तुत बजेट भाषणमा पनि अर्थमन्त्रीले ‘महाकाली कोरिडोरअन्तर्गतको टिंकर सडक खण्डको ट्रयाक निर्माणलाई विशेष प्राथमिकता दिइएको’ उल्लेख गरेका थिए ।
विगत चार वर्षदेखिको बजेटबाट ठगिदैआएकोले अब टिंकर सडक निर्माणको आश नै मरेको छाङरुका स्थानीय योगेश बोहराको भनाई छ । ‘सबैले भेटघाट र भाषणमा टिंकर सडक प्राथमिकतामा छ भन्छन् तर बजेटमा कहिल्यै इमान्दारिता देखिएन’ टिंकर सडकका लागि पटक–पटक काठमाडौंसम्म डेलिगेशनमा पुगेका बोहराले भन्नुभयो ।
अर्थमन्त्री वाग्लेको ‘टिंकर सडकमा उल्लेख्य बजेट दिइने’ र ‘टिंकर सडकको ट्रयाक निर्माणमा विशेष प्राथमिकता दिइएको’ भनाइले सिमाक्षेत्रका वासिन्दालाई झुक्याउने काम मात्रै गरेको स्थानीयको आरोप छ ।
बजेट निर्माणको पृष्ठभूमिमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रत्यक्ष भेटेरै टिंकर सडकमा पर्याप्त बजेट विनियोजन गर्न माग गरेको छाङरुका अर्का स्थानीय हेमेन्द्र बोहराले बताउनुभयो । ‘भेटघाटमा धेरै आशलाग्दो कुरा भएको थियो, तर बजेट अंकले हामी स्तब्ध छौं’ उहाँले भन्नुभयो ।
अरुबेला प्राथमिकता र उल्लेख्य बजेट विनियोजनको कुरा गरे पनि बजेट विनियोजनको अन्तिम समयमा टिंकर सडकमा बजेट घटाइने गरिन्छ । गतवर्ष पनि बजेटको पूर्वसन्ध्यामा तत्कालिन प्रधानमन्त्री केपी ओली आफैले ‘टिंकर सडकमा पर्याप्त बजेट राखिने’ बताएका थिए ।
संसद बैठक र सार्वजनिक कार्यक्रममै बोलेका ओलीले आफुले भनेअनुसार टिंकर सडकमा बजेट भने छुट्याएनन् । कतिसम्म भने सेनाले निर्माण गरिरहेको टिंकर सडकमा आर्थिक वर्ष २०८२–८३ मा मात्र ६ करोड ३१ लाख रुपैयाँ बजेट राखियो । योमध्ये पनि सडक निर्माण कार्यमा १ करोड मात्रै खर्च गर्नेगरी बजेट विनियोजन ओली सरकारले गरेको थियो ।
गतवर्ष ओली सरकारबाट धोका पाएको टिंकर सडकमा यसपटक भने बालेन सरकारले न्याय गर्ने आश थियो । यसका लागि व्यासका स्थानीयवासीदेखि जनप्रतिनिधिहरुसम्मले आवाज उठाएका थिए । काठमाडौं पुगेर भेटघाट र पहल पनि गरेका थिए । संसदको बैठकमै पनि दार्चुलाका सांसद गणेश सिंह ठगुन्नाले आवाज उठाएका थिए । तर हात्ती आयो हात्ती आयो फुस्स भनेजस्ते यसपटकको बजेटले पनि टिंकर सडकलाई धोका दिएको छ ।
‘बालेन सरकारले धोका नदेला कि भन्ने आश थियो तर यसपटक पनि हामी नराम्रोसंग ठगियौं, अब २० वर्षसम्म पनि टिंकर सडक बन्दैन भन्ने हाम्रो बुझाइ छ’ व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोक सिंह बोहराले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here